-दिल गुरूङ

२०७२ वैशाख १२ गते गएको भूकम्पको केन्द्र विन्दु नजिकै हो, गोर्खा जिल्लाको लाप्राक । झण्डै ६ सय घरपरिवार रहेको लाप्राकमा नमूना वस्ती बनाउन गैरआवासीय नेपाली संघले अनुमति पाएको झण्डै ६ महिनापछि यसपटक त्यहीँ पुगेर मैले निर्माण कार्यमा सहभागी हुने मौका पाएँ ।

हुनत भूकम्प पीडितलाई प्रारम्भिक राहत बाँडे लगत्तै दुई वर्ष अगाडि नै पिडीतका लागि १ हजार घर बनाउने घोषणा गरेका थियौं । पैसा पनि संकलन त्यतिबैलै भएको हो । तर, लामो समयसम्म सरकारले एनआरएनएलाई निर्माण अनुमति नै दिएन । हामी प्रशासनिक झमेला सुल्झाउँदै हैरान भयौं ।

गत डिसेम्बर अन्त्यमा मात्र सरकारले हामीलाई लाप्राक बनाउने अनुमति दियो । त्यसलगत्तै निर्माण कार्य सुरु भइहाल्यो । मैले लाप्राकको नाममात्र सुनेको थिएँ, त्यहाँ कहिल्यै गएको थिइन् । त्यसैले त्यहीँ बसेर निर्माण कार्यमा सहभागी बन्ने रहर यसपटक दुई हप्ता बसेर पूरा गरे ।

तर, जब म लाप्राकका लागि गाडीको यात्रा सुरु गरे त्यसपछि थाहा पाएँ कि, लाप्राक पुग्नु आफैमा धेरै कठिन काम हो । त्यसमाथि त्यति दुर्गम र भौगोलिक हिसावले प्रतिकुल स्थानमा झण्डै ६ सय घर बनाउनु त अकल्पनिय बिषय हो ।

त्यहाँ पुग्ने बाटो निकै अप्ठेरो । सयौं स्थानमा गाडीबाट ओर्लिएर सावेल समात्दै, बाटो बनाउँदै हिड्नुपर्ने । बाटो यति अनकन्टार छ कि म जस्तो मनाङमा जन्मिएको, हुर्किएको मानिसलाई पनि डरले मुटु काप्ने अबस्था थियो । साँच्चै मैले यति धेरै दुर्गम र कठिन ठाउँ होला भन्ने कहिल्यै सोचेको थिइन् । त्यहाँ पुग्नु त एभरेष्ट चढेजस्तै कठिन पो लाग्यो मलाई !

मनमनै सोंचे- यति अप्ठेरो ठाउँमा एनआरएनएले किन प्रोजेक्ट बनाउन खोजेका होला ? अलिक सजिलो ठाउँ छानेको भए त बनाउन पनि सजिलो हुथ्यो नी !

बाटोको डर र थकाई लाप्राक गुप्सीपाखामा रहेको साइटमा पुगेपछि एकाएक बिर्सिइदो रहेछ । कस्तो सुन्दर ठाउँ ! आँखै अगाडी लहरै हिमालहरु छन् । जति हेरे पनि आँखा नअघाउने । जब यहाँ नमूना वस्ती बन्छ । त्यसपछि कस्तो होला यो ठाउँ ? सम्झेरै त्यसै मन खुसी हुँदो रहेछ ।

एक दुई दिन बसेर हेर्दा लाप्राक जति सुन्दर लाग्छ, त्यहाँ बसेर घर बनाउने कार्य निकै कठिन रहेछ । हिउँदमा हिउँले ढाकेर कामै गर्न नसकिने, मनसुनमा पानी परेको पर्‍यै, हावाहुरी उत्तिकै । अहिले मनसुन सुरु भइसक्यो तर त्यहाँ यति कठ्याङग्रिने चिसो छ कि मैले युरोपमा माइनस आठ डिग्रीमा लगाउने डाउन ज्याकेट लगाएर बसेँ । यस्तो ठाउँमा काम गर्न कामदार पाउनै गाह्रो रहेछ । एनआरएनएले लगेका धेरै कामदार त्यहाँ पुगेपछि बस्न नसकेर भागेको साइटका कर्मचारीले मलाई सुनाए ।

