अमेरिकामा देशनिकालाको नियममा कडाई र विस्तार


प्रकाशित मिति : फाल्गुन ११, २०७३ बुधबार

अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका आप्रवासीलाई उनीहरुकै देशमा फर्काउन नियमहरु कडा बनाइएको छ भने १० हजार अधिकारीहरु नियुक्त गर्ने प्रकृया सुरु गरिएको छ । नयाँ योजना अनुसार सीमामा गस्ती गर्न थप ५ हजार जना कस्टम एण्ड बोर्डर प्रोटेक्सन अधिकारीहरु नियुक्ति गरिनेछ ।

राष्ट्रपति ट्रम्पको प्रशासनले अमेरिकाबाट उनीहरुकै देश फर्काइनुपर्ने आप्रवासीहरुको दायरा विस्तार गर्ने समेत निर्णय गरेको छ । नयाँ अवधारणा अन्तर्गत अमेरिकामा रहेका १ करोड १० लाख मध्ये अधिकांश गैरकानूनी ढंगले बसिरहेका आप्रवासी गिरफ्तारीमा पर्न सक्नेछन् ।

राष्ट्रपति ट्रम्पको प्रशासनले गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देश निकाला गर्ने नियममा कडाइ र विस्तार गर्दै त्यसको द्रुत कार्यान्वयन गर्ने बताएको छ ।

नयाँ निर्देशिकाले आप्रवासीहरु सम्बन्धी कानूनमा फेरबदल गरेको छैन तर अहिले भएका व्यवस्था कडाइपूर्वक लागू गर्ने लक्ष्य लिएको छ ।

पछिल्लो नियम अनुसार ट्राफिक नियमको उल्लंघन गर्ने वा सामान्य चोरीमा संलग्न कागजपत्रविहिनहरु पनि देशनिकालामा पर्न सक्नेछन् ।

नयाँ नियमले बालबालिकाको रुपमा अमेरिका प्रवेश गरेकाहरुलाई संरक्षण गर्ने ओबामा प्रशासनको डाका नीतिमा परिवर्तन गरेको छैन । तर देशनिकाला गर्नुपर्ने आप्रवासीको दायरा विस्तार गर्दै सार्वजनिक सुरक्षा वा सरकारी लाभ लिएका र भर्खरै अमेरिका प्रवेश गरेका गैरकानूनी आप्रवासीलाई उनीहरुकै देश फर्काउन सकिने उल्लेख गरिएको छ ।

डिपार्टमेन्ट अफ होमलेण्ड सेक्युरिटीका आन्तरिक पत्राचारहरुका अनुसार ट्रम्प प्रशासनले कागजपत्रविहीन लगभग जहाँ सुकै रहेका सबैजसो आप्रवासीहरुलाई उनीहरुकै देश फर्काउने नीति लिएको छ ।

राष्ट्रपति ओबामाको कार्यकालमा दुई हप्ता भन्दा कम समय अमेरिकामा रहेका र सीमाबाट १०० माइलको दुरीमा रहेकाहरुलाई तत्कालै स्वदेश फर्काउन सकिने नीति रहेको थियो ।

तर अहिले अमेरिकामा बसिरहेको दुई वर्षभन्दा बढी प्रमाणित गर्ने कागजपत्र नभएका जोसुकैलाई द्रुत रुपमा उनीहरुकै देशमा पठाउन सकिने व्यवस्था गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com