-अनलाइनखबर

यस्तो लाग्छ, एनआएन अध्यक्ष शेष घले र श्रीमती जमुना गुरुङ लैला-मैजनुजस्तै हुन् । उनीहरुवीच नङ र मासुजस्तो प्रेमपूर्ण सम्बन्ध नभएको भए अष्ट्रेलिया पसेर उनीहरुले आफूलाई सफल व्यवसायी बनाउन शायदै सम्भव हुने थियो ।

सार्वजनिक कार्यक्रममा उनीहरु प्रायः सँगै देखिन्छन् । अघिल्लो साता जर्मनीको फ्रयाङफर्टमा आयोजित एनआएनको युरोप क्षेत्रीय बैठकमा पनि शेष र जुमना सँगै थिए । नेपालबाट जर्मनी पुगेका सञ्चारकर्मीहरुको टोलीले एक बिहान घले दम्पत्तिसँग उनीहरु बसेको होटलमा पुगेर ‘ब्रेकफास्ट-सम्वाद’ गर्‍यो । र, यो सम्वादमा अध्यक्ष घलेलाई सोधिएका कतिपय प्रश्नको जवाफमा जमुनासमेत सहभागी भइन् ।

अध्यक्ष घलेको दोस्रो कार्यकाल सकिन अब केही महिनामात्रै बाँकी छ । काठमाडौंमा हुने विश्व सम्मेलनबाट घलेले नेतृत्व हस्तान्तरण गर्दैछन् । तथापि उनको आफ्नै कार्यकालमा भूकम्प पीडितका लागि गोरखाको लाप्राकमा सुरु भएको एकीकृत वस्ती र काठमाडौंमा निर्माणाधीन एनआएनको कार्यालयले पूर्णता पाउन भने केही ढिलाइ भएको छ ।

शेष घलेकै नेतृत्वमा एनआएनले भिजन-२०२० अगाडि सारेको छ । यसलाई कतिपयले आलोचनासमेत गरेका छन् । तर, ब्रेकफास्ट सम्वादमा हामीले कुरा सुरु गर्‍यौं, लाप्राकमा भूकम्प पीडितहरुका लागि एनआएनले बनाइरहेको बस्तीबाट ।

त्यहाँ घर निर्माणका क्रममा भोग्नुपरेका चुनौतीका चाङहरुको कथा अध्यक्ष घलेले यसरी सुनाएः

शेष घले सैयौं वर्षपछि ठूलो स्केलमा दैवीप्रकोप भयो । यति ठूलो क्षति हुँदाखेरि हामीले अर्को विकल्प देखेनौं । म मात्रै नभनौं, एनआरएनको नेतृत्वले, हामीले तत्कालै राहतका लागि निर्णय गर्‍यौं । आफैं सहभागी भएर सहयोग गर्ने भन्ने निर्णय गर्‍यौं । त्यो एउटा ‘क्रिटिकल’ निर्णय थियो । त्यो ‘रिस्की’ निर्णय पनि थियो कि भनेर अहिले कसैले समीक्षा गर्न सक्छ । तपाईले नतिजा दिन सक्नुभएन भने त तपाईले ‘लस्ट’ गर्नुहुन्छ ।

हामीले इमोसनमा आएर एक हजार घर बनाउने भन्दियौं । सबैतिर, प्रत्येक मिडियामा रेकर्डेड भयो, एक हजार घर । अहिले एक हजार त बनाएको छैन । ६ सय पनि पूरा गरेको छैन । प्रक्रियामै छौं । असफलजस्तो देखिएको छ नि त अहिले त । तर, यो रियालिटी बुझ्नुपर्‍यो । हामीले के गर्दैछौं ?

म धेरै खुशी छु, हामीले अहिले जे-जति गरिरहेका छौं । एनआरएनको एउटा प्रोजेक्ट एम्प्मिेन्टेसन भन्ने एउटा कमिटी छ, त्यो कमिटीको मात्रै ५० वटा मिटिङ भयो । यी मिटिङहरुमा हामीले कति समय खर्च गर्‍यौं होला ? प्रत्येक निर्णयहरु भएका छन् ।

हामी आफ्नै खर्चमा हेलिकोप्टर चढेर जान्छौं । एउटा ट्रिपमा जाँदाखेरि २ लाख २५ हजार खर्च हुन्छ, मैले २५ वटा ट्रिप गरिसकें । यो एकाउन्ट एनआएनमा जाँदैन, मेरो आफ्नै खर्च हो

