चुनावको नतिजा उल्टाउने अन्तिम प्रयास स्वरुप दायर मुख्य मुद्दा सर्वोच्चबाट खारेज
प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार
डोनाल्ड ट्रम्पलाई विजेता घोषणाको माग सहित दायर गरिएको एउटा मुख्य मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।टेक्सासका एटोर्नी जनरलले मिसिगन, जर्जिया, विसकन्सिन र पेन्सिलभेनियाका इलेक्टरहरुलाई मतदान गर्नबाट रोक लगाउन माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । जसमा १७ राज्यका एटोर्नी जनरलहरु र १२६ रिपब्लिकन सांसदहरुले समेत साथ दिएका थिए ।
टेक्साससँग अन्य राज्यले कसरी चुनाव गर्छन् भन्ने सन्दर्भमा चुनौती दिने अधिकार टेक्साससँग नरहेको भन्दै सर्वोच्च उक्त मुद्दालाई खारेज गरिदिएको हो । साथै मुद्दा दायर गर्नका लागि कुनै आधार नरहेको पनि सर्वोच्चको ठहर छ ।
प्रमुख मुद्दा भने मंगलबार टेक्सासका एटोर्नी जनरलले दर्ता गराएका थिए । उक्त मुद्दालाई समर्थन गर्नेहरु १७ एटोर्नी जनरल र १२६ सांसदहरु थिए । ओहायो, टेक्सास, फ्लोरिडा, न्युयोर्क लगायतका राज्यबाट प्रतिनिधित्व गर्ने ट्रम्पका कडा समर्थक सांसदहरुले समर्थन गर्दै हस्ताक्षर गरेका थिए । डोनाल्ड ट्रम्पले नजितेका कारण चुनावको नतिजा उल्टाउने माग गरेका उनीहरुले चुनावको नतिजा उल्टाउनका लागि कुनै गतिलो कारण भने पेश गर्न सकेका थिएनन् ।
उनीहरुले चुनावमा असंवैधानिक अनियमितता भएको दावी गरेका थिए । बुधबार १७ राज्यका ट्रम्प समर्थक एटोर्नी जनरलहरुले चुनावी नतिजा उल्टाउनुपर्ने माग गरेका थिए ।
यसअगाडि पनि पेन्सिभेनियामा जो बाइडेनको जीतलाई रोक्ने प्रयास गर्दै ट्रम्प पक्षधर रिपब्लिकनहरुले गरेको अनुरोधलाई सर्वोच्च अदालतले एक लाइनमा अस्वीकार गरेको थियो । बाइडेनको जीतको प्रमाणिकरण रोक्ने प्रयास स्वरुप ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको थियो ।
सर्वोच्च अदालतका ९ जना न्यायाधिसमध्ये ६ जना रिपब्लिकन नियुक्त न्यायाधिसहरु रहेकाले आफ्नो पक्षमा फैसला आउनसक्ने डोनाल्ड ट्रम्पको अपेक्षा रहेको थियो ।
अदालतले ट्रम्प पक्षको अनुरोध अस्वीकार गर्नुको कारणबारे केही व्याख्या समेत गरेको थिएन । राष्ट्रपतिको चुनावमा राज्यका गभर्नरको प्रमाणिकरणलाई रद्द गर्नेगरी अदालतले अहिलेसम्म आदेश जारी गरेको कुनै इतिहास पनि छैन ।
अमेरिकी राष्ट्रपतिमा जो बाइडेनकै जीतलाई पुष्टी गर्दै अमेरिकाका ५० वटा राज्य र वासिंटन डिसीले चुनावी नतिजाको औपचारिक प्रमाणिकरण गरिसकेका छन् । औपचारिक प्रमाणिकरणपछि पनि पूर्व अनुमान गरिएजस्तै बाइडेनका पक्षमा ३०६ इलेक्टोरल कलेज मत प्रमाणित भएको छ भने डोनाल्ड ट्रम्पका पक्षमा २३२ मत प्रमाणित भएको छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि जम्मा ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत आवश्यक पर्छ । सबै इलेक्टरहरुले डिसेम्बर १४ मा इमान्दारिताका साथ मतदान गरेमा बाइडेनका पक्षमा ३०६ र ट्रम्पका पक्षमा २३२ इलेक्टोरल कलेज मत प्राप्त हुनेछ ।
चुनावी नजिता प्रमाणिकरण गर्ने अन्तिम राज्य वेष्ट भर्जिनिया भएको छ । ५ इलेक्टोरल कलेज मत रहेको उक्त राज्यमा ट्रम्पले जितेका थिए । नोभेम्बर ३ मा राष्ट्रपति चुनाव भएको एकमहिना एकसातापछि सबै राज्यहरुले प्रमाणिकरण सकेका हुन् । हरेक राज्यका प्रमाणिकरणका आफ्ना नियम र प्रकृयाहरु रहेका छन् ।
डिसेम्बर १४ मा इलेक्टरहरु जम्मा भएर राष्ट्रपतिका लागि मत हाल्नेछन् । त्यसको औपचारिक घोषणा संसदको संयुक्त सेसनले जनवरी ६ मा गर्नेछ । नवनिर्वाचित अमेरिकी राष्ट्रपतिले जनवरीमा २० मा सपथग्रहण गर्नेछन् ।
सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।