१४९ वर्षपछि आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने


प्रकाशित मिति : असार ३०, २०७६ सोमबार

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । चन्द्रग्रहण बिहान १ बजेर ४६ मिनेटदेखि ४ बजेर ४४ मिनेट जाँदा सम्म लाग्ने बताइएको छ ।

मौसम अनुकूल भएमा नेपालमा राति १ बजेर ४६ मिनेटबाट खण्डग्रास चन्द्र ग्रहण देखिने छ । १ बजेर ४६ मिनेटमा सुरु हुने ग्रहण राति ३ बजेर १५ मिनेटमा मध्य र बिहान ४ बजेर ४४ मिनेटमा सकिने छ ।

सूर्य तथा चन्द्रको बीचमा पृथ्वी पर्दा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन् ।

चन्द्रमाको आकार पनि अन्य दिनको तुलनामा निकै ठूलो देखिन्छ । खगोल विज्ञानमा चासो राख्ने मानिसका लागि यो निकै मनोरम दृश्य हुनेछ । यो ग्रहण नेपाल, भारत, अष्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका, एसिया र युरोपको अधिकांश हिस्सामा देखिनेछ ।

सन् २०१९ को पहिलो चन्द्रग्रहण जनवरी २० र २१ को बीचको राति लागेको थियो । यो खग्रास चन्द्रग्रहण थियो । यसअघि सन् १८७० जुलाई १२ मा गुरुपूर्णिमाको दिनमा खण्डग्रास चन्द्रग्रहण लागेको थियो । त्यसयता यस्तो भएको थिएन ।

मध्य मनसुनको मौसममा आज रातिको आकाश खुल्ने सम्भावना कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही देशको केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com