ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीको भिसा डिसेम्बरमा पनि करेन्ट, विवाह गर्नेलाई सजिलो
प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार
अमेरिकामा विवाह गर्ने र अमेरिकामा नै रहेका दम्पत्ति तथा २१ बर्ष उमेर पुगेका छोराछोरीहरुलाई ग्रिनकार्ड आवेदन दिन चाहनेहरुका लागि डिसेम्बर महिनामा पनि मौका आएको छ । डिसेम्बर महिनामा दम्पत्ति र छोराछोरीहरुका लागि आई १३० आवेदन दिन चाहनेहरुले एकसाथ आई ४८५ आवेदन समेत दिनसक्ने भएका छन् ।
युएससीआईएसले भिसा बुलेटिनकै मितिलाई सदर गरिदिएपछि ६ महिनादेखि पाउँदै आएको यो सुविधा डिसेम्बरमा पनि जारी भएको छ ।
जुलाईदेखि नै परिवारमा आधारित उक्त श्रेणीको ग्रिनकार्डका लागि आवेदन मिति सबैका लागि करेन्ट हुँदै आएको छ । अमेरिकामा नै विवाह गरेर आफ्ना दम्पत्तिका लागि ग्रिनकार्ड फाइल गर्न चाहने ग्रिनकार्डवाहकका लागि समेत यसलाई सुनौलो मौका भनिएको छ ।
आई १३० आवेदन युएससीआईएसमा पेन्डिङ अवस्थामा रहेकाहरुले पनि अमेरिकामा नै रहेका दम्पत्ति र छोराछोरीका लागि आई ४८५ ग्रिनकार्ड आवेदन दिएर वर्क परमिट र एड्भान्स परोल समेत प्राप्त गर्न सक्नेछन् । साथै उनीहरुलाई भिसा जोगाइराख्ने झन्झट पनि हुनेछैन ।
तर अमेरिकाबाहिर दम्पत्ति र छोराछोरी हुनेहरुका सन्दर्भमा भने आवेदकले कुनै आवेदन फाइल गर्न जरुरत छैन । आई १३० स्वीकृत भएर आवेदन नेशनल भिसा सेन्टरमा गइसकेकाहरुले भने दूतावासमा छिटो अन्तरवार्ता प्राप्त गर्नसक्नेछन् ।