आफैंले राहत वितरण गर्ने भन्यौं । हामीले राहत सफलतापूर्वक वितरण गर्‍यौं । त्यो काम सम्पन्न गरेको समयको हिसाबले, उपलब्धीको हिसाबले हामीले रेडक्रसकै तुलनामा काम गर्‍यौं । रेडक्रस, जसको मुख्य उद्देश्य नै कल्याणकारी कामका लागि राहत दिने हो । हाम्रो एनआएनए त त्यो मात्रै होइन नि त । त्यो त दैवी प्रकोप भएर एउटा परिस्थिति सिर्जना हुँदाखेरि हामीले निर्णय गरेका हौं ।

पहिला पनि दैवी प्रकोप हुने गर्थे, हामी आर्थिक संकलन गथ्यौर्ं र सरकारको एउटा कोषमा हास्तान्तरण गथ्र्यौं । यसपालि हामीले राहत आफैं बाँड्ने भन्यौं र गाउँ गाउँमा गयौं । विभिन्न ‘रिस्क’ लियौं । यो सहयोगमा हामीले यातायात लगायतमा जुन खर्च गर्छौं, त्यो हाम्रो आफ्नो व्यक्तिगत हुन्छ । यसमा हामीले दाताको पैसा खर्च गरेको हुँदैन ।

पुनर्निर्माणमा दाताहरुबाट हामीलाई धेरै पैसा आयो । करोडौंमा आयो । यसरी पैसा आएपछि हामीले प्रतिवद्धता गर्‍यौं कि घरै बनाइदिन्छौं । तर, यस्तो स्थिति आउँछ भन्ने कसैलाई पनि थाहा थिएन । तीन लाखमा घर बन्छ भन्ने थियो । अहिले तपाईहरुलाई थाहा छ भूकम्पपछि नेपालमा कति घर बने ? कति लागतमा कति घर बने भन्ने त सबैलाई स्पष्ट नै छ । दुर्गम हिमाली भेगमा नयाँ मोडलको ‘सेटलमेन्ट’ यो पहिलो हो । यत्रो ठूलो परिणाममा यो पहिलो हो । यसमा कठिनाइका कारणले गर्दा १२/ १५ लाख रुपैयाँ एउटा घरको लागत पर्न गयो । तीन लाखको सट्टा १२/१५ लाख पर्ने भयो ।

यसमा जटिलताहरु भए । स्थानीयस्तरमा ढुंगा नपाएपछि हामीले ईंटा प्रयोग गर्ने भन्यौं, ईंटाको मेसिन चाइनाबाट ल्यायौं । हिउँले गर्दा २२ हजार ईंटाहरु नाश भए । मेसिन बिग्रयो । त्यसपछि चाइनिज इञ्जिनियर ल्यायौं । छ महिनासम्म तल र माथि गरेपछि ती इञ्जिनियरलाई डोकोमा हालेर लान्छु भन्दा पनि बारपाकबाट माथि लाप्राकसम्म जान मानेनन् । डराएर फर्केर आए ।

पहिलोचोटि मैले हेलिकोप्टरमा लगें । उनलाई नेपाली अनुवादक चाहिने । उनी चाइनिज भाषामात्रै बोल्ने । एकजना नेपाली अनुवादक खोजेर ल्यायौं । तर उनमा हेली फोबिया रहेछ । बारपाक भन्ने ठाउँसम्म मौसम राम्रो छ, माथि लाप्राकमा, १२ किलोमिटर माथि चढेर जानुपर्छ । त्यहाँको मौसम दिनमा १२/१५ पटक परिवर्तन भइराख्छ । त्यसैले बारपाकमा हेलिकोप्टर ल्याण्ड गरेर कच्चीबाटोमा माथि जानुपर्‍यो । उनी तर्सिंदै थिए । माथि लगेर हामीसँगै टेण्टमा बसायौं । दुईचार दिन बसेर मेसिन सबै फुकालेे, काटे । मेसिनको सबै डिटेल लिएपछि हामी काठमाडौं आयौं ।

इञ्जिनियर काठमाडौंमै बसे । हामीले चाइनाबाट पार्टपूर्जा मगायौं । पाटपूर्जा आइपुग्न एक महिना लाग्यो । त्यसपछि १२० किलो पार्टपूर्जा आइपुग्यो । तर, चाइनिज इञ्जिनियर फिल्डमा जानै मानेनन् । बल्लबल्ल सम्झाएर गाडीमा बारपाकसम्म पुर्‍याइयो । अब यहाँबाट माथि जाँदै जान्न, पहिरो गइराखेको छ भनेर मान्दै मानेनन् । १२० किलो सामान ट्याक्टरमा माथि लिएर गयौं, चाइनिज इञ्जिनियर फर्केर आए । पछि त उनको कम्पनीमा सम्पर्क गर्दाखेरि ती चाइनिज इञ्जिनियर जागिरै छाडेर हिँडेछन् ।

