एनआरएनए अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी दर्ता, अध्यक्षमा तीन उम्मेदवार


प्रकाशित मिति : आश्विन ३०, २०७४ सोमबार

आज हुने एनआरएनएको चुनावमा उम्मेदवारी दर्ताको समय सकिन केहीबेर अगाडि जमुना गुरुङेले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ताको समय विहान साढे १० बजेसम्म रहेको थियो ।

एनआरएन आईसीसीका वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना गुरुङले आगामी कार्यकालका लागि पनि उम्मेदवारी दर्ता गराउनुभएको हो । २ दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा बस्दै आउनुभएकी जमुनालाई त्यहाँको पत्रिकाले अष्ट्रेलियाका धनी महिलाहरुको सुचीमा ११ औं नम्बरमा राखेको थियो । अष्ट्रेलियामा धनी महिलाको सुचीमा पर्ने दक्षिण एसियाबाटै पहिलो महिला हुनुहुन्थ्यो जमुना । सन् १९९० मा विद्यार्थी भिसामा अष्ट्रेलिया जानुभएकी जमुना मेलबर्न इन्स्टीच्युट अफ टेक्नोलोजीकी म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ । उहाँले शेष घलेलाई विभिन्न ब्यापारिक काममा सहयोग गर्दै आउनुभएको छ भने एनआरएन आन्दोलनमा पनि घलेकै साथमा हुनुहुन्छ ।

त्यस्तै जापानका सफल व्यवसायी भवन भट्टले एनआरएन अध्यक्षमा उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका हुनुहुन्छ । भट्टले अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालन गरिरहनुभएको छ । रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उहाँ जापान जानुभएको थियो । ती होटल तथा रेस्टुराँबाट वार्षिक रु ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको छ । यस्तै उहाले नेपालमा पनि टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु दुई अर्ब लगानी गर्नुभएको छ भने हालै नेपाल एयरलायन्सको विमान खरिद गरेर बीबी एयरवेजमार्फत काठमाडौं दिल्ली उडान भर्ने तयारी भइरहेको छ ।

‘कारोबार’ दैनिक, युनाइटेड बु्रअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उहाको लगानी छ । सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै यो संस्थामा सक्रिय भट्ट २००३–०४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा काम गर्नुभयो ।
एनआरएन जापानको अध्यक्ष, एनआरएनको आईसीसीको कोषाध्यक्ष र उपाध्यक्षको दोस्रो कार्यकालपछि भट्टले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

त्यसैगरी अध्यक्षमा नै उम्मदेवारी दर्ता गराउनुभएका टीबी कार्की सन् २०१३ देखि २०१५ सम्मको कार्यकालमा एनआरएन आईसीसीका उपाध्यक्ष हुनुहुन्थ्यो । कार्की विगत १२ वर्षदेखि एनआरएनएमा सक्रिय हुनुहुन्छ । सन् २००७ मा कतारबाट आईसीसी सदस्य बन्नुभएको थियो कार्की । त्यसपछि पाँचौं विश्व सम्मेलनबाट उहा एनआरएन आईसीसीको सचिव बन्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com