अमेरिकी सरकारको नयाँ मेमो, एसाइलम गर्नेलाई अप्ठ्यारो


प्रकाशित मिति : फाल्गुन १०, २०७३ मंगलबार

मेक्सिको हुँदै अमेरिकामा आएको दुईबर्ष नभएको व्यक्तिलाई अमेरिकामा पूरै समय बसेर एसाइलमको सुनुवाई कुर्ने अनुमति नदिई मेक्सिकोतिरै पठाइने भएको छ ।  उनीहरुले मेक्सिकोमा नै बसेर अमेरिकामा एसाइलमको मुद्दा लड्नुपर्नेछ । जसबाट सयौं नेपालीहरु सहित हजारौं मेक्सिकोबाहेकका देशका नागरिकहरु प्रभावित हुनेछन् ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जोन केलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिमा सुरक्षा सम्बन्धि कार्यकारी आदेश कार्यान्वयनका लागि अत्यन्तै आक्रमकखालको नयाँ मेमो जारी गरेका छन् । फरबरी २० को मितिमा हस्ताक्षर गरी मंगलबार जारी यो नयाँ मेमोमार्फत युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन, युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट, युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज, एक्टीङ जनलर काउन्सिल, एक्टीङ एसिस्टेन्ट सेक्रेटरी फर इन्टरनेशननल अफेयर्स र एक्टीङ अण्डरसेक्रेटरी फर मेनेजमेन्टलाई केही कडा निर्देशनहरु दिइएको छ । सेक्रेटरी केलीले आफू माताहतका निकायहरुलाई निर्देशन सहितको मेमो जारी गरेपछि अब अमेरिकामा एसाइलम गर्नेहरुलाई अप्ठ्यारो हुने भएको छ ।

यसअगाडि एसाइलम खोज्नेलाई अमेरिकामा बस्न दिएर एसाइलमका लागि योग्य भए नभएकोबारे अन्तिम रुलिङ कुर्नसक्ने प्रावधानलाई नयाँ निर्देशनले लगभग अन्त्य गरिदिएको छ । नयाँ निर्देशनपछि अब एसाइलम खोज्ने व्यक्तिलाई अमेरिकाबाट देशनिकाला गर्न लागि तीब्र गतिको प्रकृया अपनाइने भएको छ । एसाइलम खोज्ने व्यक्तिको कारण विश्वसनीय भए नभएको जाँच्ने मापदण्डमा स्पष्ट परिवर्तन नगरिएपनि नयाँ निर्देशनपछि एसाइलम अफिसरले कुनै व्यक्तिको एसाइलमको कारण जायज भएनभएको बुझ्न थप विवेकको प्रयोग गर्नुका साथै एसाइलम दावी गर्ने व्यक्तिलाई उसको देशमा फर्कन डर भए नभएकोबारे बुझ्न आफ्नो ज्ञानको प्रयोग गर्नेछन् ।

मेमोमा स्पष्ट रुपमा भनिएको छ – ‘केही निश्चित अपवादबाहेक अमेरिकामा रहेको व्यक्ति वा कुनै तरिकाबाट अमेरिका छिरेको व्यक्तिले अमेरिकामा एसाइलम आवेदन गर्न सक्छ । तीब्र गतिमा देशनिकाला गरिनेवाला व्यक्तिले आफ्नो देशमा फर्कन डर रहेको बताएमा उसको डर विश्वसनीय भए नभएको बारे निर्धारण गर्न एसाइलम अफिसर समक्ष पेश गरिनेछ । डर भएको विश्वसनीय आधारका लागि व्यक्तिले एसाइलमका लागि योग्य भएको आधार तयार हुनेगरी विवरण दिनसक्नुपर्नेछ । एसाइलम अफिसरले अन्तरवार्ता लिइसकेपछि व्यक्तिलाई उसको देशमा फर्किन डर भएको कुरा एसाइलम अफिसरले निर्धारण गर्न सक्नेछ । साथै अफिसरले कसैले नक्कली दावी गरेको थाहा पाएमा नक्कली एसाइलम रोक्न फ्रड डिटेक्सन एण्ड नेशनल सेक्युरिटीलाई काम लगाउन सक्छन् । युएससीआईएसका निर्देशक, सीबीपी कमिश्नर, आइस डाइरेक्टरले नक्कली एसाइलम रोक्न भएका कामको परिक्षण गरेर ९० दिनभित्र सेक्रेटरी समक्ष रिपोर्ट प्रस्तुत गर्नुपर्नेछ ।’

यसरी नयाँ निर्देशन अनुरुप एसाइलम गरेको कुनै व्यक्तिको डर विश्वसनीय नभएको खण्डमा उसलाई थप अवशर नदिइकनै डिपोर्टको प्रकृयामा लैजान सकिने भएको छ । त्यस्तै मेक्सिको हुँदै अमेरिकामा आएको दुईबर्ष नभएको व्यक्तिलाई अमेरिकामा पूरै समय बसेर एसाइलमको सुनुवाई कुर्ने अनुमति नदिई मेक्सिकोतिरै पठाइने भएको छ । यसो हुँदा मेक्सिकोबाहेक अन्य देशका नागरिकहरुपनि मेक्सिको हुँदै अमेरिका छिरेको भएमा मेक्सिको पठाउन सकिनेछ । उनीहरुले मेक्सिकोमा नै बसेर अमेरिकामा एसाइलमको मुद्दा लड्नुपर्नेछ । जसबाट सयौं नेपालीहरु सहित हजारौं मेक्सिकोबाहेकका देशका नागरिकहरु प्रभावित हुनेछन् । यसअगाडि सिमाक्षेत्रको १ सय माइलमा समातिएका र अमेरिकय छिरेको दुईसाता भएकाहरुलाईमात्र यस्तो खालको तीब्र गतिको डिपोर्टेशनमा राखिदै आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com