एनआरएन मध्यपूर्व क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने आरके शर्माको घोषणा, १६ प्रतिबद्धता


प्रकाशित मिति : आश्विन ५, २०७४ बिहीबार

चर्चित युवा एनआरएन अभियन्ता तथा कतारका सफल व्यवसायी आरके शर्माले एनआरएन आईसीसीका तर्फबाट मध्यपूर्व क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कतारको दोहामा रहेको शालिमार रेष्टुरेण्टमा आयोजित कार्यक्रममा शर्माले अक्टोबरको दोश्रो साता काठमाडौंमा हुने विश्व सम्मेलनमा एनआरएन आईसीसीका तर्फबाट मध्यपूर्व क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएन आईसीसीका सल्लाहकार टीबी कार्की, नेपालका चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, एनआरएन आईसीसीका संस्थापक उपाध्यक्ष एवं संरक्षक डाक्टर देवकाजी डंगोल, एनआरएन कतारका पूर्व अध्यक्ष कमलमणी गुरागाई, एनआरएन आईसीसीका पूर्व उपाध्यक्ष सागर नेपाल, एनआरएन आईसीसी सदस्य विमल सुवेदी, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चाणक पोखरेलले सफलताको शुभकामना दिए ।

त्यस्तै एनआरएन कतारका वर्तमान अध्यक्ष नविन पोखरेल, तमलोपाको कतारमा रहेको संस्थाका अध्यक्ष हुसेन खान, नेपाली महिला समाज कतारकी अध्यक्ष सुस्मिता भुसाल, एनआरएन आईसीसी सदस्य विनोद भट्टराई, जनसम्पर्क समिति कतारका महामन्त्री अजित अली, जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष रकमध्वज राई लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले विजयको शुभकामना दिए । कार्यक्रमको संचालन एनआरएन कतारका वर्तमान कार्यसमिति सदस्य विजय अधिकारीले गरेका थिए ।


यस्तो छ आरके शर्माको प्रतिबद्धतापत्र

विश्वभर छरिएर रहेका नेपालीहरुको आशा र भरोसाको केन्द्र गैरआवासीय नेपाली संघको विश्व सम्मेलन काठमाडौंमा हुदै गरेको सर्वविदितै छ । विगत लामो समयदेखि एनआरएन अभियानमा सहभागी हुदै आएको एनआरएन कार्यकर्ताको हैसियतमा मैले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व चयन गर्ने उक्त सम्मेलनमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, मध्यपूर्व क्षेत्रीय संयोजक पदमा आगामी कार्यकाल २०१७—२०१९ को लागि उम्मेदवारी दिने निर्णय गरेको छु ।

विगतदेखि एनआरएन संस्थामा प्रत्यक्ष रुपमा संलग्नता जनाएर खाडी राष्ट्र, यूरोप संघीय मुलुक, एसिया प्रशान्त तथा नेपाल लगायत विश्वभर हुने गरिएका गैरआवासीय नेपाली संघको विभिन्न गतिविधीहरुमा प्रत्यक्ष रुपमा सरिक भई आफ्नो स्वविवेकले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्दै गैरआवासीय नेपाली संघको नेपालीका लागि नेपाली भन्ने मूलमन्त्रलाई व्यवहारमा सावित गर्न व्यक्तिगत रुपमा भूमिका खेल्दै आएको सन्दर्भमा कतार लगायत खाडी मुलुक तथा विश्वभर छरिएर रहनुभएका सम्पुर्ण गैर आवासीय नेपालीजनले विगतदेखि दिनुभएको माया र सद्भावका कारण मलाई एनआरएन अभियानमा सकृयताका साथ अगाडि बढ्न थप उर्जा मिलेको छ ।

१) मध्यपूर्वका एनआरएनए एनसीसीहरु र एनआरएन आईसीसीबीच सुमधुर र थप अर्थपूर्ण सम्बन्ध स्थापित गर्दै मध्यपूर्वका एजेण्डाहरुलाई आईसीसीका एजेण्डा बनाउने दिशामा काम गर्न आईसीसी र एनसीसीहरुबीच पुलको रुपमा समन्वयकारी एवं सहयोगी भूमिका खेल्नका लागि पूर्ण प्रतिबद्ध रहनेछु । एनआरएनए आईसीसीको विधानले तोकेका सबै काम सही ढंगले गर्न प्रतिबद्ध रहनेछु ।

२) मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद्हरुलाई विधिवत रुपमा सम्वन्धित राष्ट्रमा दर्ता गराउन परराष्ट्र मन्त्रालयसंग समन्वय गरी आवश्यक सिफारिस प्रदान गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई आग्रह गर्ने तथा सम्वन्धित राष्ट्रका कानून व्यवशायीहरुको परामर्श लिई दर्ता प्रकृया अगाडी वढाउनको लागि पहल गरिने छ ।

