बाइडेनलाई ८ करोडभन्दा बढी पपुलर मत प्राप्त, राज्यहरुबाट धमाधम नतिजा प्रमाणिकरण
प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले ८ करोडभन्दा बढी पपुलर मत प्राप्त गरेका छन् । जुन अहिलेसम्म विजयी अमेरिकी राष्ट्रपतिले ल्याएको सबैभन्दा धेरै मत हो । डोनाल्ड ट्रम्पले झण्डै ७ करोड ३० लाख पपुलर मत प्राप्त गरेका छन् ।
अमेरिकामा सन् १९०८ यता कुल मतदातामध्ये मतदानमा सहभागी हुनेहरुको प्रतिशत यसपटकको चुनावमा अहिलेसम्मकै बढी रहेको जनाइएको छ । कुल मतदातामध्ये झण्डै ६५ प्रतिशतले यसपटक मतदान गरेका कारण चुनाव अत्याधिक प्रतिस्पर्धात्मक भएको थियो ।
ट्रम्पको तुलनामा बाइडेनले ६० लाखभन्दा धेरै मत प्राप्त गरेका छन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुल इलेक्टोरल मत २७० प्राप्त गरे पुग्नेमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत सुरक्षित गरेका छन् । ट्रम्पले २३२ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् ।
एरिजोना, जर्जिया, विसकन्सिन, पेन्सिलभेनिया लगायतका ब्याटलग्राउण्ड राज्यमा बाइडेनले चुनाव जीतेपछि राष्ट्रपतिका लागि सुनिश्चितता मिलेको हो । यद्यपी ट्रम्पले अहिलेसम्म पनि आफ्नो पराजय स्वीकार भने गरिसकेका छैनन् । पेन्सिलभेनिया, मिसिगन, जर्जिया, मैन लगायतका राज्यहरुले नतिजा प्रमाणिकरण गरिसकेका छन् ।
पेन्सिलभेनियाका सेक्रेटरी अफ स्टेटले मंगलबार जो बाइडेनको जीतको घोषणा गर्दै चुनावको अन्तिम नतिजा प्रमाणिकरण गरेका थिए । पेन्सिलभेनियामा बाइडेनले डोनाल्ड ट्रम्पको तुलनामा ८० हजारभन्दा धेरै मत ल्याएर विजय प्राप्त गरेका हुन् ।
पेन्सिलभेनियामा सोमबार नै प्रमाणिकरण गर्ने अपेक्षा गरिएपनि केही काउन्टीको प्रमाणिकरणमा ढिलाई भएका कारण मंगलबारमात्र प्रमाणिकरण गरिएको थियो ।
मिसिगन, पेन्सिलभेनिया र मैनमा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर २३ सोमबार सम्म रहेकोमा मिसिगन र मैनले सोमबार नै प्रमाणिकरण गरेका थिए । यद्यपी पेन्सिलभेनियामा प्रमाणिकरण गर्ने कडा डेडलाइन भने थिएन ।
मिनेसोटा, नर्थ क्यारोलिना र नेभाडाले पनि चुनावको नतिजा प्रमाणिकरण गरिसकेका छन् । एरिजोना, आयोवा र नेब्रास्कामा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर ३० सम्म रहेको छ । एरिजोनामा बाइडेनले जीतेका छन् भने आयोवामा ट्रम्पले जितेका छन् । नेब्रास्कामा ट्रम्पले जितेपनि दोश्रो संसदीय डिस्ट्रिक्टको १ इलेक्टोरल मत बाइडेनले जितेका छन् । एरिजोनामा रिपब्लिकनहरुले प्रमाणिकरण ढिलो गराउने प्रयास गरेपनि आयोवा र नेब्रास्कामा विवाद छैन ।
विसकन्सिमा डिसेम्बर १ सम्म चुनावी नतिजा प्रमाणिकरण गर्नुपर्ने डेडलाइन रहेको छ । विसकन्सिनमा काउन्टी स्तरको प्रमाणिकरण पूरा भइसकेको छ । तर ट्रम्प पक्षले आंशिक रुपमा पुनगणनाको माग गरिरहेको छ ।
डिसेम्बर ८ मंगलबार मुख्य दिन रहेको छ । यो दिनसम्म राज्यहरुले सबै विवाद समाधान गरेर परिणाम प्रमाणिकरण गरेर पठाएको खण्डमा परिणामबिरुद्ध बाँकी मुद्दामामला हुनेछैन । त्यसपछि ट्रम्प र बाइडेनले इलेक्टोरल कलेजका लागि आफ्ना प्रतिनिधिहरु पठाउनेछन् । त्यसपछि डिसेम्बर १४ मा इलेक्टरहरुले मतदान गरेर राष्ट्रपति चयन गर्नेछन् ।
जनवरी ६ मा संसदले इलेक्टोरल मत गणना गरेर नतिजा घोषणा गर्नेछ । त्यसपछि जनवरी २० मा अमेरिकी राष्ट्रपतिले पदभार ग्रहण गर्नेछन् ।
यसैबीच डोनाल्ड ट्रम्प पक्षको आग्रहपछि जर्जियामा मंगलबारदेखि तेश्रो पटक मतगणना सुरु गरिएको छ । तेश्रो पटकको मतगणना डिसेम्बर २ मा समाप्त हुनेछ । दोश्रोपटक हातैले मतगणना गरेर नतिजा प्रमाणिकरण गरे लगत्तै ट्रम्प अभियानका तर्फबाट तेश्रोपटक मतगणनाका लागि अनुरोध गरिएको थियो ।
जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जर र गभर्नर ब्रायन केम्पले जर्जियाको चुनावको परिणामको औपचारिक प्रमाणिकरण गरिसकेका छन् । जर्जियाका सेक्रेटरी अफ स्टेट र गभर्नर दुबै रिपब्लिकन हुन् । उनीहरुले बाइडेनको जीतलाई औपचारिक रुपमा प्रमाणिकरण गरेपनि ट्रम्प पक्षले अर्को मतगणनाको माग गरेको थियो ।
जर्जियामा पुन मत गणनाका लागि कुनै बाध्यकारी नियम नभएपनि शुन्य दशमलव ५ प्रतिशतभन्दा कम मतअन्तर रहेको खण्डमा पुनस् गणनाको अनुरोध गर्न सकिने भएकाले यही नियममा टेकेर ट्रम्प अभियानले पुन मतगणनाको अनुरोध गरेको हो । अहिले शुन्य दशमलव ३ प्रतिशत मतअन्तर रहेको छ ।
तर पहिलेजस्तो हातैले भने गणना गरिनेछैन । मतपत्रहरु मेसिनमा स्क्यान गरेरमात्र गणना गरिने राज्यको नियम रहेको छ । जर्जियामा बाइडेनले ट्रम्पको तुलनामा १२ हजार ६ सय बढी मत ल्याएका छन् ।