भिसा सकिएका डिभी विजेताको स्टीकर नविकरण नहुने, एक्सपायर भिसामै तुरुन्त अमेरिका आउन सुझाव


प्रकाशित मिति : फाल्गुन १६, २०७७ आईतबार

भिसाको अवधि सकिइसकेका २०२० का डिभी विजेताहरुका लागि उक्त भिसाको सट्टामा नयाँ भिसा स्टीकर जारी नगरिने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ । संघीय न्यायाधिसले भिसा सकिएका २०२० का डिभी विजेताको भिसा सकिएपनि अद्यावधिक मानिने आदेश जारी गरेपनि अमेरिकी सरकारले भने भिसा थपिएको नयाँ भिसा स्टीकर नदिने स्पष्ट पारेको हो ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ – ‘डिभी २०२० का विजेताहरु जसको भिसा सकिएको छ उनीहरुका लागि भिसा प्रतिस्थापन जारी गर्न नसकिने हुनसक्छ । यद्यपी गोमेज भर्सेस ट्रम्पको अदालती मुद्दाबाट आएको आदेशका कारण जसले सन् २०२० मा डाइभर्सिटी भिसा प्राप्त गरे, उनीहरुले म्याद सकिएकै भिसामा अमेरिकाको यात्रा गर्न सक्नेछन् । किनभने अदालतले यी भिसालाई ट्रम्पको कार्यकारी आदेश खारेज भएको मितिपछि जारी भएका भिसाका रुपमा व्यवहार गर्न आदेश दिएको छ ।’

अमेरिकी विदेश मन्त्रालयको सुचनाको स्क्रीनशट

अमेरिकी विदेश मन्त्रालयले थप स्पष्ट पारेको छ – ‘अदालतले यी सकिएका भिसालाई कहिलेसम्म अद्यावधिक मान्ने भन्ने सन्दर्भमा निर्दिष्ट गरेको छैन। अदालतले यो आदेशमा परिवर्तन गर्न वा केही महत्वपूर्ण आदेशमा परिवर्तन गर्नसक्छ । त्यसकारण अदालतको आदेशबाट फाइदा लिन चाहने आवेदकलाई आदेश परिवर्तन हुनसक्ने भएकाले सक्दो व्यवहारिक रुपमा यात्रा गर्न प्रोत्साहन गरिन्छ ।’

यसर्थ ट्रम्पको कार्यकारी आदेशका कारण गत सेप्टेम्बरमा भिसा जारी भएका नेपालीहरुले मेडिकल सर्टिफिकेट वा अन्य कारणबाट भिसा सकिएको भएतापनि सकिएको भिसामा समेत तुरुन्तै अमेरिकाको यात्रा गर्न सक्ने कानून व्यवसायी रमेश श्रेष्ठले सुझाव दिनुभएको छ । तर ट्रम्पको कार्यकारी आदेशका कारण नभई पहिले नै भिसा पाइसकेका तर महामारी वा अन्य कारणले अमेरिका आउन नसकी रोकिदा भिसा एक्सपायर भएका डिभी विजेता भने एक्सपायर भएको भिसामा अमेरिका आउन सक्ने छैनन् ।

ट्रम्पको कार्यकारी आदेश अनुशार सेप्टेम्बरको दोश्रो सातादेखि अन्तिमसम्म ४०४ जना नेपालीहरुले डाीइभर्सिटी भिसा पाएकाले उनीहरुको भिसा सामान्यतया मार्चको दोश्रो सातादेखि अन्तिमसम्म एक्सपायर हुनेछ । उनीहरुलाई पनि यथाशीघ्र अमेरिकाको यात्रा गर्न कानून व्यवसायी श्रेष्ठले सुझाव दिनुभएको छ । बाइडेनले फेबु्रअरी २४ मा आप्रवासनमा रोक लगाउने ट्रम्पको कार्यकारी आदेश खारेज गरेकाले सेप्टेम्बरमा जारी भएका भिसाले पनि अदालतको आदेश अनुशार फेब्रुअरी २४ पछि जारी भएसरह मान्यता पाउनेछन् ।

एक्सपायर भएको भिसामा कतिपय एयरलाइन्स चढाउन अस्वीकार समेत गर्नसक्ने भएकाले एयरलाइन्ससँग समेत बुझ्न र विदेश मन्त्रालयको सुचना प्रिन्ट गरेर वा अनलाइनमार्फत देखाउन कानून व्यवसायी श्रेष्ठको सुझाव छ । श्रेष्ठले भन्नुभयो – ‘पहिलो बोडिंङ पास लिने बेलामा र पछि नेपालको इमिग्रेशन क्लीयर गर्ने बेलामा इस्यु हुनसक्छ । त्यसैले विदेश मन्त्रालयको सुचना देखाउन उपयुक्त हुन्छ । अमेरिका आइसकेपछि अमेरिका प्रवेश गर्ने बेलामा इमिग्रेशन अफिसरले एक्सपायर भएको भिसाबारे सोधेमा पनि उक्त सुचना देखाउन सकिन्छ । त्यसैले केही प्रतिहरु प्रिन्ट गरेरै बोक्न उपयुक्त हुनेछ ।’

अमेरिकी विदेश मन्त्रालयको उक्त सुचना पढ्न र प्रिन्ट गर्न यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com