ट्रम्प पक्षको आग्रहपछि जर्जियामा तेश्रो पटक मतगणना गरिने


प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार

ट्रम्प पक्षको आग्रहपछि जर्जियामा तेश्रो पटक मतगणना गरिने भएको छ । दोश्रोपटक हातैले पुन: मतगणना गरेर नतिजा प्रमाणिकरण गरे लगत्तै ट्रम्प अभियानका तर्फबाट शनिबार पुन: तेश्रोपटक मतगणनाका लागि अनुरोध गरिएको हो ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जर र गभर्नर ब्रायन केम्पले जर्जियाको चुनावको परिणामको औपचारिक प्रमाणिकरण गरिसकेका छन् । जर्जियाका सेक्रेटरी अफ स्टेट र गभर्नर दुबै रिपब्लिकन हुन् । उनीहरुले बाइडेनको जीतलाई औपचारिक रुपमा प्रमाणिकरण गरेपनि ट्रम्प पक्षले अर्को मतगणनाको माग गरेको हो ।

जर्जियामा पुन गणनाका लागि कुनै बाध्यकारी नियम छैन । तर शुन्य दशमलव ५ प्रतिशतभन्दा कम मतअन्तर रहेको खण्डमा पुन गणनाको अनुरोध गर्न सकिन्छ । अहिले शुन्य दशमलव ३ प्रतिशत मतअन्तर रहेको अवस्थामा ट्रम्प पक्षले मतगणनाको माग गरेको हो ।

तर पहिलेजस्तो हातैले भने गणना गरिनेछैन । मतपत्रहरु मेसिनमा स्क्यान गरेरमात्र गणना गरिने राज्यको नियम रहेको छ । जर्जियामा बाइडेनले ट्रम्पको तुलनामा १२ हजार ६ सय बढी मत ल्याएका छन् । सेक्रेटरी अफ स्टेटले काउन्टीका निर्वाचन अधिकारीहरुलाई पुन मतगणनाका लागि तयार रहन सुचित गरिसकेका छन् ।

जर्जियाका अधिकारीहरुले हातैले गरिएको दोश्रो मतगणनाको रिपोर्ट बिहिबार सार्वजनिक गरेका थिए । बाइडेन र ट्रम्पबीचको मार्जिन कम भएपछि पुन हातैले गणना गरिएको थियो । जर्जियामा डेडलाइन अगाडि नै प्रमाणिकरण भइसकेको छ ।

त्यस्तै मिसिगन, पेन्सिलभेनिया र मैनमा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर २३ सम्म रहेको छ । यी तीनवटै राज्यमा बाइडेनले चुनाव जितेका छन् । मैनको दोश्रो संसदीय जिल्लाबाट ट्रम्पले एक इलेक्टोरल मत जितेका छन् ।

पेन्सिलभेनियामा प्रमाणिकरण गर्ने कडा डेडलाइन नरहेपनि सोमबारसम्म प्रमाणिकरण गर्ने तालिका छ । मैनमा भने खास विवाद नरहेकाले कुनै समस्या देखिएको छैन ।

मिनेसोटा, नर्थ क्यारोलिना र ओहायोमा नोभेम्बर २४ को डेडलाइन रहेको छ । मिनेसोटामा बाइडेनले जितेका छन् भने नर्थ क्यारोलिना र ओहायोमा ट्रम्पले जितेका छन् । यी राज्यहरुमा खासै विवाद देखिएको छैन ।

एरिजोना, आयोवा र नेब्रास्कामा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर ३० सम्म रहेको छ । एरिजोनामा बाइडेनले जीतेका छन् भने आयोवामा ट्रम्पले जितेका छन् । नेब्रास्कामा ट्रम्पले जितेपनि दोश्रो संसदीय डिस्ट्रिक्टको १ इलेक्टोरल मत बाइडेनले जितेका छन् । एरिजोनामा रिपब्लिकनहरुले प्रमाणिकरण ढिलो गराउने प्रयास गरेपनि आयोवा र नेब्रास्कामा विवाद छैन ।

नेभाडा र विसकन्सिमा डिसेम्बर १ सम्म चुनावी नतिजा प्रमाणिकरण गर्नुपर्ने डेडलाइन रहेको छ । नेभाडामा बाइडेनले जीतेपनि ट्रम्प पक्षधरले आफूले जितेको दावी गर्दै मुद्दा दायर गराएका छन् । विसकन्सिनमा काउन्टी स्तरको प्रमाणिकरण पूरा भइसकेको छ । तर ट्रम्प पक्षले आंशिक रुपमा पुनगणनाको माग गरिरहेको छ ।

डिसेम्बर ८ मंगलबार मुख्य दिन रहेको छ । यो दिनसम्म राज्यहरुले सबै विवाद समाधान गरेर परिणाम प्रमाणिकरण गरेर पठाएको खण्डमा परिणामबिरुद्ध बाँकी मुद्दामामला हुनेछैन । त्यसपछि ट्रम्प र बाइडेनले इलेक्टोरल कलेजका लागि आफ्ना प्रतिनिधिहरु पठाउनेछन् । त्यसपछि डिसेम्बर १४ मा इलेक्टरहरुले मतदान गरेर राष्ट्रपति चयन गर्नेछन् ।

जनवरी ६ मा संसदले इलेक्टोरल मत गणना गरेर नतिजा घोषणा गर्नेछ । त्यसपछि जनवरी २० मा अमेरिकी राष्ट्रपतिले पदभार ग्रहण गर्नेछन् ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com