एकाविहानै ठगको फोनकल
प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार

– किशोर पन्थी
आज विहानै मैले एउटा फोन कल प्राप्त गरें ८०० १७७ ७६०६ बाट । नचिनेको नम्बरबाटै आएको भएपनि फोन उठाएँ ।
फोनमा भनिएको थियो मेरो सोसल सेक्युरिटी नम्बर केही शंकास्पद गतिविधिका कारण सस्पेण्ड हुँदैछ । त्यसैले सोसल सेक्युरिटीवापत प्राप्त हुने सवै सुविधाहरु खारेज हुँदैछन् ।
उक्त कम्प्युटर भ्वाइस सुन्नासाथ मलाई यो ठगहरुको फोन कल हो भन्ने पत्ता लगाउन कुनै गाह्रो भएन । फोनकलमा भने अनुशार मैले नम्बर वान दबाएँ, त्यसको केहीबेरमा एकजना व्यक्तिले फोन उठायो । उसले मेरो सोसल सेक्युरिटी नम्बर सस्पेण्ड हुन लागेको बतायो ।
उनीसँग मेरो नाम र आधा ठेगाना पनि रहेछ । उसलाई मैले तिमीहरुको अफिस कहाँ छ म त्यही आउँछु भनेर भनें । उसले ढिला नगरी मेरिल्याण्डको सोसल सेक्युरिटी एडमिनिस्ट्रेशनको नम्बर दियो ।
फोनकल सोसल सेक्युरिटी एडमिनिस्ट्रेशनबाटै आएको भ्रमपार्न पृष्ठभूमिमा अरुहरुले पनि सोसल सेक्युरिटी एडमिनिस्ट्रेशन भन्दै फोन उठाएको र कुराकानी गरेको जस्तो सुनिन्थ्यो । मैले सोसल सेक्युरिटी एडमिनिस्ट्रेशनबाट कहिले पनि यस्तो विषयमा फोन कल नआउने र उनीहरु ठगहरु भएको बताएँ । केहीबेर झोकाझोक नै भयो । मैले उल्लु बनाउनका लागि अरु कोही मान्छे भेटिनस् भनेपछि उसैले फोन राखिदियो ।
यस्तो फोन कल तपाईहरुलाई पनि आउनसक्छ । यस्तो फोन आयो भने कृपया नआत्तिनुहोला । उनीहरुले आफूहरु सोसल सेक्युरिटी एडमिनिस्ट्रेशनको बताउँदै तपाईलाई सोसल सेक्युरिटी नम्बर भेरिफाइ गर्न लगाउन सक्छन् । पुन एक्टीभेट गर्नका लागि तपाईको सोसल सेक्युरिटी नम्बर चाहियो भन्दै माग्छन् । यदि तपाईले भेरीफाइका लागि भन्दै सोसल सेक्युरिटी नम्बर दिनुभएको खण्डमा तपाई फस्नुहुनेछ ।
गतबर्षमात्र यस्तो फोनकलको शिकार भएका ३५ हजार अमेरिकामा रहेका व्यक्तिले १० मिलियन डलर गुमाएका छन् ।
तपाईले प्राप्त गर्ने फोनकल सामान्यतया यस्तो हुन्छ ।
तपाईले यस्तो फोनकल गर्दा जान्नुपर्ने विषय के छ भने उनीहरुले भनेजस्तो तपाईको सोसल सेक्युरिटी नम्बर सस्पेण्ड भएको वा हुन लागेको छैन । तपाईले उनीहरुलाई आफ्नो सोसल सेक्युरिटी नम्बर दिएर भेरिफाई गर्नतिर नलाग्नुहोला । उनीहरुले भनेजस्तो तपाईको बैंक एकाउण्ट कब्जा हुन लागेको पनि सत्य होइन ।
सोसल सेक्युरिटी एडमिनिस्ट्रिेशनले कहिलेपनि तपाईको सुविधाबारे धम्क्याउन फोन गर्दैन । साथै पैसा पठाउन समेत लगाउँदैन । यदि कसैले त्यसो गरेमा त्यो व्यक्ति ठग हो भनेर सिधा बुझ्नुपर्छ ।
सोसल सेक्युरिटी एडमिनिस्ट्रेशनको वास्तविक नम्बर ८०० ७७२ १२१३ हो । तर कहिलेकाँही ठगहरुले तपाईको कलर आईडीमा पनि यही नम्बर देखिनेगरी फोन गर्नसक्छन् । ठगले भनेको कुरामा तपाई चिन्तित हुनुहुन्छ भने तपाईले तुरुन्तै फोन काटेर ८०० ७७२ १२१३ मा फोन गरेर वास्तविक सोसल सेक्युरिटी एडमिनिस्ट्रेशनसँग कुरा गर्न सक्नुहुनेछ ।
तपाईले फोन गर्ने व्यक्तिलाई कहिले पनि सोसल सेक्युरिटी नम्बरमा कुनै डिजिट वा बैंक एकाउन्ट नम्बर नदिनुहोला । नत्र तपाईहरु ठगहरुको शिकार बन्न सक्नुहुनेछ ।