यस्तो छ नेपालमा भिसाको जालसाजी र नक्कली कागजात रोक्ने अमेरिकी कार्यक्रम
प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार

नेपालीहरु भिसा फ्रडमा संलग्न हुने क्रममा तीब्रता आएपछि अमेरिकी सरकारले नेपालमा भिसा फ्रड पत्ता लगाउने र रोकथाम कार्यक्रम संचालन गरिरहेको छ । सन् २०१७ को नोभेम्बरमा यो कार्यक्रम सुरु भएयता नेपालबाट हुने भिसा फ्रडमा ३० प्रतिशतले कमी आएको अमेरिकी सरकारको दावी छ ।
डिप्लोम्याटिक सेक्युरिटी सर्भिस डीएसएसले नेपाली कानुन कार्यान्वयन अधिकारीहरुसँग भिसामा हुने जालसाजी रोक्न सहकार्य सुरु गरेको हो । नेपालीहरुले अमेरिकी भिसा प्राप्त गर्नका लागि नक्कली कागजात बनाउने क्रममा तीब्रता आएपछि अमेरिकी सरकारले यो कार्यक्रम लागु गरेको हो ।
अमेरिकी दूतावासको कन्सुलर सेक्सनको जालसाजी रोकथाम इकाई एफपीयुसँग अमेरिकी दूतावास काठमाडौंको एसिस्टेन्ट रिजनल सेक्युरिटी अफिसर इन्भेस्टिगेटर आर्सोे आईले सहकार्य गरिररहेको छ । जसले नक्कली भिसाका आवेदकहरुको गहिरो पुनरावलोकन गर्दै आएको छ । आर्सो आईले नक्कली भिसाको आवेदन पहिचान गर्ने सन्दर्भमा नेपाल प्रहरीलाई तालिम समेत दिइसकेको छ ।
भिसा फ्रड रोक्ने नयाँ कार्यक्रम सुरु भएको ६ महिनामा नै नेपाल प्रहरीले १७ जनालाई पक्राउ गरेका थिए भने अहिलेसम्म ६ दर्जनभन्दा धेरैलाई पक्राउ गरिसकेका छन् । गत जुनसम्म पक्राउ पर्नेहरु ६१ जना रहेका थिए । यो कार्यक्रम सुरु हुनुभन्दा अगाडि सन् २०११ देखि २०१७ सम्म नक्कली कागजात बनाउने जम्मा १२ जना पक्राउ परेका थिए ।
डिप्लोम्याटिक सेक्युरिटी सर्भिस डीएसएसले अमेरिकी कागजात सक्कली भए नभएको थाहा पाउनका लागि नेपाली अध्यागमन अधिकारीहरुलाई पनि तालिम दिएको थियो । उक्त तालिमका आधारमा उनीहरु विमानस्थलबाट व्यक्ति विमान चढ्नुअगाडि उसँग भएको कागजात सक्कली भए नभएको पत्ता लगाउँछन् । जसका कारण अमेरिकी भिसाको दुरुपयोग कम भएको अमेरिकी ठहर छ ।
खासगरी नेपालीहरुले डिभी लोटरीका सन्दर्भमा, पारिवारिक भिसाका सन्दर्भमा वा अन्य भिसाका सन्दर्भमा नक्कली कागजातहरु पेश गर्दै आएको पाइएको छ । भिजिटर भिसाका सन्दर्भमा नक्कली कागजात पेश गर्ने क्रम चर्को भएपनि अहिले दूतावासले भिजिटर भिसामा कुनै कागजात नै हेर्न छाडेको छ ।