पूर्वमन्त्री आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

२०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवास्थित बमकाण्डका घाइतेलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको छ।
१० दिनदेखि चलिरहेको आलमको मुद्दामा थुनछेक आदेश सुनाउँदै जिल्ला अदालतले शुक्रबार उनलाई थुनामा पठाएको हो।
अदालतमा पेस भएको प्रारम्भिक प्रमाणका आधारमा आलम निर्दोष रहेको ठहर नभएकाले पूर्पक्षका लागि थुनामा पठाउने आदेश जिल्ला अदालतले गरेको हो। जिल्ला अदालतको आदेशपछि आलम फैसला नभएसम्मका लागि थुनामा गएका छन्। तर उनीहरू त्यसविरुद्ध उच्च हुँदै सर्वोच्चसम्म जाने बाटो भने बाँकी रहेको छ।
आलमलाई ४५ वर्ष कैद सजायको माग सरकारी वकिलको कार्यालय, रौतहटले गरेको थियो। आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर आरोपपत्रमा गरिएको थियो।
जिल्ला सरकारी वकिल कार्यालयले बम विष्फोटन घटनामा संलग्न तथा घटना ढाकछोप गर्न सहयोग गर्नेसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको थियो।
त्यसमध्ये आलमसहित १० जनालाई जन्मकैद र १ प्रतिवादीलाई कम सजाय माग गरिएको छ। पूर्वमन्त्रीसमेत रहेका आलमसहित उनका भाइ महताब आलम, सहयोगीहरू मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलाई प्रतिवादी बनाइएको छ।