अमेरिकी भिसा र ग्रिनकार्ड स्पोन्सर गर्दा स्पोन्सरकर्ताले बैंकको विवरण दिनुपर्ने


प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार

अमेरिकाको आप्रवासी भिसा वा ग्रिनकार्ड स्पोन्सरगर्दा स्पोन्सरकर्ताले आफ्नो सम्पूर्ण बैंक विवरण दिनुपर्ने गरी युएससीआईएसले स्पोन्सर फर्ममा परिवर्तन गर्ने तयारी गरेको छ । युएससीआईएसले स्पोन्सर फर्म एभिडाभिट अफ सपोर्ट फर्म आई ८६४, फर्म आई ८६४ ए र फर्म आई ८६४ इजीमा परिवर्तनका लागि प्रस्ताव गरिसकेको छ ।

अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकले विदेशमा रहेका आफ्ना दम्पत्ति, छोराछोरी वा परिवारका सदस्यहरुलाई अमेरिकामा ल्याउनका लागि स्पोन्सर गर्दा यो फर्म भर्न आवश्यक छ । अब यसरी स्पोन्सर गर्दा स्पोन्सरकर्ताले अमेरिकाको संघीय सरकारलाई आफ्नो बैंक एकाउन्टको सम्पूर्ण विवरण बुझाउनुपर्नेछ । यो नियम कहिलेदेखि लागु गर्नेभन्नेबारे युएससीआईएसले छिट्टै सुचना प्रकाशित गर्नेछ ।

स्पोन्सरकर्ताले आफ्नो एकाउन्ट भएको बैंकको नाम, एकाउन्ट नम्बर, राउटिंग नम्बर, बैंक एकाउन्ट होल्डरको नाम लगायतका विवरण समेत बुझाउनुपर्नेछ । अमेरिकामा आउने व्यक्तिले प्रयाप्त बित्तिय सहायता भएको पुष्टी गर्न स्पोन्सरकर्ताका तर्फबाट यो विवरण अमेरिकी सरकारलाई बुझाउनुपर्छ । कतिपय रोजगारमा आधारित ग्रिनकार्डमा अमेरिका आउनेहरुलाई समेत यस्तो स्पोन्सरको आवश्यकता पर्छ ।

यस फारमले कानुनी रूपमा बाध्यकारी सम्झौताको रूपमा काम गर्दछ जहाँ अमेरिकाका नागरिक वा ग्रिनकार्डवाहक जसले कुनै व्यक्तिलाई स्पोन्सर गर्छन् । स्पोन्सरकर्ताले कसैलाई स्पोन्सर गर्नका लागि प्रयाप्त आम्दानी हुन जरुरी छ, जुन सामान्यतया संघीय गरिबी गाइडलाइनको १२५ प्रतिशत हुनुपर्छ ।

अहिलेसम्मको नियममा स्पोन्सर फर्म भर्दा स्पोन्सरकर्ताले नोटरी गर्न आवश्यक छैन । तर नयाँ नियम लागु भएपछि भने स्पोन्सरकर्ताले उक्त फर्म भरिसकेपछि नोटरी गरेको हुनुपर्नेछ । स्पोन्सरपछि अमेरिका आएको व्यक्तिले कुनै स्वास्थ्य, खाद्य वा आवासीय सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट असुल्ने सरकारी नियम रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com