अध्यागमनमा कडाई गर्ने ट्रम्पको नीतिपछि ४५ अध्यागमन न्यायाधिसले छाडे जागिर


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

अमेरिकी अध्यागमनमा कडाई गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिपछि यो बर्ष ४५ जना अध्यागमन न्यायाधिसहरुले जागिर छाडेका छन् । विगतका बर्षको तुलनामा यो दोब्बर भएको जनाइएको छ ।

गत बर्ष सन् २०१८ मा २४ जना र सन् २०१७ मा २१ जना न्यायाधिसले जागिर छाडेका थिए । यसरी राष्ट्रपतिमा ट्रम्प आइसकेपछि ८० जनाभन्दा धेरै न्यायाधिसहरुले जागिर छाडिसकेका छन् ।

न्यायाधिसहरुले विभिन्न कारणले जागिर छाडेपछि पछिल्ला महिनामा जागिर छाड्ने न्यायाधिसहरुमध्ये अधिकांशले अमेरिकी अध्यागमन नीतिमा आएको परिवर्तनका कारण जागिर छाडेको बताएका छन् ।

 

एकातिर अमेरिकी अध्यागमन अदालतमा झण्डै १० लाख मुद्दाको ब्याकलग रहेको छ भने अर्कातर्फ न्यायाधिसलाई छिटो मुद्दा सकाउनका लागि दवाव सृजनागर्ने नीति समेत ट्रम्प प्रशासनले ल्याएको छ ।

अमेरिकी अध्यागमन अदालतमा सरकारको राजनीतिक हस्तक्षेप समेत रहेको छ । अध्यागमन अदालतले गरेका फैसला उल्टाउने अधिकार महान्यायाधिवक्तालाई छ । महान्यायाधिवक्ताले यो अधिकारको प्रयोग गरेर कैयन मुद्दाहरु उल्टाएका छन् ।

एकातिर न्यायाधिसहरुले जागिर छाडिरहेका छन् भने अर्काेतर्फ नयाँ न्यायाधिसहरु पनि धमाधम भर्ना गरिएको छ । डिसेम्बर महिनाको सुरुमा २८ नयाँ न्यायाधिस नियुक्त गरेर अध्यागमन न्यायाधिसको संख्या ४६५ बनाइएको छ । जुन अहिलेसम्मकै इतिहासमा उच्च हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com