खगेन्द्र क्षेत्री गैरआवासीय नेपालीमाझ सुपरिचित नाम हो। गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष क्षत्री पेशाले वकिल हुन् । अमेरिकाका पहिलो नेपाली अटोर्नीको इतिहास रचेका जीसी एनआरएनआइसीसी कार्यसमिति सदस्य तथा नागरिकतासम्बन्धी कार्यदलको सह–अध्यक्ष हुन् । उनी नेपाल सरकारका गैरआवासीय नेपालीसम्वन्धी मानार्थ सल्लाहकार पनि रहेका छन्। उनले यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौं हुन लागेको आठौं एनआरएन विश्व सम्मलेलन तथा साधारणसभामा उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन्। यसअघि पनि सोही पदमा उम्मेद्वारी दिएर निकटतम प्रतिस्पर्धी रहेका क्षेत्री फेरि किन त्यही पदमा उम्मेद्वारी दिइरहेका छन् ? उनको उम्मेद्वारीलार्इ केन्द्रमा राखेर हामीले क्षेत्रीसँग लामो अन्तर्वार्ता गरेका थियौं । प्रस्तुत छ, त्यही अन्तर्वार्ता ।

तपार्इले फेरि एकपटक उपाध्यक्षमै उम्मेद्वारी दिनु भएछ। आखिर किन फेरि उपाध्यक्षमै उम्मेद्वारी दिनु भएको हो ?

मैले यसअघिको चुनावमा उपाध्यक्षमा उम्मेद्वारी दिएको थिएँ । निकटतम् प्रतिस्पर्धी रहे पनि विजयी हुन सकिन । मैले त्यो पराजयलार्इ स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका आधारमा भएको पराजय ठानेको थिएँ । मैले जुन पृष्ठभूमी र परिस्थितिमा उम्मेद्वारी दिएको थिएँ, त्यसलार्इ आधार मान्दा मैले जति मत पाएँ, त्यो मेरो लागि ठूलो उपलव्धी थियो । संसारभरकै एनआरएनमाझ पुगेर उहाँहरूको मन जित्ने प्रयास गरें, कम्तिमा अमेरिका पनि एनआरएनको नेतृत्वका लागि तयार छ है भन्ने खालको सन्देश दिएँ, त्यो मेरो लागि मात्र हैन, एनआरएन अमेरिकाको लागि पनि उपलव्धी भएको ठानेको छु। मैले यस बीचमा एनआरएनका लागि केही योगदान गर्ने अवसर पनि पाएको छु । धेरै साथीहरूसँग सहकार्य र मित्रता बढेको छ । उहाँहरू सबैले यसपटक उठ्नुहोस्, हामी सघाउँछौ भनेका छन् । त्यसैले फेरि एकपटक प्रयास गर्ने निर्णय गरेको हुँ।

तपार्इले यसअघि उम्मेद्वारी दिदाको पृष्ठभूमी र परिस्थितिको कुरा गर्नुभयो । त्यसमा अहिले केही फरक आएको छ ?

अमेरिकामा रहेका सबै एनआरएन साथीहरूलार्इ थाहा छ, मैले अघिल्लो पटक अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकमा उम्मेद्वारी दिने सोच बनाएको थिएँ। त्यस पदमा सोनामजीले पनि इच्छा राख्नु भयो । हामी दुबैजना एउटै पदमा चुनावी प्रतिस्पर्धा गर्नुभन्दा सोनामजीले आरसी र मैले उपाध्यक्षमा चुनाव लड्दा ठीक हुन्छ भनेर साथीहरूले भने । त्यसो गर्दा सबैको सहयोग पुग्ने र चुनाव जित्न सजिलो हुने बताइयो । वास्तवमा त्यतिबेला मेरो एनआरएन आइसीसीको उपाध्यक्षका लागि तयारी नै पुगेको थिएन। संसारभरका एनआरएन साथीहरूमाझ म खासै पुगेको पनि थिइन् । अन्तिम समयमा उम्मेद्वारी दिएकाले आफ्नै साथीहरूसँग चुनावमा तालमेल पनि गर्न सकिएन। त्यतिबेला आइसीसीमका एउटा लहर आएको थियउो, आफू त्यो लहरभित्र पनि पर्न सकिएन । चुनावका लागि आवश्यक पर्ने रणनीति र चाणक्यनीतिहरू पनि बनाउन सकिएन। अझ अमेरिकाकै सबै साथीहरूलार्इ पनि मेरो उम्मेद्वारी अमेरिकाकै प्रिष्ठाको विषय हो भनेर बुझाउन पनि सकिएन, सबैको साथ र सहयोग पनि लिन सकिएन। यी विविध कारणले चुनावमा सम्मानजनक प्रतिस्पर्धा गरे पनि जीत भने हात पार्न सकिएन।

