जर्जियाका ३ वटा काउन्टीमा भोलि विहानसम्मका लागि मतगणना स्थगित, क्लेटन काउन्टीमा आजै
प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार
जर्जियाका कम्तीमा ३ वटा काउन्टीमा भोलि विहानसम्मका लागि मतगणना स्थगित गरिएको छ । अहिले राती भएका कारण अब बाँकी मत भोलि गणना गर्ने गरी ती काउन्टीहरुमा मतगणना स्थगित गरिएको हो ।
मत गणना स्थगित गरिएकाहरुमा कब काउन्टी र टेलर काउन्टी समेत छन् । त्यस्तै ग्वीनेट काउन्टीमा पनि मतगणना स्थगित गरिएको छ । कब काउन्टीमा ७ सय, टेलर काउन्टीमा ४५६ र ग्वीनेट काउन्टीमा ४८ सय मत गणना गर्न बाँकी छ । कब काउन्टी र ग्वीनेट काउन्टीमा अधिकतम मत बाइडेनका पक्षमा देखिएका छन् भने टेलर काउन्टीमा ट्रम्पका पक्षमा देखिएका छन् ।
अहिलेसम्मको जर्जियाको मत परिणाम अनुशार ट्रम्प १७७५ मतले अगाडि छन् । बाइडेनको पक्षमा अत्याधिक मत रहेको क्लेटन काउन्टी र ट्रम्पको पक्षमा अत्याधिक मत रहेको फोर्सिथ काउन्टीमा मतगणना भइरहेको छ । क्लेटन काउन्टीमा ४३५५ र फोर्सिथ काउन्टीमा १५४५ मत गणना गर्न बाँकी छ ।
क्लेटन काउन्टीका सबै मत आजैराती गणना गरिने भएको छ । मध्यरातसम्म ती मत गणना भइसक्ने अनुमान गरिएको छ । मध्यरात सम्म हरेक आधा घण्टामा नतिजा प्रकाशित गरिने भएको छ ।
जर्जियामा झण्डै १४ हजार मतगणना गर्न बाँकी रहेको जनाइएको छ । गणना गर्न बाँकी रहेकामध्ये झण्डै ४ हजार मत ट्रम्पको पकड रहेको मानिएका क्षेत्रबाट र १० हजार मत बाइडेनको पकड रहेको मानिएका क्षेत्रबाट रहेका छन् ।
१६ इलेक्टोरल मत रहेको जर्जियामा बाइडेनका पक्षमा २४ लाख ४५ हजार ५ सय ६८ मत आएको छ भने ट्रम्पका पक्षमा २४ लाख ४७ हजार ३ सय ४२ मत आएको छ । मतको अन्तर शुन्य दशमलव १ प्रतिशत भन्दा पनि कम रहेको छ ।
जर्जियामा सेनाका सदस्यहरुले हुलाकमार्फत पठाएका मतपत्रहरु भने शुक्रबार बेलुका ५ सम्म प्राप्त भएपछि गणना सुरु गरिनेछ । तर त्यस्ता मतपत्र कति छन् भन्नेबारे केही बताइएको छैन ।