सदस्यताको हिसाबले बलियो तर संस्थागत रुपमा भने अझै बलियो हुन नसकेको अमेरिका क्षेत्रको एनआरएनलाई बलियो बनाउने उद्धेश्यका साथ आरसी पदमा न्यूयोर्कका समाजसेवी श्री पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन अमेरिकाको पुर्व उपाध्यक्ष तथा सदस्यता प्रमाणिकरण समितिको संयोजक जस्ता पदमा बसेर एनआरएनमा अनुभव संगालेका पराजुलीले अमेरिका क्षेत्रको एनआरएनलाई बलियो बनाउने योजनाहरु लिएर चूनावी मैदानमा आएका हुन् । अमेरिकामा एनआरएन अभियान शुरु भएदेखि नै सकृय रहंदै आएका पराजुली न्यूयोर्कमा रहेको नेपालीहरुको संस्था रिजउड नेपाली समाजको अध्यक्ष हुंदा सफल समाजसेवीको पहिचान बनाउन सफल भएका ब्यक्ती हुन् । नेपाल र अमेरिकाका सामाजिक कार्यमा सकृय रंहदै आएका पराजुलीले यस प्रकारको घोषणा पत्र लिएर मैदानमा आएका छन् । अमेरिका क्षेत्रबाटै सोहि आरसी पदका लागि अमेरिकाको सियाटलमा बस्दै आएका एसी शेर्पाले पनि उम्मेदवारी दिएका छन् ।

उम्मेद्वारी घोषणा र मेरा प्रतिबद्दताहरुः

“नेपालीका लागि नेपाली” भन्ने मूलमन्त्रसहित सन् २००३ सालमा स्थापित यस गैर आवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको १४ औं बर्षगाँठको अवसरमा विश्वका ७७ राष्ट्रमा संगठित सम्पूर्ण एनआरएन अभियन्ता सबैमा हार्दिक बधाई दिन चाहन्छु । साथै आगामी अक्टोबर १४ देखि १७ तारिखसम्म काठमाण्डौंमा सम्पन्न हुन लागेको संघको ८ औं विश्व सम्मेलनको पूर्ण सफलताको कामना समेत गर्दछु ।

संघको स्थापना र संगठनको विश्वव्यपी बिस्तारसँगै एनआरएन अमेरिकाको शूरुवाती समयदेखि हालसम्म संघको उद्देश्य प्राप्तिको लागि निरन्तर रुपमा लागि पर्दै एनआरएन अमेरिकाको उपाध्यक्ष (२०१३-२०१४), सदस्यता प्रमाणीकरण समितिको संयोजक लगायत संघको बिभिन्न जिम्मेवार पदमा रहेर काम गर्दै आएको साथै अन्य बिभिन्न सामाजिक संघ संगठनको सफल नेतृत्वदायी भूमिकालाई अझ शसक्त रुपमा अघि बढाउने प्रतिबद्दता दिलाउँदै आगामी कार्यकाल ( २०१७-२०१९) को लागि एनआरएनए, आईसीसी अमेरिकाज क्षेत्रको लागि क्षेत्रीय संयोजक (आरसी) पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेको छु ।
संस्थागत उद्देश्य प्राप्तिको लागि संस्थाको विधी, विधान, मुल्य र मान्यतालाई सर्बाेपरी मान्दै आपूmले विगतमा सामाजिक संघ संगठनमा रहदाको अनुभव र ज्ञान, अग्रजहरुको सल्लाह र सुझाव साथै सम्पूर्ण शुभेच्छुकहरुको मार्गदर्शनलाई शिरोपर गर्दै आगामी कार्यकालको लागि विजयी गराई संस्थाको हितमा काम गर्ने हौसला प्रदान गरीदिन हुन सबैमा सविनय अनुरोध सहित आफ्ना प्रतिबद्दताहरु बुँदागत रुपमा राख्न चाहन्छु ।

प्रतिबद्दताहरुः
१) गैर आवासीय नेपाली संघ (एनआरएनए) ले निर्दिष्ट गरेको संस्थागत उद्देश्य र लक्ष्य प्राप्तिको लागि संघले प्रत्यायोजन गर्ने हरेक प्रकारको भूमिका र जिम्मेवारीलाई ईमानदारीताका साथ निभाउनेछु ।
२) बिभिन्न राष्ट्रबाट प्रतिनिधीत्व गर्ने आईसीसी सदस्यहरुको भूमिका, काम र कर्तव्यलाई आईसीसी र सम्बन्धित एनसीसीमा स्पष्ट रुपमा उल्लेख गर्न र गराउनको लागि आवश्यक पहल कदमी उठाउनेछु ।
३) अमेरिकाज क्षेत्रमा हालसम्म स्थापित एनसीसीहरुमा सदस्यता संख्या बृद्दि गराउन र अन्य देशहरुमा एनसीसी स्थापनाको लागि प्रयास गर्नेछु ।
४) अमेरिकाज क्षेत्रमा क्रियाशील बिभिन्न नेपाली सामाजिक संघ/संस्थाहरुसँग समन्वय गरेर “नेपालीका लागि नेपाली” भन्ने उद्देश्य प्राप्तिको लागि सहकार्य गर्नेछु ।
५) नेपालीहरुको घनाआवादी रहेको क्षेत्रहरुमा जस्तैः अस्पताल, बिद्यालय, बित्तिय संस्था र अन्य सरकारी कार्यालयमा नेपाली भाषालाई पनि अन्य भाषालाई जस्तै प्राथमिकतामा राख्नको लागि स्थानिय राज्य र सरकारसँग जोडदार माग गर्नेछु ।
६) आफ्नो क्षेत्रका एनसीसीहरुको कार्ययोजना र प्रगतीविवरण नियमित रुपमा आईसीसीलाई जानकारी गराउनेछु ।
७) अमेरिकाज क्षेत्रमा स्थापित बिभिन्न एनसीसीहरुसँग मिलेर ३-३ महिनाको कार्ययोजना बनाई आफ्नो क्षेत्रको एनसीसीहरुलाई संसारको सबैभन्दा उत्कृष्ट एनसीसी प्रमाणित गराउन हरबखत प्रयास गर्नेछु ।
धन्यवाद ।

श्री पराजुली
उम्मेद्वार, क्षेत्रीय संयोजक, अमेरिकाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here