हेर्नोस् त, एउटा मेसिन फिट गर्नका लागि परेको कठिनाइको एउटा उदाहरण यस्तो छ । त्यो मेसिनले दिनमा ७ हजार ईंटा बनाउनुपर्ने थियो । अहिले त्यो मेसिन बिग्रिएको अवस्थामा छ । त्यसपछि हामीले सेमी अटोमेटिक मेसिनले दिनमा ३ हजार ईंटा उत्पादन गर्नुपर्‍यो । हामीलाई चाहिने एक मिलियन ब्लक/ईंटा हो । अर्को उपाय छैन ।

भूकम्प गएपछि यो सबै प्रक्रियामा हामी नयाँ इनोभेसनमा पनि छौं । यो सबै नयाँ टेक्नोलोजी प्रयोग भइरहेका छ । त्यहाँ माटो छैन, काठपात छैन । तल बारपाक भन्ने ठाउँमा मात्रै वीरगञ्जको ईँटा ल्याएर मान्छेहरुले घर बनाउँदैछन् । गोरखाको त्यस्तो दुर्गम ठाउँमा त्यो वीरगञ्जको सानो ईंटा प्रयोग हुँदैछ । त्यो ईंटा माथि (लाप्राक) पुर्‍याउने हो भने त्यो घरको दाम अर्को ५ लाख बढ्छ । वीरगञ्जको ईंटाले अहिलेको घर बनाउने हो भने अर्को ५ लाख फेरि बढ्छ ।

सरकारले घरको डिजाइन अस्ति भर्खर पास गरिदियो । सरकारले हामीलाई मतलबै गरेन । अस्ति गोरखापत्रमा एउटा हेडलाइन देखिराखेको थिएँ, एनआरएनले उसलाई (सरकारलाई) टेरेन रे । सहयोग भन्ने त शून्य । यस्तो छ ।

राजनीति यस्तो छ कि गाउँ-गाउँमा फाइट गर्ने । पोलिटिसियनहरु पैसा बनाउन खोज्ने । नेपालीले सहयोग गरेको पैसा, गाउँका भूकम्प पीडितलाई हो भनेर संकलन गरेको पैसा, त्यो गाउँमा पुर्‍याउन पनि हाम्रो इनर्जी गएको छ, इफोर्ट गएको छ । त्यस माथि पनि फाइदा लिन खोज्ने ? यो कस्तो किसिमको व्यवहार हो ? हामी तपाईहरुकै घर बनाउँदैछौं । तपाई नेता हुनुहुन्छ, तपाईकै घर पनि हो । लौ, ठेक्का नेतालाई दिनुपर्ने रे ।

सबै पार्टीहरुले एउटा कोअपरेटिभ बनाउने रे, अनि त्यसले चाहिँ चलाउने रे क्या ! हामीले के भन्यौं भने मोडालिटीमा हामी आफैं सहभागी भएर गर्छौं । त्यसैले नै आर्मी आयो । हामीले स्वयंसेवकहरु आह्वान गरिराखेका छौं ।

मेरो अनुभवमा राहतका बेलामा यति धेरै एनआरएनहरु आए भने पुनर्निर्माणका बेलामा त कसो नआउलान् ? यत्रो ४० लाख एनआरएनहरुमा कमसेकम पनि केही हजार त आउलान् नि । हामीले प्याकेज बनाएका छौं । एक हप्ता काम गरे पनि हुन्छ, दुई हप्ता काम गरे पनि हुन्छ । हामीले सबै कुराको पोलिसी बनायौं । यो सबै गर्नलाई पनि समय लाग्यो ।

तर, यसवीचमा धेरैले ‘टर्नअप’ लिए । यतिसम्म कि हाम्रो केन्द्रीय समितिकै धेरै साथीहरु त्यो साइटसम्म पुग्न सकेका छैनन् । तर, म यसमा ‘कम्प्लेन’ गर्दिनँ । कसैले आर्थिकरुपमा सहयोग गरिसकेको छ भने त्यहाँसम्म गइराख्नुपर्दैन । आफ्नो क्षमता छैन भने पनि त्यहाँ गइराख्नुपर्छ भन्ने होइन । तर, क्रिटिसाइज्ड गर्नु त राम्रो होइन नि त । उनीहरु पनि प्रतिवद्धतामा, निर्णयमा सहभागी भएका छन् । र, यो काम सिंगो संस्थाको हो ।

