जर्जियामा राष्ट्रपतिमा मतदान नगरेका १ लाख बढीले मगाए सिनेटर चुनावको मतपत्र
प्रकाशित मिति : पुस २, २०७७ बिहीबार
जर्जियामा राष्ट्रपति चुनावमा मतदान नगरेका एकलाख बढीले सिनेटरको चुनावका लागि हुलाकबाट मतपत्र मगाएका छन् । जर्जियाबाट प्रतिनिधित्व गर्ने २ जना सिनेटरका लागि जनवरी ५ हुने चुनावमा नोभेम्बर ३ को तुलनामा अझ बढीले भाग लिने अनुमान गरिएको छ ।
राष्ट्रपति चुनावको नतिजा झण्डै १२ हजारमतले निर्धारण भएको जर्जियामा नोभेम्बर ३ को चुनावमा मतदान नै नगरेका एकलाख बढीले हुलाकबाट मतपत्र मगाउनुले चुनावलाई थप प्रतिस्पर्धात्मक बनाउने देखिएको छ । जर्जियामा अग्रिम मतदान सुरु भइसकेको छ ।
बुधबार दिउसोसम्म नोभेम्बर ३ मा मतदान नगरेका १ लाख २ हजार ६ सय ९ जनाले हुलाकबाट मतपत्र मगाएका थिए । जसमध्ये ६० प्रतिशत श्वेत बाहेकका अमेरिकनहरु रहेका छन् । राष्ट्रपति चुनावमा मतदान नगरेका र अहिले मतपत्र मगाउनेहरुमा २८ प्रतिशत मतदाताहरु ३९ बर्षभन्दा कम उमेरका रहेका छन् ।
जनवरीमा ५ मा हुने चुनावमा रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर रहेका छन् । त्यस्तै डेमोक्रेटिक उम्मेदवारहरुमा जोन ओसफ र राफल वार्नक रहेका छन् ।
अमेरिकाको प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले बहुमत कायम गरेको अवस्थामा सिनेटमा भने कस्को बहुमत कायम हुने भन्ने कुराको निर्धारण जनवरी ५ को जर्जियाको चुनावले गर्नेछ । सिनेटमा अहिले ४८ सिट डेमोक्रेटिक पार्टीले र ५० सिट रिपब्लिकन पार्टीले जीतेका छन् । जर्जिया दुबै सिट डेमोक्रेटिक पार्टीका उम्मेदबारले जीतेमा उपराष्ट्रपतिले गर्ने टाइब्रेक मतका आधारमा सिनेटमा डेमोक्रेटिक पार्टीको नियन्त्रण हुनेछ ।
तर जर्जियाको दुईवटै वा दुईवटामध्ये एउटा सिटमा मात्र रिपब्लिकनले जीतेमा सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ । त्यसैले जर्जियाको चुनावले सिंगै अमेरिकाको आगामी परिदृश्यलाई परिवर्तन गर्नसक्ने देखिएको छ ।
जर्जियामा राष्ट्रपति चुनावमा जो बाइडेनले जीतेका छन् । १६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएकोमा यसपटक डेमोक्रेटिक उम्मेदबार बाइडेनले जीतेका हुन् । कुनैबेलाको रेडस्टेट जर्जिया अब ब्याटलग्राउण्ड राज्य भएको छ ।
सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सन् २००४ यता सिनेटमा दुबै सदस्य रिपब्लिकनहरु रहदै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।