अब एकपटकभन्दा धेरै मादकपदार्थ सेवन गरेर गाडी चलाउनेलाई अमेरिकी नागरिकता नदिइने


प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार

अबदेखि अमेरिकी सरकारले एकपटकभन्दा धेरै मादकपदार्थ सेवन गरेर गाडी चलाउनेहरुलाई अमेरिकी नागरिकता नदिने भएको छ । गत अक्टोबर २५ मा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसका महान्यायाधिवक्ताले एउटा मुद्दामा निर्णय लिदै दुई वा दुईपटकभन्दा धेरै मादकपदार्थ सेवन गरेर गाडी चलाएको प्रमाणित भएकालाई राम्रो नैतिक चरित्र पुष्टी गर्न कठिन हुने फैसला गरेका थिए ।

उक्त निर्णयलाई व्यवहारिक रुपमा कार्यान्वयनका लागि युएससीआईएसले आज नयाँ निर्देशिका जारी गरेको छ । जस अनुशार अब दुई वा दुईपटकभन्दा धेरै मादक पदार्थ सेवन गरेर गाडी चलाएकाहरुले अमेरिकी नागरिकता वा असल नैतिक चरित्र आवश्यक पर्ने कुनै सुविधाका लागि आवेदन दिंदा मादक पदार्थ सेवन गरेर गाडी चलाएको बीचको अवधिमा पनि नैतिक चरित्र राम्रो भएको पुष्टी गर्न सक्नुपर्नेछ ।

यसबारे युएससीआईएसको निर्देशिका यहाँ पढ्नुहोला ।

त्यस्तै अक्टोबर २५ मा नै महान्यायाधिवक्ताले एउटा मुद्दामा निर्णय गर्दै यदि कुनै अपराध गरेको व्यक्तिलाई पछि सजाय मिनाहा वा माफी गरिएको खण्डमा पनि अध्यागन सुविधाका लागि आवेदन दिंदा सुरुमा तोकिएको सजायलाई नै मान्यता दिइने फैसला गरेका थिए । युएससीआईएसले यो नियम पनि कार्यान्वयनमा ल्याएको छ ।

युएससीआईएसले जारी गरेको वक्तब्य यस्तो छ ।

अमेरिकी अध्यागमन कानुनमा केही त्यस्ता प्रावधानहरु रहेका छन्, जस अनुशार कुनै कुनै अपराध गरेकाहरु अमेरिकामा अध्यागमन सुविधा लिन योग्य हुँदैनन् । उनीहरुलाई अमेरिकाबाट देशनिकाला गरिन्छ वा उनीहरु अध्यागमन सुविधाका लागि आवेदन दिन अयोग्य हुनेछन् । युएससीआईएसले लागु गरेको यो नियम अनुशार अमेरिकामा केही अपराध गरेर सजाय पाएका तर पछि सजाय माफ गरिएकाहरु समेत अध्यागमन सुविधा लिनबाट वञ्चित हुनसक्नेछन् ।

अमेरिकी महान्यायाधिवक्ता विलियम बारले दुईवटा निर्णयहरु गर्दै देशनिकालाबिरुद्ध लड्ने आप्रवासीका विकल्पहरुलाई खुम्च्याएका थिए। महान्यायाधिवक्ताको विशेष अधिकार प्रयोग गर्दै उनले पुरानो अपराधमा दोषी ठहरिएकालाई देशनिकाला हुनबाट जोगाउने लामो बाटो हटाइदिएका थिए ।

साथै उनले अब पटकपटक मादक पदार्थ सेवन गरेर गाडी चलाएकाहरु विभिन्न तरिकाबाट ग्रिनकार्डका लागि अयोग्य हुनसक्ने निर्णय गरेका थिए । यो कदमबाट आप्रवासीलाई देशनिकालाबाट बच्ने कममात्र उपायहरु रहेको र धेरै आप्रवासीहरु देशनिकाला हुनसक्ने भन्दै अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

महान्यायाधिवक्ताले बोर्ड अफ इमिग्रेशनमा रहेका मुद्दा आफूसमक्ष तानेर त्यसबारे निर्णय गर्न पाउने विशेषाधिकार रहेको छ । त्यस्ता मुद्दाबारे फैसला गर्दै उनले त्यसलाई नजिरका रुपमा अन्य मुद्दाका सन्दर्भमा लागु गराउन सक्ने विशेषाधिकार रहेको छ ।

पूर्व महान्यायाधिवक्ता जेफ सेसनले आफ्नो कार्यकालमा यस्ता ५ वटा मुद्दाहरु तानेर फैसला गरेका थिए भने विलियम बार पनि त्यही पदचापमा रहेका छन् । उनले अहिलेसम्म त्यस्ता कैयन मुद्दामा फैसला गरिसकेका छन् ।

नयाँ फैसलामा विलियम बारले दुई वा त्योभन्दा धेरैपटक मादक पदार्थ सेवन गरेर गाडी चलाएकालाई असल नैतिक चरित्र नभएको भन्दै ग्रिनकार्डका लागि अयोग्य सावित गरेका थिए । अमेरिकामा देशनिकालालाई रद्द गराउन र नागरिकताका लागि आवेदन दिनका लागि असल नैतिक चरित्र भएको प्रमाणित गर्नुपर्ने प्रावधान छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com