जर्जियामा बाइडेनको जीत औपचारिक रुपमा प्रमाणिकरण गरिदै, अरु ब्याटलग्राउण्ड राज्यले कहिले गर्दैछन् ?


प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार

(नोटः जर्जियाका सेक्रेटरी अफ स्टेटले प्रमाणिकण भइसकेको वक्तब्य सच्याएर प्रमाणिकरण प्रकृयामा नै रहेको बताए अनुशार समाचार अपडेट गरिएको छ । – सम्पादक)

ब्याटलग्राउण्ड राज्य जर्जियामा दोश्रोपटक हातैले मत गन्दा पनि डोनाल्ड ट्रम्प पराजित भएपछि जर्जियाले जो बाइडेनको जीतको औपचारिक प्रमाणिकरण गर्दैछ । जर्जियाले प्रमाणिकरण गर्ने डेडलाइन आज बेलुका ५ बजेसम्म रहेकोमा त्यसअगाडि नै औपचारिक रुपमा प्रमाणिकरण गरिएको घोषणा गरिएको थियो । तर पछि जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जरले प्रमाणिकरण पूरा नभएको तर प्रकृयामा रहेको भन्दै अगाडिको वक्तब्य सच्याएका छन् ।

सेक्रेटरी अफ स्टेटले प्रमाणिकरण गरेपछि प्रमाणित नतिजा त्यहाँका गभर्नर ब्रायन केम्पसमक्ष बुझाइनेछ । उनले नजिता स्वीकार गर्नका लागि शनिबार दिउसोसम्मको अवधि रहेको छ । ट्रम्प अभियानले मंगलबारसम्म पुन गणनाको अनुरोध गर्नसक्नेछन् ।

जर्जियामा पुन गणनाका लागि कुनै बाध्यकारी नियम छैन । तर शुन्य दशमलव ५ प्रतिशतभन्दा कम मतअन्तर रहेको खण्डमा पुन गणनाको अनुरोध गर्न सकिन्छ । अहिले शुन्य दशमलव ३ प्रतिशत मतअन्तर रहेको छ ।

प्रमाणिकरण पछि पनि पुन गणना गर्न अनुरोध भएको खण्डमा हातैले भने गणना गरिनेछैन । मतपत्रहरु मेसिनमा स्क्यान गरेरमात्र गणना गरिने राज्यको नियम रहेको छ ।

जर्जियाका अधिकारीहरुले हातैले गरिएको दोश्रो मतगणनाको रिपोर्ट बिहिबार सार्वजनिक गरेका थिए । बाइडेन र ट्रम्पबीचको मार्जिन कम भएपछि पुन हातैले गणना गरिएको थियो ।

हातैले गरेको गणना अनुशार बाइडेनले २४ लाख ७५ हजार १ सय ४१ मत ल्याएका छन् भने ट्रम्पले २४ लाख ६२ हजार ८ सय ५७ मत ल्याएका छन् । अर्थात ट्रम्पले भन्दा बाइडेनले १२ हजार २ सय ८४ मत बढी ल्याएका छन् । पहिलोपटकको गणनामा ट्रम्पले भन्दा बाइडेनले १२ हजार ७ सय ८० मत बढी ल्याएका थिए । तर दोश्रोपटकको गणनामा मार्जिन ४ सय ९६ मतले कम भएको छ ।

पहिलोपटकको मतगणनामा ४९ लाख ९५ हजार ३ सय २३ मत गणना गरिएको थियो भने दोश्रोपटक गणना गर्दा ५० लाख ५ सय ८५ मत गणना गरिएको छ । अर्थात् पहिलोपटकको तुलनामा ५ हजार २ सय ६२ मत बढी भेटिएका छन् । यी मतहरु पहिलोपटकमा स्क्यानगर्न छुटेकाले दोश्रोपटक गणनामा परेका हुन् । चारवटा काउन्टीमा गणना हुन बाँकी यी मतहरु भेटिएका हुन् ।

हातैले गणना नगरेको भएतापनि प्रमाणिकरण हुनुभन्दा अगाडि यी मतपत्रहरु भेटिने र गणनामा समावेश गरिने अधिकारीहरुले बताएका छन् । यद्यपी यी मतपत्रहरुले परिणाममा फरक भने ल्याउन सकेन ।

चुनावको प्रमाणिकरण डेडलाईन कुन ब्याटलग्राउण्ड राज्यमा कहिले ?

