चार महिनादेखि रोकिएको श्रमस्वीकृति बिहीबारदेखि पुनः सुरु


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

कोरोना भाइरसको महामारीका कारण झन्डै चार महिनादेखि रोकिएको पुनः श्रमस्वीकृति (रि–इन्ट्री) बिहीबारबाट खुलेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने प्रक्रिया बिहीबारदेखि पुनः सुरु गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख एवं सहसचिव उमेश ढुङ्गानाले कोरोना सीसीएमसीले दिएको अख्तियारीलाई आधार मानेर श्रम मन्त्रालयले मापदण्ड तयार गर्नुका साथै बिहीबारबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको बताउनुभयो । उनका अनुसार मन्त्रालयले तत्काल अवस्थालाई मध्यनजर गरेर पुनः श्रम स्वीकृतिलाई मात्रै खुला गरिएको र नयाँलाई आवश्यकताका आधारमा मात्र खोल्न सकिने प्रावधान राखिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले श्रम मन्त्रालयले मार्ग निर्देशन तयार गरेर विभागमा पठाएसँगै पुनः श्रम स्वीकृति दिन सुरु गरिएको बताए । उनले ताहचलस्थित श्रम कार्यालयबाट बिदामा आएका तर श्रम स्वीकृति नभएर विदेश जानबाट रोकिएकालाई पुनः श्रम स्वीकृति दिन थालिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com