इरानी मुलका अमेरिकनलाई प्रवेशमा अवरोध नगरिएको अमेरिकी दावी
प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

अमेरिकाले इरानी मुलका अमेरिकनहरुलाई अमेरिका प्रवेशमा अवरोध सृजना गरेको समाचारहरु आइरहँदा उक्त समाचार सही नभएको अमेरिकाले दावी गरेको छ । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरुमा इरानी मुलका अमेरिकनहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको र हिराशतमा लिइएको विवरणहरु आएका थिए ।
कस्टम एण्ड बोर्डर प्रोटेक्सनले कुनै पनि इरानी मुलका अमेरिकीहरुलाई हिराशतमा नलिइएको तथा प्रवेशमा रोक समेत नलगाइएको दावी गरेको छ । सामाजिक सञ्जालमा २४ हजार पटक शेयर गरिएको एउटा पोष्टमा सीबीपीलाई अमेरिकी मुलकका इरानीहरुलाई समेत आशंका गर्न र हिराशतमा लिन निर्देशन दिइएको दावी गरिएको थियो ।
क्यानडाबाट अमेरिका आउने क्रममा कम्तीमा ६० जना इरानीहरु र इरानी अमेरिकनहरुलाई कडा वासिंटनको पोर्ट अफ इन्ट्रीमा कडा सोधपुछ गरिएको काउन्सिल अन अमेरिकन इस्लामिक रिलेशनले दावी गरेको थियो । तर सीबीपीले भने विदाको समय भएकाले कर्मचारीहरु कम हुँदा ब्लेनको पोर्ट अफ इन्ट्रीमा शनिबार साँझ कतिपय यात्रुहरुले ४ घण्टासम्म कुर्नुपर्ने अवस्था समेत आएको स्पष्ट पारेको छ ।
वर्तमान खतरनाक वातावरणका आधारमा राष्ट्रिय सुरक्षा र अमेरिकी जनताको रक्षाका लागि पोर्ट अफ इन्ट्रीमा जाँचबुझमा कडाई गरेको भने सीबीपीले जनाएको छ ।