सिनेटमा रिपब्लिकन नेता म्याक्कोनेलबाट बाइडेनको जीत स्वीकार्दै बधाई
प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार
अमेरिकी सिनेटमा बहुमत प्राप्त दलका नेता रिपब्लिकन सिनेटर मिच म्याक्कोनेलले अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीत स्वीकार्दै बाइडेनलाई बधाई समेत दिएका छन् । ट्रम्पले आफ्नो पराजय अस्वीकार गरिरहेको अवस्थामा म्याक्कोनेलले बाइडेनकाले जीत स्वीकारेका हुन् ।
सोमबार इलेक्टोरल कलेजले बाइडेनको जीतलाई औपचारिकता दिएको भोलिपल्ट आज मंगलबार सिनेटको फ्लोरमा बोल्दै मिच म्याक्कोनेलले भने – ‘इलेक्टोरल कलेज बोलिसकेको छ । त्यसैले म आज नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिन चाहन्छु ।’
म्याक्कोनेलले अहिलेसम्म भने बाइडेनको जीत स्वीकारेका थिएनन् । साथै ट्रम्पलाई आफ्नो दावी अदालतमा पेश गर्ने अधिकार रहेको बताउँदै आएका थिए । यद्यपी ट्रम्प पक्षका तर्फबाट अदालतमा पेश गरिएका दावीहरु एकपछि अर्को अस्वीकार हुँदै आएका थिए ।
म्याक्कोनेलले बाइडेनको जीत स्वीकार्दै बोलेपछि पनि ट्रम्पले भने चुनावमा धाँधली भएको भन्दै एकपछि अर्को ट्वीट गरिरहेका छन् । सोमबार इलेक्टोरल कलेजको मतदानपछि बाइडेनको जीत स्वीकार्ने रिपब्लिकनहरुको संख्या बढ्दै गएको छ ।
नोभेम्बर ३ को चुनावबाट चुनिएका इलेक्टरहरुले सोमबार अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतलाई नै सदर गरेका थिए । अमेरिकी राष्ट्रपति चुनावमा अमेरिकी जनताले सिधै राष्ट्रपति नचुनेर इलेक्टरहरु चुन्ने भएका कारण सोमबार ती इलेक्टरहरुले औपचारिक रुपमा अमेरिकी राष्ट्रपति चुन्नका लागि मतदान गरेका थिए ।
अब प्रमाणपत्रहरु सिनेटको प्रेसिडेण्डको हैसियतमा उपराष्ट्रपति माइक पेन्स समक्ष पठाइनेछ । त्यस्तै फेडरल रजिष्टरको अफिस, राज्यका सेक्रेटरी अफ स्टेट र संघीय जिल्ला अदालतका प्रमुख न्यायाधिससमक्ष पठाइनेछ ।
त्यसपछि जनवरी ६ मा संसदको संयुक्त सदनले मतहरु औपचारिक रुपमा गणना गर्नेछ । माइक पेन्सको अध्यक्षतामा यो काम हुनेछ । पेन्सले अल्फावेटिकल अर्डरमा राज्यका प्रमाणपत्रहरु खोल्नेछन् । र, चारजना गणकहरु समक्ष पेश गर्नेछन् । ४ जना गणकहरु दुईजना हाउसबाट र दुईजना सिनेटबाट हुनेछन् । बाइडेनले २७० इलेक्टोरल मत प्राप्त गर्नासाथ पेन्सले विजेता घोषणा गर्नेछन् ।
यो प्रकृया संघीय कानुनले तोके अनुशार हुनेछ । च्याम्बरमा स्पीकरको कुर्सीमा माइक पेन्स बस्नेछन्, न्यान्सी पेलोसी बायातिर बस्नेछिन् भने ४ जना गणकहरु क्लर्कको डेस्कमा बस्नेछन् । संसदको यो संयुक्त सेसन गणना पूरा नहँदासम्म र परिणाम सार्वजनिक नगर्दासम्म जारी रहन्छ । चुनावको परिणाम घोषणा गरेपछि जनवरी २० मा सपथग्रहणको कार्यक्रममात्र बाँकी रहन्छ ।