जमुना घले हामी एनआरएनलेले मोर्डन भिलेज बनाइदिने, तर पैसाचाहिँ गाउँलेको व्यक्तिगत खातामा हालिदिनुपर्ने भनियो क्या ! कसरी मोर्डन भिलेज बनाउने उनीहरुको खातामा हालेपछि ? कस्तो अप्ठ्यारो क्या ! यो कन्डिसनबाट बाहिर निस्कनलाई एक वर्ष लाग्यो । यो कन्डिसनबाट बाहिर ननिस्केसम्म कामै गर्न जानुहुँदैन भन्ने हाम्रो मास्टर प्लान कमिटीको प्रतिवद्धता थियो । गएको २० डिसेम्बरमा त्यो कन्डिसनबाट बाहिर निस्केपछि हामी काममा खटिइहाल्यौं ।

त्यो जाडोको ठाउँ, मे महिनादेखि पानी पर्ने, त्यसपछि हिउँको त खोला बग्दोरहेछ । अप्रिल र मे, वर्षमा दुई महिनामात्रै काम गर्न सकिने । कामदारहरुले डोकोमा ढुंगा, सिमेन्ट र बालुवा राखेर त्यसरी बोकेर लान्छन् क्या । डोजर पनि नजाने । कस्तो गाह्रो । यसै गरेर ३०० घरहरु डीपीसी लेबलमा सिध्याइयो । बाँकी २७३ घरहरु यो पानी पर्ने सकिएपछि सुरु हुन्छ । अहिले २२८ घरहरु बनाउन सुरु गरिसकेका छौं । दैनिक काम भइरहेको छ । पहिले ढुंगा दिएन, ढीला भयो, अहिले ढुंगा दियो, तर पानी पर्न थाल्यो । पहिले नै ढुंगा दिएको भए हामी धेरै छिटो सक्थौं नि । घर बनाउन सुरु भइसक्यो, काठ दिन्नौं भन्छन् ।

शेष घले – उनीहरुले हस्ताक्षर गरेका थिए । तर, के भयो भने कामदार नदिने भए । पहिलो कुरा त गाउँमा धेरै महिलाहरु मात्रै छन् । त्यसैले लेबर दिन सक्नेजस्तो हामीलाई लागेन । यो त जनसहभागिता पनि हो । घर मालिकहरु आफैं सहभागी हुनुपर्छ । हाम्रो मोडालिटी नै त्यही छ । सरकार र एनआरएनसँगको सम्झौता पनि त्यही छ । १२ लाखमा कसैले तपाईको घर बनाइदिँदैछ भने तपाईले पनि त केही योगदान त गर्नुपर्‍यो नि ।

त्यहाँको स्थानीय स्रोत जे छ, धेरै न्युनतम लागतमा घर बनाउन सकिन्छ भन्ने हामीले आश गरेको हो । हामीले पुरानो गाउँमा गएर पनि अनुसन्धान गरिसकेका छौं ।

जमुना घले सरकारले पनि भूकम्प पीडितलाई काठ दिएको रहेछ ।

शेष घले- हामीले पनि त्यो सुविधा त लिन सक्नुपर्‍यो नि । हामीसँग असीमित पैसा भएको त हैन नि । पैसा बचाउन सक्यौं भने अरु गाउँमा पनि केही गरौंला भन्ने हाम्रो सोच हो । हजारै घर बनाउने हाम्रो लक्ष छ । अहिले सिन्धुपाल्चोकमा अर्को प्रोजेक्ट लिनका लागि कुरा भइराखेको छ । हामी पैसा कति वचत हुन्छ भनेर हिसाब गर्दैछौं ।

हामीले अहिलेसम्म एकदमै मितव्ययी भएर काम गरिराखेका छौं । आफू जाँदा पनि त्यहाँ मेस चलाइदिएको छ, एक छाक खानाको कति, महिना दिनको कति, सबै हिसाब गरेर राखिदिएको छ । हामी जाँदा आफूले खाएको पनि पैसा तिरेर आउँछौं ।

हामी आफ्नै खर्चमा हेलिकोप्टर चढेर जान्छौं । एउटा टि्रपमा जाँदाखेरि २ लाख २५ हजार खर्च हुन्छ, मैले २५ वटा टि्रप गरिसकें । यो एकाउन्ट एनआएनमा जाँदैन, मेरो आफ्नै खर्च हो ।

प्रश्न-अष्ट्रेलियाको म्यागेजिनले निकाल्ने पछिल्लो विवरणमा तपाईहरुको आम्दानी वृद्धिको दर केही घटेको देखिएको छ । एनआरएनतिर बढी व्यस्त भएपछि तपाईहरुको निजी सम्पत्ति घटेको हो ?