३) युरोप, अमेरिका र ओसियाना क्षेत्रको तुलनामा मध्यपूर्वका एजेण्डा र समस्याहरु फरक छन् । खासगरी युरोप, अमेरिका र ओसियाना क्षेत्रका नेपालीहरुलाई प्रतिनिधित्व गर्ने दोहोरो नागरिकताको विषय एकहदसम्म संविधानमा समेटिइसकेको छ । त्यसले नागरिकता ऐनमार्फत थप मूर्तरुप पाउनमात्र बाँकी छ । यो सन्दर्भमा एनआरएन आईसीसीको ध्यान नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने क्षेत्र मध्यपूर्वमा केन्द्रीत हुन जरुरी छ । मध्यपूर्वका नेपाली श्रमिकका सम्पूर्ण समस्या र एजेण्डालाई ठोसरुपमा लिपिबद्ध गरी एनआरएनए आईसीसीलाई त्यसबारे नीति निर्माणका लागि अगाडि बढ्न सहयोग गर्नेछु । वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित वनाउनका लागि सम्वन्धित निकायसँग सहकार्य गर्ने तथा नितिगत सुधार गर्नका लागि आईसिसि मार्फत पहल गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।

४) मध्यपूर्व नेपालको सबैभन्दा ठूलो श्रमबजार हो । वैदेशिक रोजगारीका नाममा नेपालबाट ठूलो श्रम मध्यपूर्वमा बाहिरिने गरेको छ । उपयुक्त सिप र दक्षताको अभावमा मध्यपूर्वमा काम गर्ने नेपालीहरुले सस्तोमा आफ्नो श्रम बेच्न बाध्य छन् । उनीहरुको सिप अभिबृद्धि गरी सिप अनुशारको उचित पारिश्रमिक दिलाउने दिशामा एनसीसीहरुसँग समन्वय गरेर कार्यक्रमहरु अगाडि बढाउन पहल गर्नेछु । एनआरएनको प्रयासबाट नीतिगत रुपमा पारित भएका तर व्यवहारिक रुपमा कार्यान्वयन नभएका श्रमिकमैत्री नीतिहरु व्ष्लहरत कार्यान्यावनका लागि अहोरात्र लाग्नेछु । यसका लागि मध्यपूर्वमा रहेका नेपाली दूतावासहरु तथा सम्बन्धित सरकारी निकायहरुसँग छलफल गरी उनीहरुमार्फत उचित कार्यक्रम ल्याउनका लागि पहल गर्नेछु । साथै मध्यपूर्वमा भित्रिने श्रमलाई नेपालमा नै उपयोग गर्न सकिने वातावरणका लागि आईसीसीसँग समन्वय गरेर उचित नीति निर्माणका लागि पहल गर्नेछु ।

५) स्वास्थ्य र सुरक्षासम्बन्धि जनचेतनाको अभावमा वैदेशिक रोजगारमा कतार लगायत खाडी राष्ट्रमा कार्यरत कैयन नेपाली श्रमिकहरुले अकालमा ज्यान गुमाउनुपरेको छ । सम्पुर्ण गैरआवासीय नेपाली श्रमिकजनहरुमा स्वास्थ्य तथा सुरक्षा सचेतना प्रदान गर्न व्यवहारिक रुपमा नै आफुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । साथै मध्यपूर्वका नियम कानुन र श्रमबारेका अधिकार तथा कानुनको जनचेतनाको अभावमा धेरै नेपालीहरुले समस्या भोग्दै आएका छन् । यसबारे जनचेतनामुलक कार्यक्रमहरु गर्न एनसीसीहरु, नेपाली दूतावास र अन्य सम्बन्धित निकायहरुको सहभागितामा विशेष पहल गर्नेछु ।

६) मध्यपूर्वमा नेपालीहरुले आर्जन गरेको कमाई उत्पादनमुलक काममा लगाउन र सही सदुपयोगका लागि उचित कार्यक्रमहरु ल्याउन पहल गर्नेछु । बर्षौसम्म मध्यपूर्वमा काम गरेर पनि स्वदेश फर्कने बेलासम्म सबै रकम अनुत्पादकमुलक र विलासितामा खर्च भइसकेको हुने समस्या रहेकाले त्यसलाई उत्पादनमुलक काममा लगाउँदा नेपाल फर्किसकेपछि पनि त्यो लगानीले आय आर्जन गरिरहने खालका कार्यक्रम ल्याउनु मेरो प्राथमिकता हुनेछ ।

७) मध्यपूर्वका राष्ट्रहरुले विश्वका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको सर्वविदितै छ । यो सन्दर्भमा मध्यपूर्वका राष्ट्रबाट नेपालमा वैदेशिक लगानी भित्राउने उचित पहल गर्न नेपाल सरकारका सम्बन्धित निकाय तथा मध्यपूर्वका राष्ट्रका सम्बन्धित निकाय र व्यक्तिसँग समन्वय गर्दै सो क्षेत्रका विज्ञहरुको कार्यदल गठन गरी विशेष भूमिका खेल्नेछु ।

