मेक्सिकोहुँदै अमेरिका छिर्नेलाई मेक्सिकोले फिर्ता नलिने


प्रकाशित मिति : फाल्गुन १४, २०७३ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको कार्यान्वयनका लागि जारी निर्देशिकामा मेक्सिकोहुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्नेलाई मेक्सिको नै फिर्ता पठाइने भनिएपछि मेक्सिकोले त्यस्तो प्रतिवाद गरेको छ । मेक्सिकोले अमेरिकी सिमामा अमेरिकी पक्षले समातेर फिर्ता पठाउने गैरमेक्सिकनहरुलाई आफ्नो देशमा फिर्ता नलिने स्पष्ट पारेको छ ।

निर्देशिकामा मेक्सिको हुँदै अमेरिका छिरेका गैर मेक्सिकनहरु प्नि अमेरिकाभित्र पक्राउ परेमा उनीहरुलाई मेक्सिको नै फिर्ता पठाउने उल्लेख छ । तर मेक्सिकोले गैर मेक्सिकनहरुलाई फिर्ता नलिने बताएपछि निर्देशिका थप विवादमा परेको छ ।

मेक्सिकन विदेशमन्त्री लुइस भिडेगेरेले अमेरिकी सरकारले मेक्सिकोमाथि आफ्नो नीति लाद्न नसक्नेभएकाले आफूहरुले त्यसको कार्यान्वयन नगर्ने बरु राष्ट्रसंघ समक्ष जाने बताएका छन् । ग्वाटेमाला, होण्डुरस वा अन्य कुनै देशका व्यक्ति मेक्सिकोहुँदै अमेरिका छिरे भन्दैमा आफूहरुले उनीहरुलाई फिर्ता नलिने उनले बताएका छन् ।

मेक्सिकोले अमेरिकाबाट मेक्सिकनहरुलाई समेत मास डिपोर्टेशनका रुपमा फिर्ता नलिने संकेत दिएपछि ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले अमेरिकाले उनीहरुका व्यक्ति फिर्ता लिन ती देशहरुलाई बाध्य पार्नसक्ने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com