जमुना घले– यो निश्चय नै हो । हामीले केही अवसरहरु गुमाइराखेका छौं । तर, यसले हामीलाई के सिकायो भने यदि यो ‘कमर्सियल भेन्चर’ भएको भए उहिल्यै हात निकालेर निस्किइसक्थ्यौं । तर, यो  ‘सोसियल भेन्चर’ मा त्यो गर्न नमिल्ने रहेछ । यसमा त ‘डु अर डाइ’ हुँदोरहेछ । कमर्सियल भेञ्चर भएको भए हामी अस्ति नै निस्किइसक्थौं । यो सामाजिक काम हो, यसमा हामीले कुनै नाफाको दृष्टिकोणले हेरेका छैनौं ।

यो यस्तो गाह्रो हुन्छ भनेर एनआरएनले महसुस गर्न सकेन होला, तर हामीले प्रतिवद्धता जनाइसक्यौं । त्यसैले यसलाई अघि बढाउनैपर्छ र संस्थालाई हामीले बचाउनुपर्छ ।

प्रश्नः लाप्राकमा बस्ती बन्यो भने त्यसको अस्तित्व अरु २ सय वर्षसम्म रहन सक्छ । तर, अहिले तपाईहरु एउटा ठूलो अक्करमा पर्नुभएको छ, अलिकति माथि जानासाथ नयाँ क्षितिज खुल्ने छ । तर, लाप्राकको काम नसकिँदै एनआएनमा तपाईको कार्यकाल सकिँदैछ । यो प्रोजेक्ट सफल भयो भने एनआएनले गरेको भन्ने हुृन्छ, असफल भयो भने शेष घलेले गर्दा यस्तो भयो भन्ने हुन्छ । अब एनआएनको अध्यक्ष नहुँदाको अवस्थामा यो प्रोजेक्ट अधुरो रहने स्थिति आयो भने तपाई के गर्नुहुन्छ ?

जमुना घले- यो प्रश्न अलि छिटो भयो होला । संस्थाले नै गरेको काम भएको हुनाले संस्थाले नै पूरा गर्नुपर्ने काम हो यो । तर, हामीले सबै भोग्यौं । संस्थाले गर्न धेरै गाह्रो छ । यो एनआएन भनेको त स्वयंसेवी संगठन हो । हामी सबै विदेशमा छौं । सबै युवापुस्ताका परिवारजन हुनुहुन्छ, उहाँहरु सबैले यसमा लागेर महिनौं, हस्तौं समय दिन धेरै गाह्रो छ । हामीले यो कुरा बुझ्नुपर्छ । मैले अघि नै भनिहालें नि, यो कमर्सियल भेन्चर भएको भए हामी नाफा हेरेर बाहिरिइसकेका हुन्थ्यौं । तर, यो सामाजिक काम हो, यसमा हामीले कसैलाई आशा दिइसकेका छौं । त्यो आशा त पूरा गर्नुपर्‍यो नि त । उहाँको कार्यकाल सकिएपछि संस्थाले गरेन भने अर्को उपाय त भइहाल्ला नि । तर, नयाँ कार्यसमितिलाई हामीले अवसर दिनैपर्छ । उहाँहरुले गर्न सकेनौं भन्नुभयो भने हामी गर्दिन्छौं । उहाँहरुले गर्छौं भनेपछि त हामी निक्लनै पर्‍यो नि ।

शेष घले– तर, यसका कठिनाइहरु र चुनौतिका पार्टहरु सबै पूरा भइसकेे । अब लाइनमा लागिसक्यो । अब गाह्रो लगाउने काम भइसक्यो । अब यो तेस्रो भन्दा अगाडि यो प्रोजेक्ट सकिनुपर्छ । जसले गरे पनि तेस्रो वर्षभन्दा अगाडि सकिनुपर्छ । तर, अनिश्चितता के छ भने नोभेम्बरपछि जाडोले गर्दा बि्रक प्रोडक्सन हुन्छ कि हुँदैन भन्ने प्रश्न छ । अहिले हामीले १० वटा म्यानुअल मेसिन लगाइराखेका छौं । १५ वटा मेसिन बनाउने भनेर अस्तिको मिटिङमा भनेका छौं । १५ वटा मेसिन बनाइयो भने एक दिनमा ६ हजार उत्पादन हुन्छ । यसो गर्दा अबको ३ महिनामा ५ लाखजति उत्पादन होला, हामीलाई ७ लाखजति चाहिन्छ होला, त्यसैले अलिकति नपुग्न सक्छ ।