संसदका नयाँ सदस्यहरुले जनवरी ३ मा सपथग्रहण गर्ने भएकाले यो सबै प्रकृया नयाँ संसदले गर्नेछ । प्रतिनिधिसभामा डेमोक्र्याट्सको नियन्त्रण रहेको छ भने जर्जियाका दुईसिट डेमोक्र्याट्सले नै जीतेपनि पचास पचास हुने अवस्थामा समेत टाइब्रेक मतका रुपमा उपराष्ट्रपतिले काम गर्न पाउने भएकाले माइक पेन्स नै त्यहाँ हुनेछन् । सिनेटमा ५० सिट रिपब्लिकनले र ४८ सिट डेमोक्र्याट्सले जीतेका छन् । जनवरी ५ को चुनावमा जर्जियाका दुबै सिट डेमोक्र्याट्सले जीतेपनि टाइब्रेकका लागि नयाँ उपराष्ट्रपतिले सपथ नलिंदासम्म रिपब्लिकनै नियन्त्रण हुनेछ ।
इलेक्टोरल मत गणनाको बेलामा संसदमा कुनै पनि बहस र विवादलाई स्थान दिइदैन । तर परिणाम घोषणा गरिएपछि संसदका सदस्यहरुले आफ्नो भनाई राख्न सक्छन् । कुनै पनि राज्यको परिणामबारेको कुनै असहमति भएमा कम्तीमा एकजना सिनेटर र एकजना प्रतिनिधिसभा सदस्यले हस्ताक्षर गरेर लिखित रुपमा पेश गर्नुपर्छ । हरेक सांसदले एकपटकमात्र बोल्न पाउँछन् भने ५ मिनेटमा आफ्नो भनाई सक्नुपर्छ । २ घण्टापछि बहस समाप्त हुन्छ ।
कुनै पनि राज्यको परिणामबारेको असहमति औपचारिक रुपमा दर्ता भएमा संसदका हरेक सदनमा राज्यको परिणाम अस्वीकार गर्ने वा नगर्ने सन्दर्भमा मतदान हुन्छ । तर अस्वीकार गर्नका लागि दुबै सदनबाट पारित हुनुपर्ने भएकाले त्यस्तो सम्भावना यसपटक शुन्य रहेको छ ।
सन् १८८७ मा इलेक्टोरल गणना ऐन पारित भएदेखि दुईपटक राज्यको चुनावी परिणाममा संसदीय अवरोध भएको छ । तर यस्तो अवरोध भएपनि त्यो या त सिनेटबाट या त हाउसबाट पारित नभएका कारण अर्थहिन बन्यो ।
चुनावी परिणाममा अवरोध ल्याएर बाइडेनलाई राष्ट्रपति हुन नदिने रिपब्लिकनहरुको दीर्घकालिन योजना भएकाले यसपटक पनि यस्तो प्रयास हुनसक्छ । तर दुबै सदनबाट सामान्य बहुमतबाट पारित नभएसम्म त्यस्तो अवरोध अर्थहिन हुनेछ । पार्टी अनुशार मतदान हुँदा रिपब्लिकनहरुले बाइडेनको जीतलाई रोक्न सक्दैनन् ।
हाउसमा डेमोक्र्याट्सको नियन्त्रण भएकाले रिपब्लिकनले ल्याएको अवरोध हाउसबाट पारित हुन सम्भव छैन । सिनेटमा पनि कैयन रिपब्लिकनले बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिसकेकाले त्यहाँबाट पनि त्यस्तो अवरोध पारित हुने सम्भावना कम रहेको छ ।
ट्रम्पका केही समर्थकहरुले संसदमा अवरोधको योजना बनाइसकेका छन् । जनवरी ६ मा अमेरिकी संसद राजनीतिक नाटकघर जस्तो देखिने अवस्था रहेको छ । तर यो प्रकृयाले चुनावको परिणामलाई बदल्ने सम्भावना भने शुन्यप्राय रहेको छ ।