न्युयोर्कमा सांस्कृतिक केन्द्र बनाउन तीनदिनमा २ लाख डलर दान


प्रकाशित मिति : भाद्र १०, २०७४ शनिबार

न्युयोर्कको रिजउडमा दुर्गा मन्दिर एवं सामुदायिक केन्द्र बनाउन ज्याक्सनहाइटमा रहेको सत्यनारायण मन्दिरमा जारी सप्ताहब्यापी महापुराणमा तीनदिनमा झण्डै २ लाख ८ हजार डलरको प्रतिबद्धता प्राप्त भएको छ । दाताहरुले दुर्गा मन्दिर एवं सामुदायिक केन्द निर्माणका लागि सो रकम प्रदान गर्ने प्रतिबद्धता जनाएको प्रचारप्रसार उपसंयोजक भुवनेश्वर अधिकारीले जानकारी दिनुभयो ।

अहिलेसम्म सबैभन्दा धेरै रकम राजेश भट्टले प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले ५० हजार अमेरिकी डलर प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको हो । भट्टले यसअगाडि सन् २०१० मा सोही प्रयोजनका लागि आयोजित महापुराणमा २५ हजार अमेरिकी डलर प्रदान गर्नुभएको थियो । यसरी भट्टले दुईपटक गरी रिजउडमा दुर्गा मन्दिर एवं सामुदायिक केन्द्र बनाउन ७५ हजार अमेरिकी डलर प्रदान गर्नुहुने भएको छ । भट्ट महापुराण मुल समारोह समितिको संयोजक तथा रिजउड नेपाली समाजका उपाध्यक्ष हुनुहुन्छ ।

त्यस्तै दुर्गा मन्दिर एवं सामुदायिक केन्द्र बनाउन सूर्य लम्सालले महापुराणमा ३० हजार ३ सय ६५ डलर प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । महापुराणको पहिलो दिन २० हजार १ सय १०, दोश्रो दिन १ लाख ४३ हजार २ सय ४० डलर र तेश्रो दिन ४४ हजार ७७१ डलरको प्रतिबद्धता प्राप्त भएको छ ।

महापुराणमार्फत दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र निर्माणका लागि १० लाख अमेरिकी डलर संकलनको लक्ष्य राखिएको छ । दाताले किस्ताबन्दीमा रकम दिनसक्ने व्यवस्था समेत गरिएको रिजउड नेपाली समाजले जनाएको छ । बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले श्रीमद भागवत महापुराणको बाचन गरिरहनुभएको छ ।

सन् २०१० मा न्युयोर्कमा आयोजित भब्य महापुराणमा उपस्थीतहरुले झण्डै ६ लाख डलर डोनेशनको घोषणा गरेका थिए । जसमध्ये संकलित झण्डै ४ लाख डलरबाट मन्दिर र सांस्कृतिक केन्द्र बनाउन जग्गा खरिद गरिएको छ । सन् २०११ मा ५ हजार बर्गफुटको जग्गा खरिद गरिएको हो । त्यही जग्गामा सांस्कृतिक केन्द्र र मन्दिर बनाउन सत्यनारायण मन्दिरमा महापुराण भइरहेको छ । अबको दुईबर्षभित्र निर्माण कार्य पूरा गरिने रिजउड नेपाली समाजले जनाएको छ ।

महापूराणका लागि २१ वटा विभिन्न उप—समिती गठन र कार्य विभाजन गरिएको छ ।   मुल समारोह समितिमा अध्यक्ष रवि किरण कोइराला रहनुभएको छ भने संयोजक राजेश भट्ट हुनुहुन्छ । त्यस्तै आर्थिक उपसंयोजकहरुमा तुलसीराम आचार्य, सुमन शाह, विराज रिजाल र हरिप्रसाद काफ्ले रहनुभएको छ । त्यस्तै चन्दादाता संकलन तथा ट्रस्टी उपसंयोजकमा बेदप्रसाद खरेल रहनुभएको छ । समन्वय उपसंयोजकमा दीपकराज काफ्ले, विज्ञापन सामाग्री वेवसाइट उपसंयोजक सहकुल खत्री, प्रचारप्रसार उपसंयोजक भुवनेश्वर अधिकारी र अग्नी ढकाल, संचार उपसंयोजकमा खसोखास साप्तहिक, प्रसाद उपसंयोजकमा जगन्नाथ पराजुली र कृष्ण दाहाल, भजन उपसंयोजकमा गोपी ढुंगाना र मोहन गौतम, साउण्ड सिस्टम तथा क्यामेरा उपसंयोजकमा मिलन कुमार शाही, स्वयंसेवक तथा सुरक्षा उपसंयोजकमा राजेश सापकोटा र सुनिल पौडेल रहनुभएको छ ।

त्यस्तै अतिथि सत्कार तथा जनसम्पर्क उपसंयोजकमा रवि किरण कोइराला, राजेश भट्ट, मोहन ज्ञवाली, श्री पराजुली, बेदप्रसाद खरेल, सरोज श्रेष्ठ, दिपकराज काफ्ले र अमित शाह रहनुभएको छ । यातायात उपसंयोजकमा धनेश लामिछाने र रञ्जित मल्ल ठकुरी रहनुभएको छ । फ्रन्ट डेस्क तथा रिसेप्सन उपसंयोजकमा हेमरत्न शाही हुनुहुन्छ भने महिला तथा बालबालिका उपसंयोजकमा कमला निरौला र शुस्मा पन्थ रहनुभएको छ । मण्डप श्रृंगार उपसंयोजकमा कृष्ण पन्त, सर्टिफिकेट तथा अवार्ड उपसंयोजकमा नवराज खड्का, मेडिकल टिम उपसंयोजकमा सुनिता भण्डारी पुजा सामाग्री उपसंयोजकमा पंडित हरिनारायण सापकोटा, कलश यात्रा उपसंयोजकमा पण्डित उद्धव शास्त्री र संजिता कोइराला रहनुभएको छ ।

तस्विर: अमित शाह

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com