ट्रम्पकै न्यायमन्त्रीको घोषणा – ‘नतिजा नै परिवर्तन हुनेगरी चुनावमा धाँधली भएको प्रमाण छैन’
प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार
डोनाल्ड ट्रम्पकै न्यायमन्त्री अर्थात् डिपार्टमेन्ट अफ जस्टिसका महान्याधिवक्ता विलियम बारले नतिजा नै परिवर्तन हुने गरी चुनावमा धाँधली भएको कुनै प्रमाण नभेटिएको बताएका छन् । डिपार्टमेन्ट अफ जस्टिसले कुनै त्यस्तो प्रमाण नभेटाएको बारले घोषणा गरेका हुन् ।
डोनाल्ड ट्रम्पले चुनावमा ब्यापक धाँधली भएको भन्दै मुद्दामामला गरिरहेको सन्दर्भमा विलियम बारको यो घोषणाले ट्रम्पलाई थप धक्का लागेको छ । ट्रम्पले गतबर्षको फरबरीमा बारलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । अमेरिकामा डिपार्टमेन्ट अफ जस्टिसको महान्यायाधिवक्ताको पद न्यायमन्त्री सरह हो ।
अमेरिकन एटोर्नीहरु र एफबीआई एजेन्टहरुले प्राप्त सुचनाहरुबारे अनुसन्धान गरिरहेको विलियम बारले बताएका छन् । तर आजको मितिसम्म गरिएका अनुसन्धानहरुमा चुनावको परिणाम नै बदल्ने गरी कुनै प्रमाण नभेटिएको उनले खुलासा गरेका हुन् ।
नोभेम्बर ३ को अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजित डोनाल्ड ट्रम्पले गत आइतबार पहिलोपटक पराजयपछिको अन्तरवार्ता दिदै चुनावमा धाँधलीका लागि एफबीआई र डिपार्टमेन्ट अफ जस्टिससमेत संलग्न भएको आरोप लगाएका थिए । लगत्तै विलियम बारको यस्तो अन्तरवार्ता आएको हो ।
फक्स बिजनेशमा कुरा गर्दै ट्रम्पले चुनावमा पूर्णरुपमा धाँधली भएको बताएका थिए । एफबीआई र डिपार्टमेन्ट अफ जस्टिसले चुनावमा भएको धाँधलीको वास्ता नगरेको दावी गर्दै ट्रम्पले एफबीआई र डिपार्टमेन्ट अफ जस्टिस संलग्न भएको हुनसक्ने बताएका थिए ।
ट्रम्पले आफ्नो यस्तो आरोपलाई पुष्टी गर्नसक्ने कुनै आधार भने पेश गर्न सकेनन् । बरु ती दुईवटा एजेन्सीले धाँधलीको अनुसन्धान नगरेको गुनासो गरे ।
एफबीआई र डिपार्टमेन्ट अफ जस्टिस दुबै निकायका प्रमुखलाई ट्रम्पले नै छनौट गरेर नियुक्त गरेका थिए । एफबीआईका निर्देशक क्रिस्टोफर वारेलाई ट्रम्पले सन् २०१७ मा नियुक्त गरेका थिए । त्यस्तै महान्यायाधिवक्ता अर्थात् डिपार्टमेन्ट अफ जस्टिसका प्रमुख विलियम बारलाई ट्रम्पले नै गतबर्ष नियुक्त गरेका थिए ।
चुनावको एकमहिना हुनलाग्दा पनि ट्रम्पले आफ्नो पराजय स्वीकारेका छैनन् । ट्रम्पले कतै चुनावको परिणामबिरुद्ध मुद्दा दायर गरेका छन् त कतै मोटो रकम खर्चिएर दोश्रो र तेश्रो पटक समेत मतगणना गराइरहेका छन् । तर पनि त्यसबाट चुनावी परिणाम बदलिने कुनै संकेत भने देखिएको छैन ।