अमेरिकी स्वास्थ्य प्रणालीमा भार हुनेलाई भिसा नदिने ट्रम्प प्रशासनको नियम कार्यान्वनमा अदालतबाट रोक
प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार

ट्रम्प प्रशासनले ल्याएको भिसामा स्वास्थ्यविमा सम्बन्धि नियम कार्यान्वयन नगर्न अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । यसअगाडि अदालतले उक्त नियम कार्यान्वयन नगर्न अस्थायी निरोधक आदेश जारी गरिएको थियो । तर पोर्टल्याण्डका न्यायाधिसले आज नियम कार्यान्वयनमा रोक लगाउनका लागि प्राथमिक आदेश जारी गरेका छन् ।
पोर्टल्याण्ड युएस डिस्ट्रीक्ट कोर्टका न्यायाधिस माइकल सिमोनले नियम कार्यान्वयनमा रोक लगाउनका लागि देशव्यापी प्राथमिक आदेश जारी गरेका हुन् । ७ जना अमेरिकी नागरिक र आप्रवासीका अधिकारका लागि काम गर्ने संस्थाले संयुक्त रुपमा मुद्दा दायर गरेका थिए ।
के हो स्वास्थ्यविमा नहुनेलाई भिसा नदिने नियम ?
अमेरिकी सरकारले अमेरिकी स्वास्थ्य प्रणालीमा भार हुनसक्ने सम्भावना भएकाहरुको आप्रवासी भिसा अस्वीकृत गर्ने नियम लागु गर्ने तयारी गरेको थियो । यो नियम अनुशार अमेरिकाको सशुल्क स्वास्थ्य विमा भएको वा लिनेकुरा प्रमाणित गर्न नसक्नेहरुको भिसा अमेरिकी दूतावासले अस्वीकार गर्नसक्छ ।
नयाँ नियम लागु भएमा अमेरिकी स्वास्थ्यप्रणालीमा भार हुनसक्ने भन्दै बार्षिक ३ लाख ७५ हजार भन्दा धेरैको ग्रिनकार्ड अस्वीकार गर्न सक्ने अनुमान गरिएको छ । नयाँ नियम लागु भएमा अमेरिकाको आप्रवासी भिसा अर्थात् ग्रिनकार्डका लागि स्पोन्सर गर्ने स्पोन्सरकर्तामाथि थप जिम्मेबारी र भार थपिन्छ । नयाँ नियम अनुशार अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिएको व्यक्तिले अमेरिकाको स्वास्थ्यप्रणालीमा आफू भार नहुने कुरा प्रमाणित गर्न नसके त्यस्ता व्यक्तिको भिसा अस्वीकृत हुनसक्छ ।
अमेरिकाको स्वास्थ्य प्रणालीमा भार हुनसक्ने व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लगाउने सक्ने घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबरको पहिलो साता हस्ताक्षर गरेका थिए । यो नयाँ नियम अमेरिकाबाहिरबाट अमेरिकाको आप्रवासी भिसा आवेदन दिनेहरुका हकमा मात्र लागु उल्लेख गरिएको थियो ।
पहिले नै अमेरिकामा रहेकाहरु, अमेरिकी ग्रिनकार्डबाहकहरु, एसाइलम आवेदकहरु, शरणार्थीहरु र बालबालिकाहरुका सन्दर्भमा भने नयाँ नियम लागु नहुने जनाइएको थियो । तर अमेरिकी नागरिकका दम्पत्ति र बाबुआमाहरुका सन्दर्भमा भने यो नियम लागु नहुने जनाइएको छ ।
अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले अमेरिका प्रवेश गरेको ३० दिनभित्र मान्यताप्राप्त स्वास्थ्यविमा लिने कुरा प्रमाणित गर्न सक्नुपर्ने नियममा उल्लेख छ । आवश्यक इन्सुरेन्स व्यक्तिगत रुपमा किन्न सकिने र रोजगारदाताले प्रदान गर्ने इन्सुरेन्सलाई पनि मान्यता दिइने नियममा उल्लेख छ । तर सरकारी सुविधाप्रदान गरिएको स्वास्थ्यविमालाई भने मान्यता दिइनेछैन ।