बाइडेनको कार्यकाल कमजोर वा बलियो हुने कुराको मुख्य निर्धारक अब जर्जिया
प्रकाशित मिति : कार्तिक २५, २०७७ मंगलबार
अमेरिकी राष्ट्रपतिको चुनाव डेमोक्रेटिक उम्मेदबार जो बाइडेनले जीतेका छन् । तर संसदमा कायम हुने नियन्त्रणबाट समेत कार्यकाल कस्तो हुने भन्ने कुराको निर्धारण हुनेछ ।
किनभने यदि सिनेटमा डेमोक्रेटिक पार्टीको नियन्त्रण कायम नभएको खण्डमा बाइडेनको कार्यकाल कमजोर हुनेछ । सिनेटमा डेमोक्र्याट्सले नियन्त्रण कायम गर्न नसकेको खण्डमा कैयन नियुक्तीदेखि बिल पारित गर्दासम्म सिनेटमा रिपब्लिकनको अवरोध खप्नुपर्नेछ ।
अहिलेसम्मको परिणाम अनुशार सिनेटमा एकसयसिटमध्ये ४८ मा डेमोक्र्याट्स र ४९ मा रिपब्लिकनले जीतेका छन् । अलास्कामा रिपब्लिकनहरुको अग्रता कायम भएको जित्ने लगभग निश्चित नै छ । यसरी हेर्दा अब सबैको ध्यान जर्जिया तिर नै रहेको छ ।
जर्जियाबाट सिनेटका २ सिटमा भएको चुनावमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेका कारण त्यहाँ आगामी जनवरीमा पुन विशेष चुनाव हुने भएको छ । किनभने जर्जियाको नियम अनुशार सिनेटरमा निर्वाचित हुनका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक छ । अब सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदबारबीच जर्जियामा प्रतिस्पर्धा हुनेछ ।
जर्जियाका दुबै सिट डेमोक्र्याट्सले जीतेको खण्डमा सिनेटमा दुबै पार्टीका बराबर सिट हुनेछन् । तर जर्जियाका दुबै सिट जित्न डेमोक्र्याट्सलाई सहज छैन । रिपब्लिकनको पकड रहदै आएको जर्जिया अहिले ब्याटलग्राउण्ड भएको छ ।
विगत १६ बर्ष देखि जर्जियाबाट सिनेटका दुबै सिटहरु रिपब्लिकनले जित्दै आएका छन् । यद्यपी जर्जियामा सिनेटमा कैयन डेमोक्रेटिक उम्मेदबारहरुले जीतेको इतिहास पनि छ । सन् १९९६ मा डेमोक्रेटिक सिनेटर म्याक्स क्लेल्याण्ड र सन् २००० मा डेमोक्रेटिक सिनेटर जेल मिलरले चुनाव जितेका थिए ।
सन् १९८० भन्दा अगाडि १९७७ सम्म जर्जियाबाट सिनेटका दुबै सिटमा डेमोक्रेटिक उम्मेदबारहरुले नै जित्दै आएका थिए । यसपटक जर्जियाले कस्तो अभिमत दिनेछ, त्यो थाहा पाउन भने जनवरीको पहिलो सातासम्म कुर्नुपर्नेछ ।