पेन्सिलभेनियाबाट पनि बाइडेनको जीतको औपचारिक प्रमाणिकरण
प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार
पेन्सिलभेनियाका सेक्रेटरी अफ स्टेटले मंगलबार जो बाइडेनको जीतको घोषणा गर्दै चुनावको अन्तिम नतिजा प्रमाणिकरण गरेका छन् । पेन्सिलभेनियामा बाइडेनले डोनाल्ड ट्रम्पको तुलनामा ८० हजारभन्दा धेरै मत ल्याएर विजय प्राप्त गरेका छन् ।
ट्रम्प अभियानले पेन्सिलभेनियामा बाइडेनको जीत उल्टाउने आशामा पुनरावेदन अदालतमा जानेबारे विचार गरिरहेको जनाइएको छ । संघीय अदालतका न्यायाधिसले यसभन्दा अगाडि नै ट्रम्प अभियानको मुद्दा खारेज गरिदिएका थिए । पेन्सिलभेनियामा सोमबार नै प्रमाणिकरण गर्ने अपेक्षा गरिएपनि केही काउन्टीको प्रमाणिकरणमा ढिलाई भएका कारण आजमात्र प्रमाणिकरण गरिएको हो ।
मिसिगन, पेन्सिलभेनिया र मैनमा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर २३ सोमबार सम्म रहेकोमा मिसिगन र मैनले सोमबार नै प्रमाणिकरण गरेका थिए । यद्यपी पेन्सिलभेनियामा प्रमाणिकरण गर्ने कडा डेडलाइन भने थिएन ।
मिनेसोटा, नर्थ क्यारोलिना र ओहायोमा आज मंगलरबारको डेडलाइन रहेको छ । मिनेसोटामा बाइडेनले जितेका छन् भने नर्थ क्यारोलिना र ओहायोमा ट्रम्पले जितेका छन् । यी राज्यहरुमा खासै विवाद देखिएको छैन ।
एरिजोना, आयोवा र नेब्रास्कामा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर ३० सम्म रहेको छ । एरिजोनामा बाइडेनले जीतेका छन् भने आयोवामा ट्रम्पले जितेका छन् । नेब्रास्कामा ट्रम्पले जितेपनि दोश्रो संसदीय डिस्ट्रिक्टको १ इलेक्टोरल मत बाइडेनले जितेका छन् । एरिजोनामा रिपब्लिकनहरुले प्रमाणिकरण ढिलो गराउने प्रयास गरेपनि आयोवा र नेब्रास्कामा विवाद छैन ।
नेभाडा र विसकन्सिमा डिसेम्बर १ सम्म चुनावी नतिजा प्रमाणिकरण गर्नुपर्ने डेडलाइन रहेको छ । नेभाडामा बाइडेनले जीतेपनि ट्रम्प पक्षधरले आफूले जितेको दावी गर्दै मुद्दा दायर गराएका छन् । विसकन्सिनमा काउन्टी स्तरको प्रमाणिकरण पूरा भइसकेको छ । तर ट्रम्प पक्षले आंशिक रुपमा पुनगणनाको माग गरिरहेको छ ।
डिसेम्बर ८ मंगलबार मुख्य दिन रहेको छ । यो दिनसम्म राज्यहरुले सबै विवाद समाधान गरेर परिणाम प्रमाणिकरण गरेर पठाएको खण्डमा परिणामबिरुद्ध बाँकी मुद्दामामला हुनेछैन । त्यसपछि ट्रम्प र बाइडेनले इलेक्टोरल कलेजका लागि आफ्ना प्रतिनिधिहरु पठाउनेछन् । त्यसपछि डिसेम्बर १४ मा इलेक्टरहरुले मतदान गरेर राष्ट्रपति चयन गर्नेछन् ।
जनवरी ६ मा संसदले इलेक्टोरल मत गणना गरेर नतिजा घोषणा गर्नेछ । त्यसपछि जनवरी २० मा अमेरिकी राष्ट्रपतिले पदभार ग्रहण गर्नेछन् ।
यसैबीच डोनाल्ड ट्रम्प पक्षको आग्रहपछि जर्जियामा मंगलबारदेखि तेश्रो पटक मतगणना सुरु गरिएको छ । तेश्रो पटकको मतगणना डिसेम्बर २ मा समाप्त हुनेछ । दोश्रोपटक हातैले मतगणना गरेर नतिजा प्रमाणिकरण गरे लगत्तै ट्रम्प अभियानका तर्फबाट तेश्रोपटक मतगणनाका लागि अनुरोध गरिएको थियो ।
जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जर र गभर्नर ब्रायन केम्पले जर्जियाको चुनावको परिणामको औपचारिक प्रमाणिकरण गरिसकेका छन् । जर्जियाका सेक्रेटरी अफ स्टेट र गभर्नर दुबै रिपब्लिकन हुन् । उनीहरुले बाइडेनको जीतलाई औपचारिक रुपमा प्रमाणिकरण गरेपनि ट्रम्प पक्षले अर्को मतगणनाको माग गरेको थियो ।
जर्जियामा पुन मत गणनाका लागि कुनै बाध्यकारी नियम नभएपनि शुन्य दशमलव ५ प्रतिशतभन्दा कम मतअन्तर रहेको खण्डमा पुनस् गणनाको अनुरोध गर्न सकिने भएकाले यही नियममा टेकेर ट्रम्प अभियानले पुन मतगणनाको अनुरोध गरेको हो । अहिले शुन्य दशमलव ३ प्रतिशत मतअन्तर रहेको छ ।
तर पहिलेजस्तो हातैले भने गणना गरिनेछैन । मतपत्रहरु मेसिनमा स्क्यान गरेरमात्र गणना गरिने राज्यको नियम रहेको छ । जर्जियामा बाइडेनले ट्रम्पको तुलनामा १२ हजार ६ सय बढी मत ल्याएका छन् ।