हामीलाई नेपाली सेनाको सहयोग पनि राम्रो भयो । यो पनि एउटा विश्वासले गरेर हो । हाम्रो काम गराइ र एउटा सहकार्यले गर्दा भएको हो । अहिले १२० जना आर्मीले त्यहाँ स्वयंसेवा गरिरहनुभएको छ । दुईजनाले औंला गुमाउनुभयो । एकजनालाई हेलिकोप्टरबाट उद्धार गरेर ल्यायौं । त्यो हाम्रो जिम्मेवारी थियो । एकजना श्याम तामाङ भन्ने एनआएनका साथी काठमाडौंमै हुनुहुन्थ्यो । उहाँले रिस्क लिएर बारपाकसम्म हेलिकोप्टर लगेर वर्षाकाे बेलामा काठमाडौं ल्याउनुभयो । मिक्सिङ मेसिनमा परेर आैंला गुम्यो । डोजरले हाम्रा एकजना ड्राइभरको करङ भाँच्चियो । उनलाई पनि हेलिकोप्टरबाट उद्धार गरेर ल्यायौं । साइडमा यस्ता दुर्घटनाहरु पनि हुने रहेछन् ।

त्यसैले एनआरएनएले गरेको यो रिस्की काम असामान्य परिस्थितिबाट सिर्जना भएको हो । तर, यसबाट हाम्रो गुडविल गाउँ-गाउँमा पुग्यो । विदेशमा बस्ने नेपालीहरुले हामीलाई यसरी सहयोग गर्ने रहेछन् भन्ने सन्देश गाउँमा पुग्न सफल भएको छ ।

प्रश्नः काठमाडौंमा बनिरहेको एनआएनको कार्यालयको लफडा के हो ?

शेष घले– हामीले त्यो भवन अक्टोबरमा सिध्याउन खोजेको हो । तर, अवरोध भएको करिब ३ महिना भइसक्यो । कन्ट्राक्टरलाई काम गर्न दिइएको छैन । महानगरपालिकाले डिस्टर्ब गरिराखेको छ । उसले एक लेभलसम्मको अनुमति दियो । नक्शा पास भयो । त्यसपछि फेरि अर्को अनुमति लिनुपर्ने रहेछ । त्यो माग्दाखेरि उनीहरुले अनेक कारण देखाएर के-के, के-के भनेर अलमल गराइराखेका छन् ।

मैले चुनाव जितेर आउनुभएका मेयर विद्यासुन्दर शाक्यलाई पनि गएर भेटें । तर, मैले त जनताबाट चुनिएर मेयर आएपछि शासन अर्कै किसिमको होला भन्ने सोचेको थिएँ, त्यही भएर म हाइ लेभलमा गएँ । तर, महानगरको प्रशासन त ब्यरोक्रेटिक हुँदोरहेछ । त्यहाँ कार्यकारी प्रमुखका अगाडि मेयरले पनि केही गर्न नसक्ने रहेछन् । त्यहाँ त पुरै कर्मचारीहरुले ‘रन’ गर्ने रहेछन् । कार्यकारी प्रमुखसँग मेयरप्रति इगो हुँदोरहेछ ।

हामीलाई काम रोक्न आएपछि हामीले भन्यौं- काम रोक्ने आदेश हामीलाई लिखितमा चाहियो । उनीहरुले त्यस्तो लिखितमा कहिल्यै ल्याउन सकेका छैनन् । लालपूर्जा हाम्रा नाममा सरकारले दिएको छ । हामीले ३ वर्ष अगाडि प्रतिआना २६ लाखका दरले त्यो जग्गा किनेको हो ।

त्यो कार्यालय बन्छ । तर, भनेको समयमा नसकिने भयो । त्यसमा हाम्रो फण्ड पनि अलिकति पुगेको छैन । तर, ग्लोबल कन्फरेन्स गरिसकेपछि फण्ड पनि पर्याप्त हुन्छ । र, यो प्रोजेक्ट पनि सफल हुन्छ ।

यो जग्गा किन्ने बेलामा पनि हामीलाई निकै समय लाग्यो । हामीले काठमाठौंमा धेरै साइटहरु हेर्‍यौं । अन्ततः यस्तो राम्रो लोकेसनमा हामीले जग्गा पायौं । यस्तो राम्रो ठाउँमा जग्गा पाउँदा पाउँदै काठमाडौंबाट टाढा जंगलको छेउमा गएर कार्यालय बनाउने कुरा उचित हुँदैनथ्यो ।

प्रश्न- तपाईले अघि सार्नुभएको एनआएनको भिजन-२०२० एनआएनका अरु नेताहरुसँग सल्लाह नगरी ल्याउनुभएको भन्ने गुनासो सुनियो नि ? वास्तविकता के हो ? तपाईले एनआएनएलाई कर्पोरेट मोडेलमा लान खोज्नुभयो भने अर्को पक्षको आरोप छ नि ?

