पराजयपछि ट्रम्पको पहिलो अन्तरवार्ता: एफबीआई र न्याय मन्त्रालय धाँधलीमा संलग्न भएको आरोप


प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार

नोभेम्बर ३ को अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजित डोनाल्ड ट्रम्पले आइतबार पहिलोपटक पराजयपछिको अन्तरवार्ता दिएका छन् । उक्त अन्तरवार्तामा उनले चुनावमा धाँधलीका लागि एफबीआई र डिपार्टमेन्ट अफ जस्टिससमेत संलग्न भएको आरोप लगाएका छन् ।

फक्स बिजनेशमा कुरा गर्दै ट्रम्पले चुनावमा पूर्णरुपमा धाँधली भएको बताए । एफबीआई र डिपार्टमेन्ट अफ जस्टिसले चुनावमा भएको धाँधलीको वास्ता नगरेको दावी गर्दै ट्रम्पले एफबीआई र डिपार्टमेन्ट अफ जस्टिस संलग्न भएको हुनसक्ने बताए । अमेरिकामा न्याय मन्त्रालयलाई डिपार्टमेन्ट अफ जस्टिसका रुपमा चिनिन्छ ।

ट्रम्पले आफ्नो यस्तो आरोपलाई पुष्टी गर्नसक्ने कुनै आधार भने पेश गर्न सकेनन् । बरु ती दुईवटा एजेन्सीले धाँधलीको अनुसन्धान नगरेको गुनासो गरे । एफबीआई र डिपार्टमेन्ट अफ जस्टिसले यसबारेमा कुनै प्रतिकृया दिएका छैनन् ।

एफबीआई र डिपार्टमेन्ट अफ जस्टिस दुबै निकायका प्रमुखलाई ट्रम्पले नै छनौट गरेर नियुक्त गरेका थिए । एफबीआईका निर्देशक क्रिस्टोफर वारेलाई ट्रम्पले सन् २०१७ मा नियुक्त गरेका थिए । त्यस्तै महान्यायाधिवक्ता अर्थात् डिपार्टमेन्ट अफ जस्टिसका प्रमुख विलियम बारलाई ट्रम्पले नै सन् २०१८ मा नियुक्त गरेका थिए ।

चुनावको एकमहिना हुनलाग्दा पनि ट्रम्पले आफ्नो पराजय स्वीकारेका छैनन् । ट्रम्पले कतै चुनावको परिणामबिरुद्ध मुद्दा दायर गरेका छन् त कतै मोटो रकम खर्चिएर दोश्रो र तेश्रो पटक समेत मतगणना गराइरहेका छन् । तर पनि त्यसबाट चुनावी परिणाम बदलिने कुनै संकेत भने देखिएको छैन ।

३ मिलियन डलर खर्च गरेर विसकन्सिनमा दोश्रो पटक मत गणना गराउँदा पनि जो बाइडेनले नै जीतेका छन् । दोश्रो पटक मतगणना गर्दा विसकन्सिनमा बाइडेन र डोनाल्ड ट्रम्पबीचको मतान्तर थप ८७ मतले बढेको छ ।

मिलाउकी काउन्टीमा दोश्रो मतगणना गर्ने क्रममा गरिएको पुनरावलोकनमा बाइडेनका पक्षमा केही मत थपिएका थिए । उक्त काउन्टीमा झण्डै ४ लाख ६० हजार मत खसेको थियो ।

विसकन्सिनमा ट्रम्पले बाइडेनको तुलनामा झण्डै २० हजार कम मत ल्याएर पराजित भएका थिए । ट्रम्प अभियानले दुईवटा काउन्टीहरु मिलाउकी र डेनमा दोश्रोपटक मतगणनाका लागि निर्वाचन आयोगलाई ३ मिलियन डलर शुल्क तिरेको थियो । तर दोश्रो मतगणनाको परिणाम भने ट्रम्पका लागि झन् निराशाजनक आएको छ ।

मिलाउकी मा शुक्रबार नै दोश्रोपटकको मतगणना सकिएको थियो भने डेन काउन्टीमा आइतबार सकिएको छ । विसकन्सिन राज्यका यी दुई काउन्टीहरुमा राज्यको कुल जनसंख्याको एकचौथाई मतदाताहरु रहदै आएका छन् । साथै यी दुईवटा काउन्टीहरु उक्त राज्यभित्रका पनि ब्याटलग्राउण्ड काउन्टीहरु हुन् ।

ट्रम्प र उनका सहयोगीहरुले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । तर कुनै प्रमाण पेश गर्न नसक्दा अदालतमा दायर गरिएका मुद्दामा समेत एकपछि अर्को पराजय खेप्नु परेको छ ।