जहाँसम्म पहिला र अहिलेको परिस्थितिमा के फरक आएको छ भन्ने कुरा हो मैले गत चुनावको बेला निकै महंगो मूल्य चुकाएर केही पाठ सिकेको छु । संसारभरका एनआरएन साथीहरूले पनि मेरो आवश्यकता र औचित्य बुझ्नुभए जस्तो लागेको छ । यसबीचमा मैले आइसीसी सदस्य र नागरिकतासम्बन्धी कार्यदलको सह–अध्यक्षका रूपमा काम गरेर अनुभव पनि बटुलेको छु। सरकारले पनि मेरो विशेषज्ञता, योग्यता, अनुभव, क्षमता र समपर्णको सम्मान गर्दै गैरआवासीय नेपालीसम्वन्धी मानार्थ सल्लाहकारको जिम्मेवारी दिएर संसारभरका एनआरएनहरूको सेवा गर्ने मौका दिएको छ । अमेरिकाका साथीहरूले पनि मेरो उम्मेद्वारीलार्इ व्यक्तिगतभन्दा पनि माथि उठेर सहयोग गर्ने बचन दिएका छन्। मलार्इ लाग्छ, प्रस्तुत पृष्ठभूमिमा मेरो पक्षमा पहिलाको भन्दा सकारात्मक माहौल बनेको छ ।

तपार्इ उठ्नैपर्ने केही वस्तुगत कारणहरू बताइदिनु हुन्छ कि ?

म नै हुनुपर्छ भन्ने म्यान्डेटरी त केही छैन तर अरू पनि मजस्तै कोही उपाध्यक्ष हुने भएकाले म नहुनुपर्ने कारण पनि मैले केही देखेको छैन। म मूलतः दुर्इ कारणले हुनुपर्छ भन्ने मलार्इ लाग्छ, पहिलो नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गर्न मैले सुरूदेखि नै काम गरेको छु । फलतः अहिले त्यो व्यवस्था त भएको छ तर त्यसलार्इ कानूनतः व्यवस्थित गर्न अझै धेरै काम गर्न बाँकि छ। त्यसका लागि मेरो जस्तो अनुभव, विशेषज्ञता हासिल भएका मानिस पदाधिकारीमा हुँदा धेरै सहज हुन्छ। अझ म सरकारको तर्फबाट पनि एनआरएन सम्वन्धी सल्लाहकार भएकाले दुबैतर्फबाट एकै व्यक्ितले थप समन्वय गरेर काम गर्न सहज हुन्छ। दोस्रो, संसारकै ठूलो एनआरएन राष्ट्रिय समन्वय समिति हो अमेरिका । यसले एनआरएनका लागि पर्याप्त योगदान गरेको छ। तर, संस्थागत भएपछि अमेरिकाले कुनै पदाधिकारीको भूमिका पाएको छैन।अब त हाम्रो पनि त पालो आउनुपर्ने हो नि। संसारभरका साथीहरूले हाम्रो त्यो योगदानको कदर गर्ने भनिरहेका छन् । त्यसैले पनि मैले उम्मेद्वारी दिएको हुँ। तेस्रो कुरा, गत निर्वाचनमा म थोरै मतले निकतम प्रतिस्पर्धी भएको हुँ। त्यतिबेलाका उपाध्यक्षमध्ये भवनजी अध्यक्षमा चुनाव लडिरहनुभएको छ भने कुमारजी पुनः उपाध्यक्षमै उम्मेद्वारी दिइरहनु भएको छ । त्यसैले उहाँहरूसँगै प्रतिस्पर्धा गरेर निकटतम प्रतिस्पर्धी भएको मैले पनि एनआरएनमा आफ्नो विशेषज्ञता प्रयोग गरेर योगदान दिएको छु। त्यसैले मैले उपाध्यक्षमा उम्मेद्वारी दिएर एनआरएनको सेवा गर्ने इच्छा राखेको हुँ। मलार्इ विश्वास छ, मैले उपाध्यक्षमा उम्मेद्वारी दिइसकेको अवस्थामा उहाँले त्यही पदमा उम्मेद्वारी दिनु हुने छैन। हामी अमेरिकाकै दुर्इजनाले उपाध्यक्षमा उम्मेद्वारी दियौ भने संसारभरका एनआरएनमाझ सकारात्मक सन्देश जाँदैन।

