विसकन्सिनमा पुन: मतगणना गराउन ट्रम्पले तिरे ३ मिलियन डलर, तर थपियो बाइडेनको मत


प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार

विसकन्सिनमा आशिंक रुपमा पुन: मतगणना गराउन ट्रम्प अभियानका तर्फबाट ३ मिलियन डलर तिरिएपनि मत भने बाइडेनको थपिएको छ । मिलाउकी काउन्टीमा पुन: मतगणना गर्ने क्रममा गरिएको पुनरावलोकनमा बाइडेनका पक्षमा अघिल्लो पटकको तुलनामा १३२ मत थपिएको छ । उक्त काउन्टीमा झण्डै ४ लाख ६० हजार मत खसेको थियो ।

विसकन्सिनमा ट्रम्पले बाइडेनको तुलनामा झण्डै २० हजार कम मत ल्याएर पराजित भएका थिए । ट्रम्प अभियानले दुईवटा काउन्टीहरु मिलाउकी र डेनमा पुन: मतगणनाका लागि निर्वाचन आयोगलाई ३ मिलियन डलर शुल्क तिरेको थियो । तर पुन: मतगणनाको परिणाम भने ट्रम्पका लागि झन् निराशाजनक आएको छ ।

विसकन्सिन राज्यका यी दुई काउन्टीहरुमा राज्यको कुल जनसंख्याको एकचौथाई मतदाताहरु रहदै आएका छन् । साथै यी दुईवटा काउन्टीहरु उक्त राज्यभित्रका पनि ब्याटलग्राउण्ड काउन्टीहरु हुन् । डेन काउन्टीमा भने भोलिसम्म पुन मतगणना सकिने अपेक्षा गरिएको छ ।

ट्रम्प र उनका सहयोगीहरुले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । तर कुनै प्रमाण पेश गर्न नसक्दा अदालतमा दायर गरिएका मुद्दामा समेत एकपछि अर्को पराजय खेप्नु परेको छ । पेन्सिलभेनियामा पुनरावेदन अदालतमा दायर गरिएको मुद्दा खारेज भइसकेको छ ।

पेन्सिलभेनियाको तेश्रो सर्किट कोर्ट पुनारावेदन अदालतबाट तीनजना रिपब्लिकन नियुक्त न्यायाधिसहरुले एकमतका साथ ट्रम्प पक्षको प्रयास अस्वीकार गरेका थिए ।

चुनावमा धाँधली भएको भन्दैमा वास्तवमै चुनाव धाँधली भएको नठहर्ने र त्यसलाई पुष्टी गर्न विशेष आरोपसहित प्रमाणहरु पनि आवश्यक पर्ने तर त्यस्तो कुनै प्रमाण नपुगेको भन्दै तीनजना न्यायाधिसको प्यानलले चुनावको प्रमाणिकरण उल्टाउने ट्रम्प अभियानको प्रयासलाई खारेज गरेका हुन् । मुद्दाबारेको फैसला ट्रम्पले नै नियुक्त गरेका न्यायाधिस स्टेफानोस बिवासले लेखेका हुन् । अरु दुईजना न्यायाधिसहरु जर्ज डब्ल्यु बुसले नियुक्त गरेका हुन् ।

गत नोभेम्बर २१ मा संघीय अदालतले ट्रम्प प्रक्षको प्रयासलाई अस्वीकार गरेपछि पुनरावेदन अदालतमा मुद्दा दायर गरिएको थियो । पेन्सिलभेनियाले केहीदिन अगाडि नै चुनावको नतिजा प्रमाणिकरण गरेर इलेक्टरहरु छनौट गरिसकेको छ । ती इलेक्टरहरुले डिसेम्बर १४ मा अमेरिकी राष्ट्रपतिको औपचारिक रुपमा छनौट गर्नेछन् ।

अदालतले ट्रम्प पक्षका दावीहरु प्रयाप्त र भरपर्दा नरहेको ठहर गरेको छ । राष्ट्रपति वकिलहरुले नभई मतदाताले छान्ने र चुनावको निर्धारणले वकिलको मतले नभई मतपत्रहरुले छान्ने अदालतको निर्णयमा उल्लेख गरिएको छ । यो मुद्दा ट्रम्प पक्षबाट दायर गरिएका र अदालतबाट अस्वीकार भएका पछिल्ला ४० मध्येको एउटा मुद्दा हो ।

अब ट्रम्प पक्ष यो मुद्दालाई लिएर सर्वोच्च अदालतमा जाने भएको छ । सर्वोच्च अदालतमा रिपब्लिकनले नियुक्त गरेका न्यायाधिसहरुको बाहुल्यता रहेको छ । सर्वोच्चका ९ न्यायाधिसमध्ये ६ जना रिपब्लिकन नियुक्त र ३ जना डेमोक्र्याट्स नियुक्त न्यायाधिसहरु रहेका छन् ।

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com