जमुना घले– कर्पोरेट मोडल हैन, हामी सोसियल अर्गनाइजेसन, भोलिन्टियर्ली अर्गनाइजेसन भन्छन्, तर, तपाई कुनै पनि सोसिलय अर्गनाइजेशन भन्नुहोस्, तपाईको सचिवालय बलियो भएन भने तपाई केही पनि काम गर्न सक्नुहुन्न । जस्तो-अहिले उहाँले अनररी प्रसिडेन्ड र चिफ एक्ज्युकेटिभ अफिसर दुबै रोल आफैंले खेल्नुपर्ने भयो क्या । यदि सेक्रेटरियट बलियो भएको भए यस्तो समस्या हुने थिएन । एनआरएनमा निर्वाचित भएर आउनेहरुले त पोलिसी लेभलमा काम गर्नुपर्ने हो नि । तपाई आफैं हेर्नुहोस् त एफएनसीसीआईमा कस्तो छ ? हामीले पनि खास त्यस्तै गर्न खोजेको हो ।

शेष घले– संस्थाको स्थायित्वका लागि । संस्थालाई बलियो बनाउनुपर्‍यो नि । यो संस्थालाई कसरी बलियो र स्थायी बनाउने भन्ने इस्यु हो ।

तपाई पत्रकारहरु जहिले पनि एउटा प्रश्न सोध्नुहुन्छ- किन पैसा भएका बिजनेश म्यानले मात्रै एनआएनको नेतृत्व गर्नुपर्ने ? यो एकदमै जायज प्रश्न हो । सक्षम मान्छे, जसको आर्थिक स्रोत बलियो छैन, त्यस्तो मान्छे नेतृत्वमा आउन सक्ने बनाउनुपर्छ अब यो संस्थालाई । हामीले यही भन्न खोजेको हो ।

तपाई पत्रकारहरु जहिले पनि एउटा प्रश्न सोध्नुहुन्छ- किन पैसा भएका बिजनेश म्यानले मात्रै एनआएनको नेतृत्व गर्नुपर्ने ? यो एकदमै जायज प्रश्न हो

अब यसपालिको ग्लोबल कन्फरेन्स सकिइसकेपछि हाम्रो कार्यालय भवन बनिसकेको हुन्छ । हाम्रो सचिवालय हुन्छ । हामी स्टाफहरु राख्न सक्छौंं । सिस्टमले ‘रेभेन्यु जेनेरेट’ गर्न थाल्छ । हाम्रा सदस्यहरु ७० हजार हुन्छन्, सदस्यहरुबाट न्युनतम शुल्कमात्रै आउँदा पनि यो संस्था आर्थिकरुपमा टिक्न सक्ने भइसकेको हुन्छ । त्यसपछि हामी एनसीसी लेभलमा पनि आ-आफ्ना अफिस राख्नेबारेमा सोच्न थाल्छौं ।

त्यसैले यो कुनै ठूलो कुरै होइन । यो कसैको व्यक्तिगत विचार पनि हैन । यो संस्थालाई कसरी प्रगतिपथमा लौजाने भन्नेबारे सकारात्मक सोचले हामीले बनाएको हो । यसमा कसरी अरुका आइडियाहरु पनि जोड्दै जाने भन्ने सोच्नुपर्छ ।

यो युरोप क्षेत्रको बैठकमा हामी एनआरएनबाट नेतृत्वका मान्छे आएको हिसाबले हामीले यहाँको कम्युनिटीलाई सुचित गर्नका लागि अपडेट दिएको मात्रै हो । तर, यहाँनेर केही साथीहरुलाई मिस अन्डस्ट्यानिङ भयो ।

मैले यहाँ यो कुरा नगर्दा पनि हुन्थ्यो । यहाँको लोकल इस्युको कुरा गर्नुपर्ने थियो । यहाँ युरोपको कुरा गर्नुपर्ने हो । तर, यो आइसीसी डोमिनेन्ट कन्फरेन्स जस्तो भइदियो । तर, मेरो आशय त्यो थिएन । तपाईहरुले यो कुरा बुझ्नुपर्ने हुन्छ ।

प्रश्न- तपाईले भिजन २०२० आइसीसीका पदाधिकारीहरुसँग सल्लाह नगरी आफूखुशी लाद्न खोजेको होइन त ?