मिसिगन, पेन्सिलभेनिया र मैनमा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर २३ सम्म रहेको छ । यी तीनवटै राज्यमा बाइडेनले चुनाव जितेका छन् । मैनको दोश्रो संसदीय जिल्लाबाट ट्रम्पले एक इलेक्टोरल मत जितेका छन् ।

अमेरिकाको हरेक राज्यको इलेक्टोरल मत संख्या

मिसिगनमा सोमबार गणकहरुको बैठक राखिएको छ । यसैबीच शुक्रबार ट्रम्पले त्यहाँका रिपब्लिकन सांसदहरुसँग ह्वाइटहाउसमा बैठक समेत राखेका थिए । पेन्सिलभेनियामा प्रमाणिकरण गर्ने कडा डेडलाइन नरहेपनि सोमबारसम्म प्रमाणिकरण गर्ने तालिका छ । मैनमा भने खास विवाद नरहेकाले कुनै समस्या देखिएको छैन ।

मिनेसोटा, नर्थ क्यारोलिना र ओहायोमा नोभेम्बर २४ को डेडलाइन रहेको छ । मिनेसोटामा बाइडेनले जितेका छन् भने नर्थ क्यारोलिना र ओहायोमा ट्रम्पले जितेका छन् । यी राज्यहरुमा खासै विवाद देखिएको छैन ।

एरिजोना, आयोवा र नेब्रास्कामा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर ३० सम्म रहेको छ । एरिजोनामा बाइडेनले जीतेका छन् भने आयोवामा ट्रम्पले जितेका छन् । नेब्रास्कामा ट्रम्पले जितेपनि दोश्रो संसदीय डिस्ट्रिक्टको १ इलेक्टोरल मत बाइडेनले जितेका छन् । एरिजोनामा रिपब्लिकनहरुले प्रमाणिकरण ढिलो गराउने प्रयास गरेपनि आयोवा र नेब्रास्कामा विवाद छैन ।

नेभाडा र विसकन्सिमा डिसेम्बर १ सम्म चुनावी नतिजा प्रमाणिकरण गर्नुपर्ने डेडलाइन रहेको छ । नेभाडामा बाइडेनले जीतेपनि ट्रम्प पक्षधरले आफूले जितेको दावी गर्दै मुद्दा दायर गराएका छन् । विसकन्सिनमा काउन्टी स्तरको प्रमाणिकरण पूरा भइसकेको छ । तर ट्रम्प पक्षले आंशिक रुपमा पुनगणनाको माग गरिरहेको छ ।

डिसेम्बर ८ मंगलबार मुख्य दिन रहेको छ । यो दिनसम्म राज्यहरुले सबै विवाद समाधान गरेर परिणाम प्रमाणिकरण गरेर पठाएको खण्डमा परिणामबिरुद्ध बाँकी मुद्दामामला हुनेछैन । त्यसपछि ट्रम्प र बाइडेनले इलेक्टोरल कलेजका लागि आफ्ना प्रतिनिधिहरु पठाउनेछन् । त्यसपछि डिसेम्बर १४ मा इलेक्टरहरुले मतदान गरेर राष्ट्रपति चयन गर्नेछन् ।

जनवरी ६ मा संसदले इलेक्टोरल मत गणना गरेर नतिजा घोषणा गर्नेछ । त्यसपछि जनवरी २० मा अमेरिकी राष्ट्रपतिले पदभार ग्रहण गर्नेछन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com