आज सार्वजनिक बिलमा टीपीएसबाहकलाई ग्रिनकार्डबारे के भनिएको छ ?


प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहीबार

आज सार्वजनिक ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने खाकासहितको बृहत अध्यागमन बिलमा नेपाली टीपीएसवाहकहरुको विशेष चासो रहेको छ । न्युजर्सीका डेमोक्रेटिक सिनेटर रोबर्ट मेनेन्डेज र क्यालिफोर्नियाबाट डेमोक्रेटिक प्रतिनिधिसभा सदस्य लिण्डा सान्चेजले  सार्वजनिक गरेको बिलमा टीपीएसबाहकलाई ग्रिनकार्डको बाटोमा लैजाने उल्लेख छ ।

नेपाली टीपीएसवाहकहरु अमेरिकामा झण्डै १० हजारको हाराहारीमा रहेका छन् । त्यसमध्ये झण्डै १५ सय जना पहिले नै देशनिकालाको आदेश पाइसकेकाहरु छन् । यो बिल पारित भएमा ती सबै टीपीएसवाहकलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकता प्राप्त गर्न बाटो खोल्नेछ ।

बिलमा सन् २०१७ को जनवरी १ देखि निरन्तर अमेरिकामा रहेका टीपीएसवाहकले ग्रिनकार्डका लागि आवेदन दिनसक्ने उल्लेख छ । तर उनीहरुको ग्रिनकार्ड स्वीकृत हुनका लागि उनीहरुले विगतमा राष्ट्रिय सुरक्षामा खतरा नरहेको र विगतमा अपराध नगरेको पृष्ठभूमि परीक्षण उत्तिर्ण गर्नुपर्छ ।

सन् २०१७ को जनवरी १ को मितिमा टीपीएसमा रहेकोमात्र होइन, टीपीएसका लागि योग्य भएको तर टीपीएसका लागि आवेदन नदिएको व्यक्ति समेत यो श्रेणीमा ग्रिनकार्डका लागि आवेदन दिन योग्य हुने बिलमा उल्लेख छ । अर्थात् टीपीएसका लागि योग्य भएको तर कुनै कारणले आवेदन नदिएको व्यक्तिले समेत बिल पारित भएमा यो श्रेणीमा ग्रिनकार्ड आवेदन दिनसक्नेछ । जुन २४, २०१५ भन्दा अगाडि अमेरिका आएको र जनवरी १, २०१७ देखि निरन्तर अमेरिकामा बसेको कागजपत्रविहिनले यो प्रावधान अन्तरगत ग्रिनकार्ड प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै जनवरी १, २०२१ देखि अमेरिकामा निरन्तर रहेको व्यक्तिले ग्रिनकार्डका लागि आवेदन दिइसकेपछि स्वीकृत नहुँदासम्म अमेरिकामा निरन्तर बसेको हुनुपर्ने प्रावधान रहको छ । आवेदन दिंदा पनि अमेरिकाभित्रै हुनुपर्नेछ । आवासीय निरन्तरता अन्तरगत ट्राभल डकुमेन्टमा छोटा समयका लागि अमेरिका बाहिर गएकाहरुलाई भने कुनै फरक पर्नेछैन । अर्थात् उनीहरुले आवासीय निरन्तरता भंग गरेको ठहर हुनेछैन ।

तर एउटै क्यालेण्डर बर्षमा १८० दिनभन्दा बढी अमेरिकाबाहिर बसेको खण्डमा भने आवासीय निरन्तरता भंग गरेको ठहर्नेछ । उनीहरुले आफ्नो नियन्त्रणबाहिरको अवस्थाका कारण १८० दिनभन्दा लामो समय बस्नुपरेको प्रमाणित गर्न सकेको खण्डमा भने छुट पाउन सक्नेछन् ।

अमेरिकामा ३ बर्षभन्दा लामो समय बसेर जनपरी २०, २०१७ पछि देशनिकालामा परेकाहरुलाई पनि मानवीय र परिवारसँग पुनर्मिलनका लागि छुट पाउन सक्नेछन् । तर उनीहरु सन् २०२१ को जनवरी १ पछि अमेरिकामा गैरकानूनी रुपमा पुन प्रवेश गरेको भने हुनुहुँदैन । अमेरिकाबाहिर रहेको त्यस्ता व्यक्तिले कसरी आवेदन दिने भन्ने सन्दर्भमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विदेशमन्त्रालयसँग मिलेर योजना बनाउनेछ ।

सिनेटमा सार्वजनिक बिलको पूर्ण पाठ

प्रतिनिधिसभामा सार्वजनिक बिलको पूर्ण पाठ 

११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल संसदमा सार्वजनिक

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com