अष्ट्रेलियामा फास्टफुडमा विदेशी कामदार प्रतिबन्ध, अष्ट्रेलियनलाई प्राथमिकता


प्रकाशित मिति : फाल्गुन १९, २०७३ बिहीबार

अष्ट्रेलियामा म्याक्डोनल्ड, एएफसी र हंग्री ज्याकमा विदेशी कामदारलाई काम गर्नमा प्रतिबन्ध लगाइएको छ । अब उनीहरुले कामका लागि अष्ट्रेलियन टिनएजरहरुलाई कामको पहिलो प्राथमिकता दिनेछन् ।

अष्टे्रलियाका अध्यागमनमन्त्री पिटर डुटोनले अबदेखि जवान अष्ट्रेलियनहरुले फास्ट फुडमा काम गर्न विदेशी कामदारसँग प्रतिस्पर्धा गर्नु नपर्ने बताएका छन् । उनले सयौं विदेशी कामदारलाई फास्टफुडमा काम गर्न अनुमति दिने फास्ट फुड उद्योगको श्रम सम्झौताको पनि अन्त्य गरेका छन् ।

विगतको सम्झौताले सयौं विदेशीहरुलाई अष्ट्रेलियामा म्याकडोनल्ड, केएफसी र हंग्री ज्याकमा काम गर्ने अस्थायी कामदार भिसा प्रदान गरेको थियो । पुरानो सम्झौता भंग गरेर सरकारले पहिलोपटक फास्टफुडको सम्पूर्ण क्षेत्रमा विदेशी कामदार स्पोन्सर गर्नमा प्रतिबन्ध लगाएको छ ।

अष्ट्रलियन कामदारहरु र त्यसमा पनि युवा अष्ट्रेलियनहरुलाई प्राथमिकता दिनका लागि यो नीति ल्याइएको अध्यागमन मन्त्रीले बिहिबार बताए । अस्थायी कामदार भिसामा म्याकडोनल्डले २८५ जना, हंग्री ज्याकले ७४ र केएफसीले ८८ जना विदेशी कामदार ल्याएको थियो । अरु ३२ जना अरु फास्टफुडले विदेशबाट ल्याएका थिए ।

रोजगारदाताले उनीहरु अष्ट्रेलियामा नै रहन किन जरुरी छ भन्ने एकएक गरी प्रमाणित गर्न नसके सम्झौता भंग भएपछि अष्ट्रेलियामा रहेका ती विदेशी कामदारहरुलाई अष्ट्रेलिया छाड्न बाध्य पारिनेछ । सम्पूर्ण क्षेत्रलाई अस्थायी कामदार भिसामा प्रतिबन्ध लगाइएको यो पहिलो पटक हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com