नेपाल घुम्न जाँदा भारतीय जेलमा पुगेकी अमेरिकी पासपोर्ट वाहक फरिदाको कथा


प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार

अमेरिकाको क्यालिफोर्नियाको बे एरियामा कार्यरत इन्जिनियर हुन् फरिदा मलिक । उनी पाकिस्तानी मुलकी अमेरिकी नागरिक हुन् । जब उनले नेपालबाट भारत जाने क्रममा आफ्नो अमेरिकी अमेरिकी पासपोर्ट कतै बिर्सिइन्, त्यसपछि उनले भारतीय जेलसम्मको यात्रा गर्नुपरेको छ ।

सन् २०१९ को जुलाईमा नेपाल र भारतको सिमा क्षेत्रमा पक्राउ परेकी थिइन् फरिदा । भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको थियो उनलाई । त्यसपछि उनलाई विना उपयुक्त कागजात भारतमा प्रवेश गरेको अभियोग लगाइयो ।

त्यसपछि उनलाई एउटा ग्रामिण क्षेत्रको असुविधायुक्त जेलमा राखियो । उनी त्यही जेलमा बसेर अहिले अदालती सुनुवाई पर्खिरहेकी छिन् । अमेरिकी विदेशमन्त्रालय र क्यालिफोर्नियाका सांसदहरुले उनको सुरक्षित रिहाईका लागि पहल गरिरहेका छन् ।

उपयुक्त कागजात विना भारत प्रवेश गर्नेहरुलाई ७ सय डलर जरिवाना तिराउने व्यवस्था रहेको छ । तर भारत र पाकिस्तानबीचको दरारयुक्त सम्बन्धका कारण फरिदालाई अहिलेसम्म रिहा गरिएको छैन । चारमहिनादेखि उनलाई एउटा दुर्गम जेलमा लगेर राखिएको छ ।

यो मामलाले अहिले अमेरिकी सिनेटर कमला ह्यारिस र सांसद ज्याकी स्पेयरको समेत ध्यानाकर्षण गरेको छ । साथै भारतीय र अमेरिकी अधिकारीहरुबीचको कुटनीतिक मामला समेत बनेको छ ।

सिनेटर कमला ह्यारिसको कार्यालयले भारतमा रहेको अमेरिकी दूतावासमा सम्पर्क गरेर फरिदाको स्वास्थ्य र सुविधाबारे पहल गरिरहेको छ । ५१ बर्षकी फरिदा अहिले वर्षौ पुरानो जेलमा आधादर्जनभन्दा धेरै महिला कैदीहरुसँगै भुईमा सुत्न बाध्य भएको जनाइएको छ ।

उक्त जेलमा पुग्न नजिकको अदालतबाट ६ घण्टा बसको यात्रा गर्नुपर्ने जनाइएको छ । उनको मुद्दा अत्यन्तै सुस्त गतिमा अगाडि बढिरहेको छ । नोभेम्बरको पहिलो साताको लागि तोकिएको सुनुवाई पनि साक्षीको अनुपस्थीतिका कारण पछाडि सारिएको छ । उनलाई अधिकतम ५ बर्षको सजाय हुनसक्ने त्रास परिवारले व्यक्त गरेको छ ।

फरिदा मलिकको परिवार सन् १९८४ मा ग्रिनकार्डसहित अमेरिका आएको थियो । सन् १९९२ मा फरिदा अमेरिकी नागरिक बनेकी थिइन् ।

सन् २०१७ मा आमाको मृत्युपछि फरिदा विक्षिप्त बनेकी थिइन् । आमाको मृत्यु भएको १८ महिनामा बुबाको पनि मृत्यु भएपछि फरिदा डिप्रेशनको शिकार समेत भइन् । त्यसपछि उनले यसैबर्षको सुरुमा बाली र नेपालको भ्रमणको योजना बनाएकी थिइन् । बाली र नेपालको भ्रमणपछि उनी अप्रिलमा अमेरिका फर्केकी थिइन् ।

त्यसपछि जुलाईमा फरिदा नेपाल गइन् । भूराजनीतिमा कुनै चासो नभएकी फरिदा भारतको नयाँ दिल्ली समेत जाने योजना बनाएकी थिइन् । जुलाई १२ मा उनी नेपालबाट भारतको उत्तराखण्ड जानका लागि बसमा चढेकी थिइन् ।

भारतमा पुगेपछि उनलाई भारतीय सुरक्षाकर्मीहरुले सोधपुछ गरेका थिए । उनले आफ्नो कागजात पछाडि छुटेको भन्दै मोबाइल फोनमा कागजात देखाएकी थिइन् । उनले सिमाक्षेत्रमा पाउने आशा राखेको भारतीय भिसा पनि उनीसँग थिएन ।

त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर ११ घण्टासम्म पुछताछ गरेको थियो । त्यसपछि उनलाई थुनामा पठाइयो ।

फरिदाका भाई नाउमान मलिक दिदीलाई भेट्न भारत जानका लागि भिसा आवेदन दिएका छन् । तर उनलाई पनि अहिलेसम्म भिसा दिइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com