आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनको ग्लोबल सम्मेलनमा अध्यक्ष पदमा तीनजनाले उम्मेदवारी दिने लगभग निश्चित भएको छ । अहिलेसम्म अध्यक्ष पदमा भवन भट्ट, जमुना घले र टीबी कार्कीको उम्मेदवारीको चर्चा रहेको छ ।

यसअघि अध्यक्ष पदमा भवन भट्टलाई नै जमुना घलेले पनि समर्थन गर्ने चर्चा रहेपनि लण्डनमा सहमति हुन नसकेपछि जमुना घलेले पनि अध्यक्षमा उम्मेदवारी दिने योजना बनाउनुभएको हो । भवन भट्टलाई जमुना घलेको समर्थन नदेखिएपछि टीबी कार्कीले पनि अध्यक्षमा उम्मेदवारी दिने योजना बनाउनुभएको हो ।

२ जना निर्वाचित हुने उपाध्यक्ष पदमा अहिलेसम्म ६ जनाको उम्मेदवारीको चर्चा रहेपनि अरु उम्मेदवारहरु समेत थपिने सम्भावना रहेको छ । उपाध्यक्षमा दोहोर्याउन लागेका कुमार पन्त सहित अमेरिकाबाट खगेन्द्र जीसी र सोनाम लामा, बेलायतबाट कुल आचार्य, कतारबाट नरेन्द्र भाट र जापानबाट चिरञ्जिवी थापाले उपाध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा रहेको छ ।

काँग्रेसले खगेन्द्र जीसी, सोनाम लामा र कुल आचार्यमध्येबाट एकजनामात्र उम्मेदवार उठाउने प्रयास गरिरहेको छ । तर कसलाई उठाउने भन्नेबारे सहमतिको प्रयास भइरहेपनि सहमति हुन सकेको छैन ।

महिला उपाध्यक्षमा भने अष्ट्रेलियाबाट रञ्जु वाग्ले थापा र रसियाबाट सपिला राजभण्डारीको उम्मेदवारीको चर्चा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here