नवनियूक्त मन्त्रीका यस्ता छन् प्रतिवद्धता


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गर्नुभएको मन्त्रिपरिषद्मा केही नयाँ र अधिकांश पुराना अनुहारका मन्त्री पर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधबार राति केही मन्त्रीलाई हटाउँदै छैटौँ मन्त्रिमण्डलको पुनर्गठन गर्नुभएको हो ।
विसं २०७५ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले त्यसपछि पटक–पटक मन्त्रिपरिषद् पुनर्गठन र हेरफेर गर्नुभएको हो । उहाँले विसं २०७५ को फागुन १५ र चैत ३ तथा २०७६ सालको जेठ १८, साउन १५, साउन १८ र मङ्सिर ४ गते मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो ।

अहिले गरिएको पुनर्गठित मन्त्रिपरिषद्मा छ जना नयाँ मन्त्री र तीन राज्यमन्त्रीलाई नयाँ जिम्मेवारी तोकिएको छ भने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको एकापसमा विभागीय मन्त्रालय हेरफेर गरिएको छ । यादवले कानून र ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्नुहुनेछ । नयाँ मन्त्रीमा पुराना अनुहारका घनश्याम भुसाल, लेखराज भट्ट, हृदयेश त्रिपाठी र रामेश्वरराय यादव रहनुभएको छ । भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, त्रिपाठी सङ्घीय मामिला तथा सामान्य प्रशासन र राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।

पुनर्गठित मन्त्रिपरिषद्मा पहिलो पटक वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङले मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । नेम्वाङ भौतिक पूर्वधार तथा यातायातमन्त्री र गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्नुभएको छ । राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएका मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर नयाँ अनुहारका हुनुहुन्छ । पाँचथरबाट निर्वाचित हुनुभएका नेम्वाङ तीन पटक प्रतिनिधिसभामा निर्वाचित भइसक्नुभएको छ । यस्तै २०७४ सालको निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजय हुनुभएका गुरुङ दोलखाबाट निर्वाचित हुनुभएको हो ।

यसैगरी कृषिमन्त्री बन्नुभएका युवा नेता भुसाल पार्टीभित्र प्रखर बौद्धिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । माक्र्सवादी दर्शनशास्त्रीका रूपमा परिचित भुसाल सरकारलाई आलोचनात्मक सुझाव दिने नेताका रूपमा समेत चिनिनुहुन्छ । यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको मन्त्रिमण्डलमा बिना विभागीयमन्त्री बन्नुभएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य भुसाल रुपन्देही–३ बाट निर्वाचित हुनुभएको हो । भुसाल २०५१ सालको उपनिर्वाचनमा समेत प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

नयाँ मन्त्रिमण्डलमा उद्योगमन्त्री बन्नुभएका भट्ट तेस्रो पटक मन्त्री हुनुभएको छ । नेकपाको सूदूरपश्चिम प्रदेशको सहइञ्चार्जसमेत हुनुभएका भट्ट कैलाली–५ बाट निर्वाचित हुनुभएको छ । यसअघि उहाँ श्रम तथा यातायात र आपूर्तिमन्त्री भइसक्नुभएको छ । भट्ट २०६४ सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित हुनुभएको हो । नवनियुक्त मन्त्री त्रिपाठीले नेकपाको चुनाव चिह्न सूर्यबाट नवलपरासी–५ बाट निर्वाचनमा विजयी हासिल गर्नुभएको थियो । पटक–पटक मन्त्री र तत्कालीन लेखासमितिको सभापतिको जिम्मेवारी त्रिपाठीले निर्वाह गरिसक्नुभएको छ ।

तत्कालीन माओवादी केन्द्रबाट सर्लाही–३ बाट विजय हासिल गर्नुभएका राय पनि यसअघि वन तथा वातावरणमन्त्री भइसक्नुभएको छ । उहाँ सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै गत २०७४ सालमा तत्कालीन नेकपा माओवादी–केन्द्रमा प्रवेश गरी निर्वाचन जित्नुभएको हो । फोरमका वरिष्ठ उपाध्यक्ष हुनुभएका उहाँ विजयकुमार गच्छदार नेपाली काँग्रेसमा प्रवेश गरे पनि माओवादीमा प्रवेश गर्नुभएको हो ।

त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्र विभागका प्रमुख प्रा डा रामकृष्ण तिवारीले मन्त्रीहरुको कार्यसम्पादन राम्रो नभएर नै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको बताउनुभयो । “अहिलेको दुई तिहाइको सरकार भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धितर्फ लैजाने प्रयत्न गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर प्रधानमन्त्रीको गतिमा केही मन्त्रीले काम गर्न सकेनन् । त्यसैले आफूसँग काम गर्ने खालका मान्छे ल्याउनका लागि मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।”

उहाँले अन्य मुलुकमा पनि प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो समूहमा काम गर्न नसक्ने मन्त्रीलाई हटाउने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पनि काम गर्न नसक्ने मन्त्रीलाई हटाउनुभएको बताउनुभयो । राजनीतिक स्थायित्व भएकाले मुलुकलाई विकास निर्माणमा लैजानका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको उहाँको भनाइ थियो । पुनर्गठित मन्त्रिमण्डलको राज्यमन्त्रीमा सबै नयाँ अनुहारका हुनुुहुन्छ । मानन्धर काठमाडौँ–७ बाट निर्वाचित हुनुभएको हो । उद्योग व्यवसायी दुगड समानुपातिकबाट सांसद हुनुभएको हो । यस्तै स्वास्थ्य राज्यमन्त्री रावत सुर्खेत–२ बाट निर्वाचित हुनुभएको हो ।

मन्त्रीहरुको प्रतिवद्धता

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com