अमेरिकामा नयाँ आधारमा वर्क परमिट अस्वीकृत, नेपाली प्रभावित


प्रकाशित मिति : फाल्गुन २१, २०७३ शनिबार

अमेरिकी सरकारको युएससीआईएसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा नयाँ आधारमा वर्क परमिट अस्वीकार गर्न थालेको छ । ‘पीडी’ अर्थात् ‘मुद्दामाथि विवेक’का आधारमा ओबामा कार्यकालमा अध्यागमन अदालतमा प्रशासनिक हिसाबले बन्द गरिएका मुद्दाका आधारमा वर्क परमिट प्रदान गरिने भएपनि अब भने पीडीका आधारमा वर्क परमिट अस्वीकार गर्न थालिएको छ ।

कुनै मुद्दामा पीडी प्रदान गरिएपछि त्यो मुद्दालाई अदालतको क्यालेण्डरबाट निकालेर पेन्डिङ स्टेटसमा राखिन्थ्यो भने व्यक्तिले अमेरिकामा बसेर लामोसमयसम्म वर्क परमिट प्राप्त गरेर काम गर्न पाउँथ्यो । मुद्दा हारेर देशनिकाला हुनुपर्ने डरका कारण कमजोर प्रकारका मुद्दामा आवेदकले पीडी लिने गर्थे र त्यो आधारमा प्राप्त वर्क परमिटबाट अमेरिकामा बसेर निर्धक्क काम गर्दै आएका थिए ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको प्राथमकितामा नरहेका व्यक्तिले ओबामा कार्यकालमा पीडी प्राप्त गर्दै आएका थिए । सन् २०१३ यता यसरी पीडी लिएर काम गर्दै आएकाहरुको संख्या झण्डै ६७ हजार रहेको छ ।

कसैको एसाइलमको मुद्दा न्यायाधिसले पीडीका आधारमा प्रशासनिक हिसाबले बन्द गर्दा आवेदकले पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्राप्त गर्दै आएका छन् । जसमा नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

तर पीडीका आधारमा युएससीआईएसले वर्क परमिट प्रदान गर्न वा रिन्यु गर्न अस्वीकार गर्न थालेको छ । अस्वीकार गरिएका आवेदनमा भनिएको छ -‘आवेदक जसको एसाइलम आवेदन १५० दिनभित्र एसाइलम अफिसर वा अध्यागमन न्यायाधिसले अस्वीकार वा बन्द गरेको छ , उनीहरु वर्क परमिटका लागि आवेदन दिन योग्य हुनेछैनन् ।’

यसअगाडि युएससीआईएसको प्रावधानमा ‘वा बन्द’ भन्ने शब्द दिएन । तर अब भने ‘वा बन्द’ भन्ने शब्द थप्न थालिएको छ । जसका कारण पीडी लिएर काम गरिरहेका कैयन नेपालीहरु वर्क परमिट रिन्यु नहुने जोखिममा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com