मार्च १ देखि डिभीजस्तै भर्नसकिने कामदार भिसा लोटरीमा फेशन मोडलहरु पनि सहभागी हुन पाउने


प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार

के तपाई मोडलिङ क्षेत्रमा हुनुहुन्छ  ? के तपाईको अमेरिकामा हुने फेशन शोहरुमा सहभागी हुने सपना रहेको छ ? मार्च १ बाट विद्युतीय रुपमा डिभी लोटरी जस्तै भर्न सकिने कामदार भिसाको लोटरीमा फेसन उद्योगका मोडलहरु पनि सहभागी हुन पाउनेछन् ।

फेशन उद्योगमा रहेका मोडलहरुका लागि अमेरिकी सरकारले तीनबर्षसम्म अमेरिकाका बसेर काम गर्न मिल्ने एचवान बी थ्री भिसा उपलब्ध गराउँदै आएको छ । त्यसका लागि एउटैमात्र योग्यता भनेको चर्चित मोडल हुन जरुरी छ ।

यो भिसामा आउनका लागि अमेरिका आउन चाहने मोडलका लागि अमेरिकामा रहेको स्पोन्सर कम्पनीले आवेदन दिनुपर्छ , जसमा कामदार भिसाको ६५ हजारको कोटा लागु हुन्छ । अब यो भिसाका आगामी मार्च १ देखि २० सम्म विद्युतीय आवेदन दिनसकिने भएको छ ।

यो भिसामा मोडल ल्याउनका लागि स्पोन्सर कम्पनीले लेबर सर्टिफिकेट प्राप्त गरेको हुनुपर्छ । यो भिसाका लागि मोडल आफैले आवेदन दिन मिल्दैन, रोजगारदाता कम्पनीले १० डलर शुल्क तिरेर विद्युतीय रुपमा आवेदन दिनुपर्छ ।

लोटरीमा छानिएका आवेदनहरुमा युएससीआईएसले प्रकृया अगाडि बढाउँछ । र छानिएको खण्डमा उनीहरु एचवान बी थ्री भिसामा अमेरिकामा आउन पाउँछन् ।

एचवान बी थ्री अमेरिकी कामदार भिसा एचवानबीकै एउटा भाग हो । नयाँ विद्युतीय प्रणालीले पेपरवर्कको काम कम गर्ने र कामदार स्पोन्सर गर्न चाहने रोजगारदाताको समेत रकम बच्ने युएससीआईएसले जनाएको छ ।

गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानकारी दिएको थियो । दर्ता शुल्कका सन्दर्भमा अन्तिम नियम भने आज सोमबारदेखि लागु भएको छ ।

यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो ।

यसैबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ । तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

पहिलेको नियम अनुशार ६५ हजार कामदारको कोटामा अमेरिकन डिग्री नभएकाहरुमात्र सहभागी हुन पाउथें । अमेरिकन डिग्री होल्डरहरु त्यसमा मिसिन पाउँदैनथे । तर  नयाँ नियम अनुशार त्यो कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु सहभागी हुन पाउँछन् । यसो हुँदा ६५ हजारको कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु छानिन्छन् । त्यहाँ नछानिएका अमेरिकन डिग्री होल्डरहरुहरुले थप २० हजारको कोटामा पनि सहभागी हुन पाउँछन् ।

नयाँ नियमले अमेरिकन डिग्री नलिएकाहरुको एचवानबी कोटामा पनि अमेरिकन डिग्री होल्डरको अतिक्रमण बढाएको छ । अमेरिकाबाहिर पढ्नेहरुलाई भन्दा अमेरिकन डिग्री लिएकाहरुलाई मौका दिनका लागि नयाँ नियम ल्याइएको हो । अमेरिकामा डिग्री लिएर स्वेदश फर्किसकेको विद्यार्थीले पनि यो कार्यक्रमबाट लाभ लिन सक्छन् । उदाहरणका लागि कुनै नेपाली विद्यार्थी अमेरिकामा डिग्री लिएर नेपाल फर्किसकेको छ भने उसलाई नयाँ नियमले प्राथमिकतामा राख्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com