अहिलेसम्म ६ जना राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवारबामात्र ‘डिसेम्बर डिबेट’का लागि योग्य


प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार

योग्य हुनका लागि एकमहिनाभन्दा पनि कम अवधि बाँकी रहेको अवस्थामा अहिलेसम्म राष्ट्रपतिका ६ जना डेमोक्रेटिक उम्मेदवारहरुमात्र डिसेम्बर डिबेटका लागि योग्य भएका छन् । यो डेमोक्रेटिक उम्मेदवारबीचको छैठौं बहस हो ।

यो बहसमा सहभागी हुनका लागि डेमोक्रेटिक नेशनल कमिटीले अत्यन्तै कडा नियमहरु राखेको छ । नोभेम्बरको यस्तै बहसमा जम्मा १० जना उम्मेदवारहरु योग्य भएका थिए । तर गत राउण्डदेखि दाताको मापदण्ड र सर्वेक्षण दुबैमा कडाई गरिएको छ ।

अहिलेसम्म आगामी बहसका लागि जो बाइडेन, पिट बुटाजज, कमला ह्यारिस, एमी क्लोबुचार, बर्नी स्याण्डर्स र एलिजावेथ वारेन योग्य भएका छन् । नोभेम्बरको बहसमा यीनीहरुका अतिरिक्त कोरी बुकर, तुलसी गब्बार्ड, टम स्टेयर र एन्ड्रयु यांग पनि योग्य भएका थिए ।

अहिले स्टेयरले बाहेक अरुले अर्लि स्टेट मत प्रतिशतको थ्रेसहोल्ड पूरा गरेका छैनन् भने स्टेयरले पनि दाताको थ्रेसहोल्ड पूरा गरेका छैनन् । त्यस्तै यांग र बुकरले दाताको थ्र्र्रेसहोल्ड पूरा गरेपनि मतको थ्रेसहोल्ड पूरा गरेका छैनन् ।

 

ट्रम्पबिरुद्ध लड्न तयार को को ? 

अमेरिकाका राष्ट्रपतिको चुनावका लागि अब एकबर्षपनि बाँकी छैन । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प दोश्रो कार्यकालका लागि भिड्दैछन् । उनीसँग भिड्नका लागि १८ जनाभन्दा धेरै डेमोक्रेटिक उम्मेदवारहरु पाखुरा सुर्कदैछन् तर प्राइमरी जितेर वास्तविक भिडन्तका लागि मैदानमा उत्रने एकजना हुनेछन् ।

अहिलेसम्म मैदानमा देखिएकाहरुमा सबैभन्दा बढी उमेरका बर्नी स्याण्डर्स ७८ बर्षका छन् भने कम उमेरका पिट बुटाजज ३७ बर्षका छन् । ७६ बर्षका जो बाइडेन, ७० बर्षकी एलिजाबेथ वारेन, ५५ बर्षकी कमला ह्यारिस पनि निकै चर्चामा रहेका उम्मेदवारहरु हुन् ।

माइकल बेनेट, कोरी बुकर, स्टीभ बुलोक, हुलियन क्यास्ट्रो, जोन डेलानी, तुलसी गब्बार्ड, एमी क्लोबुचार, वायन मेसाम, डेभल प्याट्रीक, जो सेस्टाक, टम स्टेयर, म्यारिन विलियम्सन र एन्ड्रयु यांग पनि चुनावी मैदानमै छन् ।

को प्रगतिशिल को मध्यपन्थी ?

डेमोक्रेटिक उम्मेदवारहरुमा एलिजाबेथ वारेन, बर्नी स्याण्डर्स, कमला ह्यारिस, एन्ड्रयु यांग, कोरी बुकर र तुल्सी गब्बार्ड प्रगतिशिल उम्मेदवारहरु मानिन्छन् । तर जो बाइडेन, एमी क्लोबुचार, हुलियन क्यास्ट्रो, जोन डेलानी, स्टीभ बुलोक, माइकल बेनेट मध्यपन्थी उम्मेदवारहरु हुन् । ५ जना महिला उम्मेदवारहरु मैदानमा छन्, जसमा एलिजाबेथ वारेन र कमला ह्यारिस चर्चाको शिखरमा छन् ।

सबैभन्दा चर्चाको शिखरमा रहेका डेमोक्रेटिक उम्मेदवारहरुमा जो बाइडेन, बर्नी स्याण्डर्स, एलिजाबेथ वारेन र कमला ह्यारिस हुन् । तर अहिले माइकल ब्लुमबर्गले भने बाइडेन कमजोर रहेको तथा स्याण्डर्स र वारेनले ट्रम्पलाई टक्कर दिन नसक्ने भन्दै उम्मेदवारी घोषणा गर्ने संकेत गरिसकेका छन् ।

अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पसँग भिड्नका लागि भने यी उम्मेदवारहरुले डेमोक्रेटिक प्राइमरीको सामना गर्नुपर्नेछ । राज्यका प्राइमरीहरु र ककसहरुमा मतदाताहरुले सम्भावित उम्मेदवारहरुलाई मतदानमार्फत चुन्छन् । बन्द प्राइमरी वा ककसमा रजिस्टर्ड मतदाताहरुलेमात्र भोट हाल्न पाउँछन् ।

चुनिने विधि कस्तो ?

