अमेरिकामा विद्यार्थी र पत्रकारभिसामा आउनेलाई ‘डीएस’ स्टाटस नदिइने
प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार

अमेरिकामा पत्रकार, एक्सचेन्ज भिजिटर र विद्यार्थी भिसामा आउनेलाई अब विमानस्थलमा डीएस अर्थात् ड्युरेशन अफ स्टाटस नदिई फर्कनुपर्ने मिति नै उल्लेख गर्ने तयारी अमेरिकी सरकारले गरेको छ । अहिलेसम्म पत्रकारको आईभिसा, एक्सचेन्ज भिजिटर र विद्यार्थीको एफ भिसाका लागि अमेरिका छिर्दा फर्कने मिति उल्लेख नगरी स्टाटस कायम गरुन्जेल बस्न मिल्ने उल्लेख गरिदै आएको थियो ।

अहिलेको नियम अनुशार अमेरिकामा आई भिसामा प्रवेश गर्ने पत्रकारहरुले मिडियामा आवद्ध रहुन्जेल र एफ भिसामा प्रवेश गर्ने विद्यार्थीहरुले पढाईमा आबद्ध हुन्जेल अमेरिकामा कानुनी रुपमा नै बस्न पाउने प्रावधान रहेको थियो । तर आगामी फरबरीमा ल्याउन लागिएको नयाँ नियमले पुरानो प्रावधानलाई खारेज गर्ने भएको छ ।
डीएस स्टाटस दिंदा अमेरिकामा बस्न पाउने मितिबारे अन्यौल सृजना भएको भन्दै नयाँ नियम ल्याउन लागिएको हो । एफ, आई र जे भिसावाहकहरु नयाँ नियमबाट प्रभावित हुनेछन् । यो नियम अहिले प्रस्तावित नियमका रुपमा रहेको छ ।