कस्ले जित्ला पेन्सिलभेनिया र फ्लोरिडा ?
प्रकाशित मिति : कार्तिक १५, २०७७ शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/07/Biden-trump.jpg?fit=1200%2C675&ssl=1)
अमेरिकी राष्ट्रपति चुनावको मुख्य दिन नजिकिदै गर्दा प्रायको ध्यान यतिखेर पेन्सिलभेनिया र फ्लोरिडामा केन्द्रीत भइरहेको छ । २० इलेक्टोरल मत भएको पेन्सिलभेनिया र २९ इलेक्टोरल मत रहेको फ्लोरिडाले यसपटकको राष्ट्रपति चुनावमा लगभग निर्णायक भूमिका खेल्ने देखिएको छ ।
अहिलेसम्म वासिंटन, ओरेगन, क्यालिफोर्निया, न्युयोर्क लगायतका राज्यबाट राष्ट्रपति उम्मेदवार जो बाइडेनका पक्षमा १८३ र टेक्सास समेत जोड्दा डोनाल्ड ट्रम्पका पक्षमा १६३ इलेक्टोरल मत आउने देखिएको छ । यद्यपी यसपटक नर्थ क्यारोलिना, फ्लोरिडामात्र होइन विगतमा रिपब्लिकनको पकड रहेको जर्जिया समेत ब्याटलग्राउण्ड राज्यका रुपमा देखिएको छ ।
झण्डै ६४ लाख मतदाता रहेको पेन्सिलभेनियामा अहिलेसम्म झण्डै २४ लाखले मतदान गरिसकेका छन् । मतदान गरेकाहरुमध्ये १५ लाख ७३ हजार रजिस्टर्ड डेमोक्र्याटहरु हुन् भने ५ लाख ४२ हजार रजिस्टर्ड रिपब्लिकन हुन् । अरु झण्डै साढे २ लाख कुनै पनि पार्टीमा आवद्ध नरहेकाहरु हुन् । यही ट्रेण्ड कायम रहेमा पेन्सिलभेनियामा बाइडेनले जित्ने देखिन्छ ।
त्यस्तै फ्लोरिडामा ८२ लाखले मतदान गरिसकेका छन् । यो कुल मतदाता संख्याको ५९ प्रतिशत हो । मतदान गरेकाहरुमध्ये ३२ लाख ७६ हजार रजिस्टर्ड डेमोक्र्याट र ३१ लख ६० हजार रजिस्टर्ड रिपब्लिकनहरु रहेका छन् । तर फ्लोरिडामा झण्डै साढे १७ लाख कुनै पनि पार्टीमा आवद्ध नरहेका मतदाताहरुले भोट हालेकाले चुनावी परिणाम सहजै अनुमान गर्न कठिन छ ।
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/10/votes-college-state.jpg?resize=667%2C500&ssl=1)
अहिलेसम्म अमेरिकामा ९ करोड १२ लाख भन्दा धेरैले हुलाकबाट मतपत्र पठाएर र अग्रिम मतदानमा सहभागी भएर मतदान गरिसकेका छन् । सन् २०१६ को चुनावमा १३ करोड ८८ लाखले मतदान गरेका थिए भने यसपटक चुनावको मुख्य दिन नआउँदै त्यसको दुईतिहाईले मतदान गरिसकेका छन् ।
यसपटक झण्डै साढे २५ करोड अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् भने ६५ प्रतिशत भन्दा धेरैले मतदान गर्ने अपेक्षा गरिएको छ । अमेरिकामा यसपटक मतदानका लागि योग्य नेपाली अमेरिकनहरुको संख्या पनि ५० हजार भन्दा धेरै रहेको अनुमान गरिएको छ ।
बढी मत ल्याउनेले पनि हार्नसक्छ
अमेरिकी राष्ट्रपति चुनावको अनौठो पक्ष के छ भने चुनावमा बढी मत ल्याउनेले समेत चुनाव हार्नसक्छ । अमेरिकी इतिहासमा यस्तो कैयन पटक भएको छ ।
सन् २००० मा भएको राष्ट्रपति चुनावमा एल गोरले ५ करोड ९ लाख ९९ हजार ८ सय ९७ भोट ल्याए भने जर्ज बुसले ५ करोड ४ लाख ५६ हजार २ भोट ल्याए । बुसले भन्दा शुन्य दशमलव ५ प्रतिशत बढी भोट एल गोरले ल्याएका थिए । तर चुनाव जीते बुसले ।
त्यस्तै सन् २०१६ को राष्ट्रपति चुनावमा हिलारी क्लिन्टनले ६ करोड ५८ लाख ५३ हजार ५ सय १४ भोट ल्याइन् । तर ट्रम्पले त्यो भन्दा कम ६ करोड २९ लाख ८४ हजार ८ सय २८ भोट ल्याए । अर्थात् ट्रम्पले भन्दा हिलारीले झण्डै साढे २८ लाख बढी भोट ल्याइन् । तरपनि चुनाव भने ट्रम्पले नै जीते ।
यस्तो सन् १८८८ र १८७६ को चुनावमा पनि भएको छ । यस्तो घटना १८२४ मा पनि भएको थियो, तर त्यतीबेला ६ वटा राज्यहरुमा इलेक्टरहरु नियुक्त गरिएका कारण प्रकृया अलिकति फरक थियो ।
कसरी हुन्छ यस्तो ?
अमेरिकी राष्ट्रपति चुनाव पूर्णरुपमा प्रत्यक्ष चुनाव होइन । अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् ।
त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।
यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।
५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।
सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए ।
सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।
त्यस्तै सन् २०१६ को चुनावमा ट्रम्पले ३०४ इलेक्टोरल भोट पाएका थिए भने हिलारीले २२७ इलेक्टोरल भोट पाएकी थिइन् । डेमोक्रेटिक समर्थकहरुको बाहुल्य रहेका राज्यहरुमा हिलारीले भारी मतान्तरले ट्रम्पलाई पराजित गर्दा र रिपब्लिकिनका पकड भएका क्षेत्रहरुमा ट्रम्पले हिलारीलाई झिनो मतान्तरले पराजित गर्दा कुल मत बढी प्राप्त गर्दा पनि हिलारीले चुनाव भने जित्न सकिनन् ।
अझ रोचक त के छ भने इतिहासमा पपुलर भोट कम ल्याएर पनि अमेरिकी राष्ट्रपति हुनेहरु चारैजना रिपब्लिकन रहेका छन् ।
उसो त अमेरिकाको चुनाव प्रणाली परिवर्तन गर्नुपर्ने आवाज पनि नउठेको होइन । राष्टपति पपुलर भोटबाट निर्वाचित हुनुपर्ने व्यवस्थाको माग पनि हुने गरेको छ । तर अहिलेसम्म भने त्यसो हुन सकेको छैन ।