व्यंग्य: बनारसको रेलमा केपी, माधव र झलनाथ


प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार

– काँचो बायु

(नोट :यो नितान्त व्यंग्य साहित्य हो । र विवरण सबै काल्पनिक हो । यसमा खसोखासको कुनै सम्पादकीय सरोकार छैन ।)

कुरा तिनताकाको हो । १२ बुंदे सहमतिको लागि माधव, केपी र झलनाथ दिल्ली पुगेका थिए । सम्झौता सकिएपछि जनताको नौलो जनवादको सदगत गर्न बनारस जाने निधो भएछ । तीनै जना नेता जनता एक्स्प्रेस चढेर बनारस जान ट्रेन चढेछन् ।

३ टियर स्लीपरमा सरर सयर गर्दा नेपालमा पनि रेल ल्याउन सके यसरी नै सयर गर्न सकिन्थ्यो भन्ने ठानेर पार्टीको चुनावी एजेन्डामा नेपालमा रेल ल्याउने कुरा समावेश गर्ने सहमति भयो । रेल हुइकिदै थियो, केपीले बासुरी बजाए भने माधव र झलनाथ सारंगी बजाउदै यात्राको रौनक थपे । नेताहरु सँगै हिंडेपनि आपसमा एकले अर्कालाई कसरी तह लगाउने भन्ने खुराफात मनभित्र चलि नै रहेको थियो ।

केपी पिसाव फेर्न गएको मौका पारेर माधवले झलनाथलाई भनेछन् -‘हैन झलनाथ जी । त्यहाँ माथि हेर्नुस् त । त्यो सानो चेन खिचे यो रेलै रोकिन्छ रे । यो साच्चै होला र ?’

झलनाथले भने -‘किन न रोक्नु ? रोकी हाल्छ नी । तर बिना कारण रोके ५ सय जरिवाना र जेल सजाए पनि हुनसक्ने लेखिएको छ ।’

दुबैजनाले सल्लाह गरेर केपीलाई रेलको चेन तानेको अभियोगमा जेल पठाउने योजना बन्यो ।

केपी पनि लघुशंका सकेर सिटमा फर्के । पूर्व योजना मुताविक माधवले केपीलाई सोधे -‘हैन यति सानो सिक्रीले यति ठूलो रेल रोक्न सक्ला र ?’

केपीले भने – ‘तपाईसँग ५ सय रुपैया छ भने विचार गरेर हेरौं न त ।’

माधवले आफ्नो खल्ती छामछुम गर्दा ३ सयमात्र रहेछ । केपीले झलनाथलाई पुर्लुक्क हेरे । झलनाथले पनि कुरा बुझी आफुसँग २ सय भएको जानकारी दिए ।

अब रेलको सिक्री तानेर रेल रोकिन्न्छ या रोकिन्न भन्ने निधो गर्न केपीलाई सिक्री तान्न भनियो । केपीको कदको कारणले सिक्रीसम्म हात पुगेन । र झलनाथलाई हेरे । झलनाथले पनि आँ गर्दा अलंकार बुझेर रे रेलको सिक्री तानिदिए ।

रेल रोकियो । तत्कालै रेल पुलिस आयो । अनि सोध्यो – ‘रेल कस्ले रोकेको ?’

माधवले आँखाको सानले केपीलाई देखाइदिए । केपी परे निकै बाठा । भनिहाले – ‘हो हजुर मैले नै रोकेको हो ।’

पुलिसले सोध्यो – ‘किन सिक्री तानेको ? तिमीले जायज कारण दिन सकेनौ भने जरिवाना हुन्छ ।’

केपीले भनेछन् – ‘म लुटिएँ हजुर ।’

पुलिसले सोध्यो – ‘कस्ले लुट्यो ?’

केपीले माधन र झलनाथलाई देखाउदै भनेछन् – ‘यी दुई जनाले मेरो पैसा खोसे हजुर । माधवले तीनसय र झलनाथले २ सय । त्यसै कारण मैले रेल रोकेको हो ।’

पुलिसले दुवैजनाको खानतलासी लियो । केपीको वयान अनुशार रकम बरामद भयो । केपी बनारसको रेलमा, माधव र झलनाथ तीन महिना बस्तीको जेलमा परे ।

तीन महिना पछि जेल मुक्त भएर नेपाल आए । कुरा सामसुम भयो । तर अहिले त्यो अतितको बदला लिने सुरमा माधव र झलनाथ लाग्दा फेरी ओलीको घुमाईमा परे ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com