८) खाडी राष्ट्रमा रहेका नेपालीका सबै समस्याको उचित पहिचान गर्दै समस्या समाधानार्थ प्रत्यक्ष निगरानी राख्न आईसीसी र एनसीसीहरुसँग समन्वय गर्दै विशेष कार्यदल गठन गर्न भूमिका खेल्नेछु । मध्यपूर्वमा रहेका नेपालीहरुका समस्या समाधान र विभिन्न अवशरहरुको सदुपयोगका लागि यस क्षेत्रमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुसँग समन्वय गर्दै सहकार्यको वातावरण बनाउन पहल गर्नेछु ।

९) २ बर्षसम्म विदेशमा रहेका नेपालीहरुलाईमात्र एनआरएनको मान्यता प्रदान गरिदा मध्यपूर्वमा रहेका अधिकांश नेपालीहरु नसमेटिने भएकाले अन्तर्राष्ट्रिय मान्यता अनुशार १८३ दिनभन्दा लामो समय विदेशमा रहेका नेपालीहरुलाई एनआरएनको मान्यता दिलाउन आईसीसीमार्फत सम्बन्धित निकायहरुसँग पहल गर्नेछु ।

१०) मध्यपूर्वका एनआरएन एनसीसीहरुमा प्राय एकैखालका समस्याहरु र त्यसको समाधानका लागि पनि उस्तै खालका उपायहरु अबलम्बन आवश्यक भएकाले एनसीसीहरु र त्यसका पदाधिकारीहरुलाई थप सकृय बनाउन सबैलाई जिम्मेबारी प्रदान गर्ने कार्यक्रमहरु ल्याउन एनसीसीहरुसँग सामुहिक छलफल र बैठक गर्नेछु । कार्यसम्पादनको मूल्यांकन गर्दै प्रोत्साहन गर्ने कार्यक्रमहरु अगाडि बढाउन भूमिका खेल्नेछु ।

११) लेबनान, जोर्डन तथा इराकमा नेपाली दूतावासहरु नभएको हुनाले ती क्षेत्र हेर्ने दूतावासहरुलाई मासिक रुपमा ती क्षेत्रमा पुगेर नेपालीका समस्याहरु समाधान गर्न तथा सेवा पुर्याउन कार्यक्रम ल्याउन सम्बन्धित निकायसँग पहल गर्नेछु ।

१२) मध्यपूर्वका पर्यटकहरुलाई नेपाल भित्राउन तथा मध्यपूर्वबाट अन्य देशमा घुम्न जाने नेपालीहरुलाई नेपाल घुम्न जानका लागि प्रोत्साहन गर्न पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली विज्ञहरुलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएन अभियान अन्तर्गत नै सूचारु गर्न विशेष जोड दिएर लाग्नेछु ।

१३) मध्यपूर्वमा रहेका एनसीसीहरुमार्फत एनआरएन कार्डको व्यवस्था गरी सदस्यहरुलाई कार्डमार्फत एयरलाइन्स, होटल, रेष्टुरेण्ट, ग्रोसरी स्टोर, अस्पताल लगायतका विभिन्न क्षेत्रमा डिस्काउन्ट र सुविधा प्राप्त गर्ने व्यवस्थाका लागि पहल गर्नेछु । यो प्रावधानले स्वतस्फूर्त एनआरएनएको सदस्यता लिनेहरुको संख्या बढ्ने तथा सदस्यहरुले प्रत्यक्ष रुपमा तुरुन्तै फाइदा लिनसक्ने वातावरण बन्नेछ ।

१४) मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुले कुनै समस्या पर्दा वा आपतकालिन अवस्था आउँदा त्यसबारे सिधा जानकारी दिनसक्ने व्यवस्था गर्न एनसीसीहरुमार्फत हटलाइन टेलिफोन सेवा उपलब्ध गराउन पहल गर्नेछु ।

१५) नेपाली संस्कृति र पर्यटन प्रबद्र्धनका लागि नेपाल हाउस स्थापना गर्न, यसक्षेत्रमा रहेका नेपालीका परिवारलाई दृष्टिगत गरी नेपाली स्कुलहरु स्थापना गर्न र नेपाल हाउसमार्फत नेपाली उत्पादनको प्रवद्र्धनको लागि भूमिका खेल्नेछु ।

१६) मध्यपूर्वका नेपालीे व्यवसायको प्रवद्र्धन तथा व्यवसायीका समस्या समाधानका लागि नेपाली राजदुतावासहरुसँग समन्वय गरी व्यावसायीहरुलाई एकिकृत गर्न र गराउनको लागि पहल गर्नेछु ।

माथि उल्लेखित बुंदाहरु मेरा प्राथमिकतामा परेपनि तत्कालिन अवस्थामा आइपर्ने सबै काममा मेरो सकृय भूमिका रहनेछ । एनआरएनएको र मध्यपूर्वमा रहेका नेपालीहरुको हितमा काम गर्न एनआरएनए आईसीसीका तर्फबाट मध्यपूर्व क्षेत्रीय संयोजकको भूमिका पूरा गर्ने अवशर प्रदान गनुहुनेछ भन्ने मैले अपेक्षा गर्दछु ।

तस्विर : एमपी पोखरेल

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com