राष्ट्रिय पोसाक प्रकरण : बाबुरामले भने ‘नयाँ जोगीको यो खरानी !’
प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले राष्ट्रिय पोसाक तोक्नु विडम्बनापूर्ण र संविधानको मर्मविपरीत भएको बताएका छन् ।
सरकारले दौरा सुरुवाल र साडी चोलोलाई पुनः राष्ट्रिय पोसाक घोषणा गर्दै औपचारिक कार्यक्रममा राष्ट्रिय पोसाक लगाउनुपर्ने बताएपछि भट्टराईको यस्तो अभिव्यक्ति आएको हो ।
बिहीबार राती एक ट्वीट गर्दै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रिय पोसाकको घोषणा नयाँ जोगीले खरानी धसेजस्तै भएको बताएका हुन् ।
उनले ट्वीटमा यस्तो लेखेका छन्ः
‘व्यक्तिका निजी उपभोगका वस्तुमा स्वास्थ्य र सामाजिक मर्यादा अनुकुल हुनुपर्ने बाहेक अन्य बन्देज लगाउनु आधुनिक लोकतान्त्रिक मान्यता विपरीत हुन्छ । कम्युनिष्ट भनिने सरकारले अमुक लुगा लगाउनैपर्ने उर्दी जारी गर्नु विडम्बनापूर्ण मात्रै नभई संविधानको मर्मविपरीत पनि छ । नयाँ जोगीको यो खरानी !’
व्यक्तिका निजी उपभोगका वस्तुमा स्वास्थ्य र सामाजिक मर्यादा अनुकुल हुनुपर्ने बाहेक अन्य बन्देज लगाउनु आधुनिक लोकतान्त्रिक मान्यता विपरित हुन्छ।कम्युनिष्ट भनिने सरकारले अमूक लुगा लगाउनैपर्ने उर्दी जारी गर्नु विडम्बनापूर्ण मात्र नभै सम्विधानको मर्म विपरित पनि छ!नयाँ जोगीको यो खरानी! pic.twitter.com/AolRyv7UwQ
— Baburam Bhattarai (@brb1954) August 16, 2018
२०६८ सालमा प्रधानमन्त्री हुँदा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दौरा सुरुवाल र साडीचोलोसँगै नेपालमा लगाइने सबै मातृ भेषभूषालाई राष्ट्रिय पोसाक घोषणा गरेका थिए ।
नेपालको संविधान २०७२ ले पनि देशभित्र लगाइने सबै पोसाकलाई राष्ट्रिय पोसाकको मान्यता दिएको छ ।