त्यहाँ घर बनाउनुको कठिनाई भनिसाध्य छैन् । बनाउनु छ ५ सय ७३ घर । तर, घरलाई चाहिने ढुंगा आसपास कहिँ पाइँदैन । त्यसैले हामीले त्यहाँ इटा बनाउने मेसिन जडान गरेका छौं, नयाँ प्रबिधिका इन्टरलक इटाले बन्नेछन् यी घर अब । करोडौं रुपैयाँ पर्ने यस्तो मेसिन शेष घले र जमुना गुरुङले आफ्नो परोपकारी संस्थामार्फत् किनेर एनआरएनलाई दिएका रहेछन् ।

त्यसमाथि पानीको अभाव उस्तै । झण्डै डेढ किलोमिटर तलबाट पानी तानेर त्यहाँ ल्याएको रहेछ । साइटमा बस्ने स्वयंसेवकले दिनमा तोकिएको जति मात्र पानी खर्च गर्न पाउने । गाउँमा मानिसहरु केही उत्पादन गर्दैनन्, खाने कुराको त्यस्तै अभाव छ । वास्तवमा त्यस्तो ठाउँमा केही दिन बस्नु भनेको हामीजस्तो शहरीया जीवनशैलीमा ढलिसकेका मानिसलाई धेरै मुस्किल कुरा रहेछ ।

तर, मलाई अचम्म के लाग्यो भने अष्ट्रेलियाको धनाढ्यको सूचीमा रहेका मल्टिमिलिनियर शेष र जमुना भने बढो सहजताका साथ लाप्राकमा टेन्टभित्र जीवन बिताइरहेका छन् । त्यहाँको लाइफस्टाइलसँग अभ्यस्त भएर दिनदिनै निर्माण कार्यमा सहभागी भइरहेका छन् । जमुनालाई मैले सलामै नै गर्नुपर्ने किन ठाने भने त्यस्तो प्रतिकुलतामा पनि त्यस्तो लक्जरी जीवन बिताउन सक्ने महिला गाउँमा गएर निर्माण कार्यमा प्रत्यक्ष नेतृत्व गरिरहेकी छिन् । उनको अहिलेको अबस्था, उमेर केही कुराले पनि उनलाई त्यो ठाउँमा गएर दुई हप्तासम्म टेन्टमा बसेर निर्माण मजदुरझैं जोतिनुपर्ने अबस्था हैन् । म एकपटक बस्दा त कति धेरै कठिन लाग्यो, उनीहरु हरेक महिना यसैगरी गाडीको बाटो संर्घष गर्दै लाप्राक पुग्छन र हप्ता/दुई हप्ता त्यहीँ बसेर कामलाई गति दिन्छन् । सानोतिनो प्रतिबद्धता र इच्छाशक्तिले यो काम हुन सक्दैन् ।

अहिले लाप्राकमा नेपाली सेनाले करिव एक सय जना निर्माणकर्मी तैनाथ गरिदिएको छ भने अघिल्लो हप्ता करिव २४ देशका ४० जना इन्जिनियर स्वयंसेवक लाप्राक पुगेका छन् । एनआरएनले पनि दक्ष तथा अर्धदक्ष कामदार तैनाथ गरेको छ । अहिलेसम्म झण्डै २ सय ६० घरको डीपीसी भइसकेको छ । मौसमको प्रतिकुलता हुँदाहुँदै पनि हामीले अक्टुवरसम्म कम्तीमा आधा घर निर्माण गरेर स्थानीयबासीलाई हस्तान्तरण गर्न सक्छौं होला ।

