न्युयोर्क सिटीले डेडलाइनभित्र गर्न सकेन चुनावी नतिजा प्रमाणिकरण


प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार

न्युयोर्क सिटीको इलेक्शन बोर्ड तोकिएको डेडलाइनभित्र चुनावी नतिजा प्रमाणिकरण गर्न असफल भएको छ । न्युयोर्क सिटीले नोभेम्बर २८ भित्र चुनावी नतिजा प्रमाणिकरण गरेर राज्यलाई बुझाउनुपर्नेमा तोकिएको डेडलाइनमा बुझाउन सकेन ।

अब न्युयोर्क सिटीले चुनावी नतिजा प्रमाणिकरण गरेर डिसेम्बर १ मा बुझाउने योजना बनाएको छ । न्युयोर्क सिटीमा झण्डै ७ लाखले अग्रिम मतदान वा हुलाकमार्फत मतदान गरेका थिए । ती मतहरु नोभेम्बर १० पछिमात्र गणना सुरु गरिएकाले न्युयोर्कमा चुनावको नतिजा आउन ढिलो भएको हो ।

न्युयोर्क राज्यले डिसेम्बर ३ मा हुने बैठकसम्म सबै काउन्टी र सिटीहरुबाट चुनावको प्रमाणित नतिजा जम्मा भइसक्ने अपेक्षा गरेको छ । न्युयोर्क राज्यले नतिजा प्रमाणिकरण गर्ने डेडलाइन डिसेम्बर ७ रहेकोमा त्यो अगाडि नै प्रमाणिकरण भइसक्ने अपेक्षा गरिएको छ ।

मतदानस्थलको दृश्य ।

एरिजोनाका लागि अन्तिम चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर ३० रहेको छ । क्यालफोर्नियाका लागि डिसेम्बर ११, कोलोराडोका लागि नोभेम्बर ३०, कनेक्टिकटका लागि डिसेम्बर ३, वासिंटन डिसीका लागि डिसेम्बर २, इलिनोयका लागि डिसेम्बर ४ को चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन रहेको छ ।

त्यस्तै आयोवाका लागि नोभेम्बर ३०, कन्सासका लागि डिसेम्बर १, मेरिल्याण्डका लागि डिसेम्बर ८, मिजौरीका लागि डिसेम्बर ८, मोन्टानाका लागि नोभेम्बर ३०, नेब्रास्काका लागि नोभेम्बर ३०, न्यु ह्याम्पशायरका लागि डिसेम्बर २, न्युजर्सीका लागि डिसेम्बर ८ को प्रमाणिकरण डेडलाइन रहेको छ । त्यस्तै ओरेगन, टेक्सास र वासिंटनका लागि डिसेम्बर ३ को डेडलाइन रहेको छ भने विसकन्सिनका लागि डिसेम्बर १ को डेडलाइट रहेको छ ।

टेनेसी, रोड आइल्याण्ड, पोर्तोरिको, गुआम, हवाई, अमेरिकन सामोआ लगायतको कडा डेडलाइन छैन भने अन्य राज्यको डेडलाइन पार भइसकेको छ । कैयन राज्यहरुले डेडलाइन अगाडि नै चुनावको नतिजा प्रमाणिकरण गरिसकेका छन् ।

सबै राज्यले चुनावको नतिजा प्रमाणिकरण गरिसकेपछि डिसेम्बर १४ मा इलेक्टरहरुले औपचारिक रुपमा अमेरिकी राष्ट्रपति चुन्नेछन् । त्यसपछि नयाँ राष्टपतिले जनवरी २० मा सपथ ग्रहण गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com