एनआरएन अध्यक्षमा भवन भट्ट विजयी, उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य


प्रकाशित मिति : आश्विन ३०, २०७४ सोमबार

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट निर्वाचित हुनुभएको छ । काठमाडौंमा भएको ग्लोबल सम्मेलनबाट भट्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी जमुना गुरुङलाई हराउँदै भट्ट निर्वाचित हुनुभएको हो । १८५४ मध्ये १७८८ मत खसेकोमा भट्टले ११ सय १७ मत प्राप्त गर्नुभयो भने गुरुङले ५ सय ८४ मत ल्याउनुभयो ।

२ जना निर्वाचित हुने उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित हुनुभएको छ भने महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा अमेरिकाबाट उम्मेदवारी दिएका तीनैजना पराजित भएका छन् । महासचिवमा डाक्टर बद्रि केसी, सचिवमा जानकी गुरुङ र डीबी क्षेत्री, कोषाध्यक्षमा हिक्मत कार्की र सहकोषाध्यक्षमा सोम सापकोटा निर्वाचित हुनुभएको छ । महिला संयोजकमा भूमादेबी लिम्बु निर्वाचित हुनुभएको छ भने युवा संयोजकमा सुदन थापा निर्वाचित हुनुभएको छ ।

क्षेत्रमा को को विजयी ?

युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये बेल्जियमका शिव बरुवाल विजयी भएका छन् । युरोप क्षेत्रीय उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वाचित भएका छन् । युरोप क्षेत्रीय महिला संयोजकमा बेलायतकी संगीता मरहठ्ठा विजयी भएकी छिन् ।

अमेरिका क्षेत्रीय संयोजकमा अमेरिकाका गौरीराज जोशी विजयी भएका छन् । अमेरिका क्षेत्रीय उपसंयोजकमा अमेरिकाकै नवीन शेरचन विजयी भएका छन् । यसैगरी, क्षेत्रीय महिला उपसंयोजकमा अमेरिकाकी संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन् ।

ओशिनिया क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका धर्मराज अधिकारी विजयी भएका छन् । ओशिनिया क्षेत्रीय महिला उपसंयोजक प्रिती शर्मा विजयी भएकी छिन् ।

मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारका आरके शर्मा विजयी भएका छन् । मध्यपूर्व उपक्षेत्रीय उपसंयोजकमा गोपाल कँडेल र प्रवीण गुरुङ विजयी भएका छन् । क्षेत्रीय उपसंयोजक युवा राजकुमार बस्नेत विजयी भएका छन् ।

एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा विजयी भएका छन् । एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर विजयी भएका छन् । यसैगरी, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ विजयी भएकी छिन् ।

अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की निर्वाचित भएका छन् । उपसंयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन् ।

को हुन् भवन ?

अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका हुनुहुन्छ । भट्टले अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालन गरिरहनुभएको छ । रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उहाँ जापान जानुभएको थियो । ती होटल तथा रेस्टुराँबाट वार्षिक रु ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको छ । यस्तै उहाले नेपालमा पनि टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु दुई अर्ब लगानी गर्नुभएको छ भने हालै नेपाल एयरलायन्सको विमान खरिद गरेर बीबी एयरवेजमार्फत काठमाडौं दिल्ली उडान भर्ने तयारी भइरहेको छ ।

‘कारोबार’ दैनिक, युनाइटेड बु्रअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उहाको लगानी छ । सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै यो संस्थामा सक्रिय भट्ट २००३–०४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा काम गर्नुभयो । एनआरएन जापानको अध्यक्ष, एनआरएनको आईसीसीको कोषाध्यक्ष र उपाध्यक्षको दोस्रो कार्यकालपछि भट्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com