त्यहाँ मलाई खडकिएको बिषय चाहिँ गैरआवासीय नेपालीहरुको उपस्थितिको हो । अहिले वास्तवमा लाप्राकलाई युवा एनआरएन स्वयंसेवीहरुको आवश्यकता छ जसले कम्तीमा एक साता त्यहीँ बसेर काम गर्न सकोस् । तर, दुर्भाग्य जति पनि एनआरएनहरु त्यहाँ पुग्छन, एक रात बस्छन, बिहान उठेर फोटो सेसन गर्छन अनि त्यही फोटो फेसबुकमा अपलोड गरेर हिडछन् भन्ने गुनासो छ ।

त्यति दुःख गरेर त्यहाँ पुगेपछि लाप्राकलाई केवल फोटोसेसनको फेसनमात्र नबनाउँ । कम्तीमा एक साता त्यहाँ बसेर रियल काम गरौं, नक्कली काम गरेर फेक तस्वीर फेसबुकमा हालेर त लाप्राक बन्न सक्दैन् । त्यसले एनआरएनहरुको उल्टै बदनामी मात्र हुन्छ ।
दुई साता बस्दा मैले फिजिकल काम गर्न कोसिस गरे तर सकिन । मेरो उमेर, अबस्था र त्यहाँको मौसमका कारण म त फिजिकल काम गर्न नसक्ने हुँदो रहेछु । मैले धेरैजसो ब्यबस्थापनको काममा समय दिएँ । त्यसैले मैले इटा बनाएको, बालुवा चालेको, गारो लगाएको फोटो सेसन गरेर फेसबुकमा हालिन, त्यसो गर्नु राम्रो हैन् ।

एनआरएन साथीहरुलाई म के भन्न चाहान्छु भने, लाप्राक बस्ती निर्माणका लागि यहाँहरुले अब एकपटक स्वयंसेवा गर्नुपर्ने बेला आएको छ । पुनर्निर्माणको सच्चा साझेदार हुने हो भने त्यहाँ गएर कम्तीमा एक साता वा दुई साता काम गर्नैपर्छ । सवैलाई एकैपटक फुर्सद नहोला तर फुर्सद निस्केका बेला एक साता लाप्राकलाई समय दिनुहोस् । तपाइँले जीवनमा धेरै नयाँ अनुभव गर्नुहुनेछ । हाम्रो देश के हो, कस्तो हालतमा छ र लाप्राकजस्तो उच्च हिमाली क्षेत्रमा वस्ती बनाउन कति कठिन छ भन्ने कूरा तपाइले आफै अनुभव गर्न पाउनुहुनेछ ।

मिडियातिर ‘उसले यतिवटा घरको एकीकृत बस्ती बनायो रे’, ‘यति महिनामा यति घर बनायो रे’ भनेर आएका सामाचार देख्दा मलाई पनि लाग्थ्यो एनआरएनले चाहिँ किन ढिला गरेको होला ? तर, लाप्राकको भुगोल र जटिलता देखेपछि मलाई के बिश्वास लाग्यो भने लाप्राकमा ५ सय ७३ घर बनाउनु भनेको सुगम ठाउँमा ५ हजार घर बनाउनभन्दा पनि धेरै ठूलो कुरा हो । वास्तवमा एनआरएनएका अध्यक्ष शेष घलेले लाप्राकमा बस्ती वनाउने छनौट गरेर निकै राम्रो निर्णय गरेका रहेछन् । हो, यसले दुःख र खर्च त बढायो । तर, हामीले यस्तो काम गर्दै छौं कि जो अरु कसैले गर्न सक्दैनन् । यस्तै काम गर्नुमा मात्र एनआरएन हुनुको अर्थ र गौरव हुन्छ ।

म फेरि एकपटक लाप्राक गएर दुई साता बिताउने योजना बनाउँदै यसपटकको लाप्राक बसाइ सकेँ । यो दुई साता मेरो जीवनका निकै अर्थपूर्ण दुई साता हुन पुगे, जसले मलाई धेरै कुराको ज्ञान दियो ।

(जर्मन निवासी गुरुङ गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्का संरक्षक हुन् ।)

अनलाइनखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here