शेष घले– एनआरएनएको कन्फरेन्स भयो, कसैले कन्फरेन्स मिस गर्‍यो । तपाईले व्यक्तिगत रुपमा कन्फरेन्स मिस गर्नुभयो र सहभागिता जनाउनुभएन भने तपाईलाई उपेक्षा गरेको वा लादेको कसरी भन्न सकिन्छ ? अब हाम्रो ग्लोबल कन्फरेन्स हुन लागिरहेको छ, तपाई त्यहाँ हरेक विषयमा आफ्ना कुराहरु राख्न सक्नुहुन्छ ।

हामीले गत वर्ष नै सबै साथीहरुलाई इमेल पठाएका थियौं । यो एजेण्डा मैले नल्याउँदा पनि हुन्थ्यो । तर, संस्था यसरी चल्दैन भनेर मैले ल्याएको हुँ ।

म एउटा उदाहरण दिन्छु, एउटा म्याग्देली समाज (मोना) भन्ने छ । विश्वमा त्यसका ६० वटा शाखा छन् । एनआएनएको हामी ७६ भन्छौं । हामीसँग बेस्ट हुने क्षमता छ । यत्रो नेटवर्क छ तर, हामी किन बेस्ट हुन सकेका छैनौं ? हामी नेपालतिरमात्रै फर्केका छौं, त्यो देशको लोकल कम्युनिटीमा खोइ हामीले आवाज उठाउन सकेको ? हाम्रो लुज नेटवर्क हुनुपर्छ, तर हाम्रो आधारभूत संरचना हुनुपर्छ ।

त्यसैले म साथीहरुलाई एउटा अवसर दिन्छु । यसलाई तपाईले आत्मसाथ गर्नुभयो भने परिवर्तन सम्भव हुन्छ, आत्मसात गर्नुभएन भने हुँदैन ।

जमुना घले- भिजन २०२० ले के गर्छ भने हाम्रो जेनेरेसनका बच्चाहरु पनि ठूला भइसके नि त । अरुतिर त थाहा छैन, तर अष्ट्रेलियामा त यो एकदमै इस्यु नै भइसक्यो । तिमीहरु खाली नेपालतिरमात्रै हेर्छौं, खोई हामीलाई हेरेको भन्न थालिसके । युवाहरुमा एकदमै नेगेटिभिटी बढेको छ । एनआरएनले त आफ्ना सदस्यहरुको कल्याण्ड गर्नुपर्ने हो नि त । बाहिरको कम्युनिटीमा हाम्रो फोकसै भएन क्या ! एनआएनको के काम भन्ने भइसक्यो युवापुस्तामा ।

प्रश्न- काठमाडौंमा हुने आगामी विश्व सम्मेलनपछि तपाईले एनआएनएलाई गिफ्ट दिएर छाड्न लाग्नुभएको यही भिजन २०२० हो त ?

शेष घले– यस्तै यस्तै हो । यो एनआएनएको ईच्छाको कुरा हो । अहिले साथीहरुको रेस्पोन्स हेर्दाखेरिचाहिँ मलाई त लाग्छ यो हाम्रा लागि अति नै जरुरी छ । हामी यो जङचरमा आइपुग्दा यस्तो अवस्था छ, हामी गम्भीर हुने कि नहुने ? हामीले खाली नेपालतिरमात्रै फोकस गर्ने कि आफ्नो कम्युनिटीलाई पनि ध्यान दिने ?

जमुना घले- तर, नेपाललाई पनि त हामीले केही गर्न सकिराखेका छैनौं नि । नेपाल त धेरै अगाडि बढिसक्यो । नेपाल त धेरै अगाडि गइसक्यो । लाप्राकले गर्दाखेरि मैले काठमाडौं बस्नुपर्‍यो, यहीबेला मैले थाहा पाएँ, नेपाल साह्रै अगाडि गइसकेको छ, हामी एनआएनहरु चाहिँ पछाडि पर्‍यौं ।

प्रश्न-अन्त्यमा, एनआएनभित्रै कतिपय विज्ञहरु हुँदाहुँदै तपाईले बाहिरका विज्ञ हायर गरेर काम गराउनुभयो भन्ने आरोप छ नि ? यसबारे के जवाफ दिनुहुन्छ ?

शेष घले– स्यवंसेवा गर्ने मान्छेहरुले कसरी समय दिन सक्छन् ? एनआरएनभित्र पनि विज्ञहरु हुनुहुन्छ, तर उहाँहरुसँग समय छैन ।

हामीसँग ऐतिहासिक प्रमाणहरु पनि छन् । हाम्रा एनआरएनका साथीहरुले कति टाइम लगाए र कसरी काम गरे भन्ने विगतको अनुभव पनि नभएको होइन । हामीलाई त डेडलाइनमा, समयमा आउटकम चाहिन्छ । यति पनि काम गर्न सकिँदैन र मिल्दैन भने किन अध्यक्ष भएर आउनुपर्‍यो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here