सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्न मिल्दैन :  प्रचण्ड


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष दाहालले सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त समस्यालाई अन्तर्राष्ट्रियकरण गरिहाल्न नमिल्ने बिचार व्यक्त गरेका छन् ।

‘मुलुकको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नु पर्दछ,’ उनले भने, ‘यस विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण भने गर्नु हुँदैन, त्यसले नेपाललाई फाईदा गर्दैन ।’ अध्यक्ष दाहालले लिम्पियाधुरा महाकाली नदीको मुहान भएको र यसको पूर्वको सबै भूभाग नेपालको भएको तथ्य औंल्याउँदै त्यसैको आधारमा नेपाल सरकारले भारत सरकारसँग संवाद गर्नुपर्ने बताए ।

अध्यक्ष दाहालले सीमा समस्याको विषयलाई लिएर दुई मुलुकबीचमा उत्तेजना फैल्याउने काम कसैले गर्न नहुने बताए । उनले बैठकमा लिम्पियाधुरामा नेपाली भूमि मिचिएको र सो समस्या समाधानका लागि आफूले प्रधानमन्त्री हुँदा चीन र भारत दुवै मुलुकसँग कुरा गरेको पनि बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com