हरेक प्राइमरी र ककसमा डेलिगेट्सहरुको निश्चित नम्बर हुन्छ । उनीहरुले राष्ट्रिय महाधिवेशनमा आफ्नो राज्यको प्रतिनिधित्व गर्छन् । प्राइमरी वा ककसबाट जुन उम्मेदवारले आफ्नो पक्षका धेरै डेलिगेट्सहरु प्राप्त गर्छ, त्यही उम्मेदवारले राष्ट्रिय महाधिवेशन मार्फत प्राइमरी जितेर राष्ट्रपतिको अन्तिम प्रतिस्पर्धामा भाग लिन पाउँछ । पार्टीका आफ्ना स्वतन्त्र डेलिगेट्स र सुपरडेलिगेट्स पनि हुन्छन् । स्वतन्त्र वा सुपरडेलिगेटहरु कुनै निश्चित उम्मेदवारलाई मतदान गर्न बाध्य हुँदैनन् ।

डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जुलाई १३ देखि १६ सम्म हुनेछ । यो महाधिवेशनबाटै राष्ट्रपति र उपराष्ट्रतिका लागि पार्टीका तर्फबाट अन्तिम उम्मेदवारको टुंगो लगाइनेछ । ककस र प्राइमरीबाट छानिएका डेलिगेटसहरुले जुन उम्मेदवारका लागि छानिएका हुन्, त्यही उम्मेदवारलाई मत हाल्नुपर्छ भने स्वतन्त्र र सुपरडेलिगेटले आफूले चाहेको उम्मेदवारलाई मत हाल्न पाउँछन् ।

पहिलो राउण्डमा मतदान हुँदा उम्मेदवारका प्रतिबद्ध डेलिगेटहरुलेमात्र भोट हाल्न पाउँछन्, यति उनीहरुले भोट हाल्दा कसैको पनि बहुमत नआएमा स्वतन्त्र डेलिगेटहरुले भोट हाल्न पाउँछन् । पहिलो राउण्डमा कसैको पनि बहुमत नआएमा दोश्रो राउण्डमा प्रतिबद्ध डेलिगेटहरुले पनि जुनसुकै उम्मेदवारलाई भोट हाल्न पाउँछन् भने स्वतन्त्र वा सुपर डेलिगेटले पनि भोट हाल्न पाउँछन् ।

सन् २०२० को डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशनका लागि झण्डै ४५९४ जना डेलिगेटहरु हुने अपेक्षा गरिएको छ जसमा कुनै उम्मेदवारप्रति प्रतिबद्ध ३८३६ र स्वतन्त्र सुपर डेलिगेटहरु ७५८ जना हुनेछन् । पहिलो राउण्डको चुनावबाट डेमोक्रेटिक पाईमरीमा छानिनका लागि राष्ट्रपति उम्मेदवारले कम्तीमा १९१९ मत ल्याउनुपर्नेछ । यदि पहिलो राउण्डमा उक्त मत ल्याउन नसकेको खण्डमा सुपरडेलिगेटहरुले समेत दोश्रो राउण्डमा त हाल्नेछन् र प्राइमरी जित्नका लागि २२९८ मत ल्याउनुपर्नेछ ।

विभिन्न राज्यबाट महाअधिवेशनमा प्रतिनिधित्व गर्ने डेलिगेट्सहरुको संख्या तय गरिएको हुन्छ । उदाहरणका लागि न्युयोर्कबाट ३२७ डेमोक्रेटिक डेलिगेट्सले भाग लिनेछन् भने क्यालिफोर्नियाबाट सबैभन्दा धेरै ४९५ जना डेमोक्रेटिक डेलिगेट्सहरुले महाधिवेशनमा भाग लिनेछन् ।

महाधिवेशनबाट चुनिएका राष्ट्रपतिका एकजना डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकन उम्मेदवारसँग अन्तिम चुनावमा प्रतिस्पर्धा गर्नेछन् । सन् २०१६ को डेमोक्रेटिक नेशनल कन्भेन्सनमा हिलारी क्लिन्टनले २८४२ र बर्नी स्याडर्सले १८६५ मत ल्याएका थिए । र हिलारी क्लिन्टन नै ट्रम्मसँग चुनाव लड्नका लागि छानिएकी थिइन् ।

यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

कुन राज्यमा कति इलेक्टोरल मत भन्नेबारे जान्न यहाँ क्लिक गर्नुहोला ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com