तर, अमेरिकाबाटै सोनाम लामाले पनि उम्मेद्वारी घोषणा गर्नुभएको छ नि ?

मैले पनि सुनेको छु । तर, गत निर्वाचनमा पनि मैले उहाँलार्इ अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकमा सघाएर आफूले उपाध्यक्षमा उम्मेद्वारी दिएँ। त्यतिबेला उहाँलार्इ रोजी पद थियो भने मेरो लागि छाडी पद थियो । मैले अधिकतम प्रयास गर्दा पनि सफलता हात पार्न सकिन। मैले अघिल्लो पटक अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजक पद जित्ने निश्चित हुँदा पनि सोनामजीलाई समर्थन र सहयोग गरेको थिएँ । अहिले सोनामजीले पनि मलाई सहयोग गर्नुहुनेछ भन्ने आशा छ । यसपटक म पुनः त्यही पदमा एकपटक प्रयास गर्छु भन्दा उहाँले उपाध्यक्षमै उम्मेद्वारी दिनुहुन्छ जस्तो मलार्इ लागेको छैन। मेरो विचारमा उहाँजस्तो एनआरएनमा लामो योगदान र सक्रियता भएको व्यक्तिले नैतिक रूपले पनि त्यसो गर्नुहुन्छ जस्तो लागेको छैन। मलार्इ विश्वास छ, मैले उपाध्यक्षमा उम्मेद्वारी दिइसकेको अवस्थामा उहाँले त्यही पदमा उम्मेद्वारी दिनु हुने छैन। हामी अमेरिकाकै दुर्इजनाले उपाध्यक्षमा उम्मेद्वारी दियौ भने संसारभरका एनआरएनमाझ सकारात्मक सन्देश जाँदैन। एनआरएन आर्इसीसीमा हुने दुर्इ उपाध्यक्षमा हामीलार्इ नै जिताउनुस् भन्न नैतिकरूपले पनि सजिलो हुदैन।

एनआरएनको चुनावमा अमेरिकाको १८१ मत छ। जितका लागि पर्याप्त नभए पनि निर्णायक मत हो यो। यो मत नै एक ढिक्का भएर तपार्इको पक्षमा खस्ला त यसपटक?

हामीले गत निर्वाचनमा ठूलो मूल्य चुकाएका छौं । संसारको ठूलो एनआरएन राष्ट्रिय समन्वय समिति भएर एकजना पदाधिकारी पनि नजिताइ रित्तोहात फर्केका छौं । यसबाट हामी सबैमा लज्जाबोध भएको छ। र, हामी सबैले ठूलो पाठ सिकेका छौं । मलार्इ विश्वास छ, यसपटक अमेरिकी एनआरएनको प्रतिष्ठाका लागि पनि सबै एक भएर हामी उपाध्यक्ष जितेरै फर्कनेछौं । यो मेरो मात्र हारजितको प्रश्न हैन, यो एनआरएन अमेरिका र अमेरिकामा रहेका हामी सबै एनआरएनको इज्जत र प्रतिष्ठाको विषय पनि हो । त्यसैले हामी जात, धर्म, वर्ग, सम्प्रदाय, लिंग, वाद, राजनीतिक आस्था सबैबाट माथि उठेर एनआरएन अमेरिकाको इज्जत र प्रतिष्ठाका लागि यसपटक जुट्नेछौं । यही आशा र विश्वासका साथ मैले आफ्नो उम्मेद्वारी दिएको हुँ। सबै साथीहरूले पनि यसलार्इ यसरी नै बुझेर आआफ्नो ठाउँबाट योगदान पुर्याउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here