अमेरिकामा मार्च १ देखि डिभी लोटरीजस्तै खुल्ने कामदार भिसाका लागि चाहिने योग्यता र प्रकृया


प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार

अमेरिकामा कामदार भिसा एचवानबीमा आउनका लागि विभिन्न योग्यता र मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।

सामान्यतया यो भिसाका लागि जागिर दिने कम्पनीले तोकिएको जागिरका लागि तलका मध्ये एउटा योग्यता पूरा हुनुपर्छ ।

एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।

कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राहीले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।

लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।

वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् । तर त्यसको लागि रोजगारदाता कम्पनीले आगामी मार्च १ देखि २० सम्म लाभग्राहीको विवरण विद्युतीय रुपमा दर्ता गराउनुपर्छ ।

यसरी दर्ता गराइएका आवेदनहरुलाई लोटरीमार्फत छनौट गरिन्छ । छनौटमा परेका आवेदनहरुकोमात्र प्रकृया अगाडि बढाइन्छ ।

त्यस्तै यो कार्यक्रममा फेशन मोडलहरु समेत सहभागी हुनसक्छन् । एचवान बी थ्री क्याटेगोरीमा योग्य हुनका लागि चर्चित फेशन मोडल हुनुबाहेक अरु कुनै योग्यता वा मापदण्डको आवश्यकता पर्दैन । तर त्यसका लागि रोजगारदाताले आवेदनसहित स्वीकृत भएको लेबर सर्टिफिकेशन फाइल गर्नुपर्छ ।

यदि तपाई अमेरिकी सरकारको रक्षा मन्त्रालय अन्तरगत शोधकर्ता वा विकाश परियोजना कार्यकर्ताका रुपमा एचवान बी टु भिसामा काम गर्न आउँदै हुनुहुन्छ लेबर सर्टिफिकेशनको समेत आवश्यकता हुँदैन । तर त्यसका लागि अमेरिकी सरकारको रक्षा मन्त्रालय अन्तरगतको परियोजना हुनुपर्छ र उक्त कामको लागि स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको व्यक्ति आवश्यक भएको पुष्टी हुनुपर्छ ।

लाभग्राहीका लागि आवश्यक योग्यता भने एचवानबीकै सरह विभिन्न चारमध्ये एउटा पूरा गरेको हुनुपर्छ ।

अमेरिकाको कामदार भिसाबारे थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।

 

दर्ता शुल्क १० डलर

अमेरिकी कामदार भिसाको आवेदन एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गर्नुपर्ने भएको छ । आवेदन आगामी मार्च १ देखि खुल्नेछ भने मार्च २० सम्म भर्न सकिनेछ ।

कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । यसरी प्राप्त आवेदनहरुलाई लोटरीको माध्यमबाट छनौट गरिनेछ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप प्रकृया सुरु हुनेछ ।

तर कामदार भिसाका लागि भने रोजगारदाता कम्पनीले आवेदन दिनुपर्छ । डिभी लोटरीमा जस्तो लाभग्राही आफैले आवेदन दिन मिल्दैन ।

यसबारेमा अमेरिकी सरकारको युएससीआईएसले जारी गरेको सुचना यहाँ हेर्नुहोला ।

नयाँ विद्युतीय प्रणालीले पेपरवर्कको काम कम गर्ने र कामदार स्पोन्सर गर्न चाहने रोजगारदाताको समेत रकम बच्ने युएससीआईएसले जनाएको छ ।

गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानकारी दिएको थियो ।

यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो ।

यसैबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ । तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

पहिलेको नियम अनुशार ६५ हजार कामदारको कोटामा अमेरिकन डिग्री नभएकाहरुमात्र सहभागी हुन पाउथें । अमेरिकन डिग्री होल्डरहरु त्यसमा मिसिन पाउँदैनथे । तर  नयाँ नियम अनुशार त्यो कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु सहभागी हुन पाउँछन् । यसो हुँदा ६५ हजारको कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु छानिन्छन् । त्यहाँ नछानिएका अमेरिकन डिग्री होल्डरहरुहरुले थप २० हजारको कोटामा पनि सहभागी हुन पाउँछन् ।

नयाँ नियमले अमेरिकन डिग्री नलिएकाहरुको एचवानबी कोटामा पनि अमेरिकन डिग्री होल्डरको अतिक्रमण बढाएको छ । अमेरिकाबाहिर पढ्नेहरुलाई भन्दा अमेरिकन डिग्री लिएकाहरुलाई मौका दिनका लागि नयाँ नियम ल्याइएको हो । अमेरिकामा डिग्री लिएर स्वेदश फर्किसकेको विद्यार्थीले पनि यो कार्यक्रमबाट लाभ लिन सक्छन् । उदाहरणका लागि कुनै नेपाली विद्यार्थी अमेरिकामा डिग्री लिएर नेपाल फर्किसकेको छ भने उसलाई नयाँ नियमले प्राथमिकतामा राख्छ ।

फेशन मोडलहरु पनि सहभागी हुन पाउने

के तपाई मोडलिङ क्षेत्रमा हुनुहुन्छ  ? के तपाईको अमेरिकामा हुने फेशन शोहरुमा सहभागी हुने सपना रहेको छ ? मार्च १ बाट विद्युतीय रुपमा डिभी लोटरी जस्तै भर्न सकिने कामदार भिसाको लोटरीमा फेसन उद्योगका मोडलहरु पनि सहभागी हुन पाउनेछन् ।

फेशन उद्योगमा रहेका मोडलहरुका लागि अमेरिकी सरकारले तीनबर्षसम्म अमेरिकाका बसेर काम गर्न मिल्ने एचवान बी थ्री भिसा उपलब्ध गराउँदै आएको छ । त्यसका लागि एउटैमात्र योग्यता भनेको चर्चित मोडल हुन जरुरी छ ।

यो भिसामा आउनका लागि अमेरिका आउन चाहने मोडलका लागि अमेरिकामा रहेको स्पोन्सर कम्पनीले आवेदन दिनुपर्छ , जसमा कामदार भिसाको ६५ हजारको कोटा लागु हुन्छ । अब यो भिसाका आगामी मार्च १ देखि २० सम्म विद्युतीय आवेदन दिनसकिने भएको छ ।

यो भिसामा मोडल ल्याउनका लागि स्पोन्सर कम्पनीले लेबर सर्टिफिकेट प्राप्त गरेको हुनुपर्छ । यो भिसाका लागि मोडल आफैले आवेदन दिन मिल्दैन, रोजगारदाता कम्पनीले १० डलर शुल्क तिरेर विद्युतीय रुपमा आवेदन दिनुपर्छ ।

लोटरीमा छानिएका आवेदनहरुमा युएससीआईएसले प्रकृया अगाडि बढाउँछ । र छानिएको खण्डमा उनीहरु एचवान बी थ्री भिसामा अमेरिकामा आउन पाउँछन् ।

एचवान बी थ्री अमेरिकी कामदार भिसा एचवानबीकै एउटा भाग हो । नयाँ विद्युतीय प्रणालीले पेपरवर्कको काम कम गर्ने र कामदार स्पोन्सर गर्न चाहने रोजगारदाताको समेत रकम बच्ने युएससीआईएसले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com