हुलाकबाट मतपत्र पठाएर गरिएका मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐनबिरुद्ध नै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज गरिदिएको छ । त्यस्तै प्रकारको मुद्दा फेरी अदालतमा ल्याउन नपाउनेगरी ट्रम्प पक्षको मुद्दा खारेज गरिएको हो । यसलाई डोनाल्ड ट्रम्पको पछिल्लो कानुनी पराजयका रुपमा हेरिएको छ ।

राज्यको सर्वोच्च अदालतका न्यायाधिसहरुले एकमतका साथ शनिबार राती यस्तो फैसला गरेका हुन् । पेन्सिलभेनियामा हुलाकबाट पठाइएका मतपत्रहरु गणना नगर्न माग गर्दै ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको थियो ।

पेन्सिलभेनियामा युनिभर्सल मेल इन मतदान स्थापना गर्ने २०१९ मा ल्याइएको ऐन ७७ लाई चुनौति दिदै ट्रम्प अभियानले मुद्दा दायर गरेको थियो । तर यो ऐनलाई चुनौति दिने मुद्दा ऐन आएको एकबर्षपछिमात्र दायर गरिएको र ऐनलाई चुनौति दिने कानुनी आधारहरु नभएको भन्दै न्यायाधिसहरुले फैसला गरेका हुन् ।

पेन्सिलभेनियाका महान्यायाधिवक्ताले शनिबार राती ट्वीट गर्दै प्रजातन्त्रका लागि अर्को जीत भएको बताएका छन् । यसअगाडि शुक्रबारमात्र संघीय पुनरावेदन अदालतबाट पनि पेन्सिलभेनियाको प्रमाणिकरण उल्टाउनका लागि अनुरोध गर्दै ट्रम्प पक्षबाट दायर मुद्दा खारेज गरिएको थियो ।

पेन्सिलभेनियाको तेश्रो सर्किट कोर्ट पुनारावेदन अदालतबाट तीनजना रिपब्लिकन नियुक्त न्यायाधिसहरुले एकमतका साथ ट्रम्प पक्षको प्रयास अस्वीकार गरेका थिए ।

चुनावमा धाँधली भएको भन्दैमा वास्तवमै चुनाव धाँधली भएको नठहर्ने र त्यसलाई पुष्टी गर्न विशेष आरोपसहित प्रमाणहरु पनि आवश्यक पर्ने तर त्यस्तो कुनै प्रमाण नपुगेको भन्दै तीनजना न्यायाधिसको प्यानलले चुनावको प्रमाणिकरण उल्टाउने ट्रम्प अभियानको प्रयासलाई खारेज गरेका हुन् । मुद्दाबारेको फैसला ट्रम्पले नै नियुक्त गरेका न्यायाधिस स्टेफानोस बिवासले लेखेका हुन् । अरु दुईजना न्यायाधिसहरु जर्ज डब्ल्यु बुसले नियुक्त गरेका हुन् ।

गत नोभेम्बर २१ मा संघीय अदालतले ट्रम्प प्रक्षको प्रयासलाई अस्वीकार गरेपछि पुनरावेदन अदालतमा मुद्दा दायर गरिएको थियो । पेन्सिलभेनियाले केहीदिन अगाडि नै चुनावको नतिजा प्रमाणिकरण गरेर इलेक्टरहरु छनौट गरिसकेको छ । ती इलेक्टरहरुले डिसेम्बर १४ मा अमेरिकी राष्ट्रपतिको औपचारिक रुपमा छनौट गर्नेछन् ।

अदालतले ट्रम्प पक्षका दावीहरु प्रयाप्त र भरपर्दा नरहेको ठहर गरेको छ । राष्ट्रपति वकिलहरुले नभई मतदाताले छान्ने र चुनावको निर्धारणले वकिलको मतले नभई मतपत्रहरुले छान्ने अदालतको निर्णयमा उल्लेख गरिएको छ । यो मुद्दा ट्रम्प पक्षबाट दायर गरिएका र अदालतबाट अस्वीकार भएका पछिल्ला ४० मध्येको एउटा मुद्दा हो ।

अब ट्रम्प पक्ष यो मुद्दालाई लिएर सर्वोच्च अदालतमा जाने भएको छ । सर्वोच्च अदालतमा रिपब्लिकनले नियुक्त गरेका न्यायाधिसहरुको बाहुल्यता रहेको छ । सर्वोच्चका ९ न्यायाधिसमध्ये ६ जना रिपब्लिकन नियुक्त र ३ जना डेमोक्र्याट्स नियुक्त न्यायाधिसहरु रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com